कभर स्टोरी

भिडियो

नेपाल चुस्न सजिलो हुने भएकोले भारतले सीमा खुला राखेको हो (भिडियाेसहित)

मङ्गलबार, १६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाल चुस्न सजिलो हुने भएकोले भारतले सीमा खुला राखेको हो (भिडियाेसहित)

काठमाडौं । ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपालले नयाँ मुलुकी ऐनमा रहेको केही व्यवस्थाले नेपाली जनताले भारतले भूमि मिचेको कुरा पनि भन्न नपाउने स्थिति सिर्जना भएको बताएका छन् । नेपालआजसँको कुराकानीका क्रममा ‘नेपाली भूमि प्रयोग गरेर भारतविरोधी क्रियाकलाप गर्न नपाईने’ भन्ने उल्लेख भएको र त्यो व्यवस्थाले अब नेपालमा बसेर भारतले भूमि मिच्यो भन्न पनि नपाइने, सुगौली सन्धिमा ब्रिटिसले लगेको जमिन दे भन्न पनि नपाइने स्थिति आएको उनले बताए । 

 

भदौ १४ मा भारतीय प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने आशंकामा प्रहरीले नेपाललाई पक्राउ गरेको थियो । पक्राउपछि राष्ट्रिय अखण्डताविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई राज्यले थुनेर राख्यो । संयोजक नेपालको मतमा नेपाललाई सधै दुःख मात्रै दिइरहने भारतले भूमिदेखि रोजगारीसमेत नेपालबाट खोसेको दावी गरेका छन् । 

 

नेपालको भूमि उपनिवेशवादी शक्ति ब्रिटिसहरुले कब्जामा लिएका थिए । त्यो शक्ति दक्षिण एसिया छाडेर गइसकेको छ । तर अझै पनि उपनिवेशवादी शक्तिले कब्जा गरेको नेपालको ६० हजार जमिन भारतले कब्जा गरेर खाइरहेको संयोजक नेपालले बताए । उनले त्यो जमिन नेपालले फिर्ता पाउनेबित्तिकै नेपालको सीमाले बंगलादेशदेखि भुटानसम्म छुने र नेपाल एसियाको शक्तिशाली राष्ट्र बन्ने उनको भनाइ छ । 

 

तर नेपालमा भारतले सधै आफ्ना एजेन्ट पाल्ने र नेपाली एजेन्ट प्रयोग गरेर नेपालीलाई दुःख दिने गरेको संयोजक नेपालको दावी छ । 

 

नेपालबाट चुस्न र ज्यादती गर्न पाइने भएर मात्रै भारतले खुला सीमा राखेको उनले बताए । खुला सीमा नेपालीका लागि वा रोटीबेटीको सम्बन्धका कारण वा नेपाल–भारत सम्बन्धका कारण नभएर भारतको स्वार्थका कारण कायम रहेको उनले बताए । उनले भने, ‘खुला सीमाले भारतलाई नोक्सान हुन लागेकोको भारतलाई लाग्यो मात्रै भने उसले तुरुन्तै सीमा बन्द गर्छ । यो खुला सीमा भारतले आफ्नो स्वार्थका लागि कायम राखेको हो ।’

संयोजक नेपालले तराई टुक्रा पार्ने कुतत्व शानसँग हिँड्ने  अनि आफू ग्रेटर नेपालको पक्षमा लाग्दा राष्ट्रिय अखण्डताको विपक्षमा काम गरेको भन्ने आरोप लागेको बताए । उनले भने, ‘जुन तत्वले नेपालआमालाई वेश्या भनेको छ, देश टुक्रा पार्छु भनेको छ, त्यसरी बोलेको भिडियो, दस्तावेजहरु नै तयार छन् तर पनि नेपालको अदालतले प्रमाण छैन भनेर छाडिदिन्छ ।’

 

तराईमा दुई खाले वासिन्दा रहेको नेपाल बताउछन् । ती दुई खालेमध्ये एक प्रकारका नेपालकै आदिवासी भूमिपुत्रहरु छन् । अर्का खाले मानिसहरु भारतीय आप्रवासीहरु छन् । भारतीय आप्रवासीहरुले तराई  टुक्रा पार्न खोजिरहेका छन् – नेपाल भन्छन् ।
 

तराईमा बस्ने भारतीय आप्रवासीहरुलाई नागरिकता दिएको पुरस्कार नै अहिले मुलुकले पाइरहेको नेपालले बताए । नेपाली नागरिकता पाएकाहरु आधा भन्दा बढी भारतमै बस्छन् । जब भारतलाई ती नागरिकताधारी नेपाली उसलाई आवश्यक पर्छ, तब उसले नेपालमा पठाएर रडाको मच्चाउछ । जनमत संग्रह गराउनु पर्यो भने तराई भारतको अंग होे भन्ने जनमत सिर्जना गर्ने काम उसले गर्छ । 

 

नेपालका अनुसार सिक्कीमलाई बुलेटबाट हडेपछि इन्दिरा गान्धीले नेपालचाहिँ ब्यालेटबाट निल्ने योजना बनाएकी थिइन् । त्यही योजनामुताविक भारतीयलाई नागरिकता बाँडिएको संयोजक नेपालले बताए । 

 

संयोजक नेपालले भारतलाई नेपालीहरुले मित्रराष्ट्रका रुपमा लिन नहुने तर्क गर्छन् । नेपालको कहिले पनि हित नचिताउने राष्ट्र मित्र नहुने उनको भनाइ छ । उनी नेपालका लागि भारत एक छिमेकी मात्रै भएको दावी गर्छन् । 

 

नेपालमा राजनीतिक अस्थिरताको माध्यमबाट नेपाललाई सधै गरिब राख्ने भारतीय योजना रहेको उनी दावी गर्छन् । नेपाल गरिब भइरहयो भने मात्रै नेपाल चुस्न भारतलाई पनि सजिलो हुन्छ । नेपाली जवान विवस भएर भारतीय सेनामा जान्छन भन्ने भारतको एक प्रकारको घोषित नीति रहेको उनी दावी गर्छन् ।