खेल

मुख्य समाचार

एसिया कप क्रिकेटः तेस्रो खेलमा नेपालले यूएइलाई ३ विकेटले हरायो

मङ्गलबार, १६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

एसिया कप क्रिकेटः तेस्रो खेलमा नेपालले यूएइलाई ३ विकेटले हरायो

काठमाडौं । बंगलादेशमा भइरहेको यू-१९ एसिया कप क्रिकेटमा नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा यूएईविरुद्ध ३ विकेटको सान्त्वना जित हासिल गरेको छ ।

 

 

साभरस्थित मैदानमा यूएईले दिएको २६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।यसअघिका खेलमा जस्तै आजको खेलमा पनि नेपालले सुरुवाति जोडीको प्रदर्शन राम्रो रहेन । 

 

 

ओपनरहरु तृपराज दासले ६ तथा रित गौतमले १८ रनमात्र बनाउन सके । त्यसपिछ कप्तान आसिफ शेख र सन्दीप जोराले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै इनिङ उकासे ।

 

 

 

व्यक्तिगत ३५ रनमा आसिफ आउट भएपछि आएका रोहितकुमार पौडेलले सन्दीप जोरासँग मिलेर ४९ रनको साझेदारी गरे । ३०औं ओभरको अन्तिम बलमा सन्दीप व्यक्तिगत ६७ रनको स्कोरमा आउट हुँदा नेपालले १५३ रन बनाएको थियो । 

 

 

 

त्यसपछि अरुण ऐरीले ४ र पवन सर्राफले ९ रनमात्र बनाउन सके । एउटा एण्डबाट विकेट गइरहे पनि रोहितले अर्को एण्डबाट पारी सम्हालेका थिए । खेलमा जित हासिल गर्न २ रन बाँकी रहँदा रनआउटको शिकार भएका रोहितले ८७ बलमा ९२ रनको शानदार पारी खेले । उनले ४ छक्का र ६ चौका प्रहार गरे ।

 

 

 

यसअघि साभरस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २६८ रनको योगफल बनायो । यूएईका लागि फाहद नावाज ८४ र अंश टण्डनले ६७ रन बनाएका थिए । यी दुईले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरी टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

 

 


यसअघिका दुवै खेलमा लगातार भारत र अफगानिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । नेपाल गत संस्करणको सेमिफाइनलिस्ट टोली हो ।