समाचार

कभर स्टोरी

स्वास्थ्य

समाज

भिडियो

‘सरकारले स्वास्थ्य उपचारमा बजेट विनियोजन गर्नु बालुवामा पानी खन्याएजस्तै’  (भिडियाेसहित)

सोमबार, १५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

‘सरकारले स्वास्थ्य उपचारमा बजेट विनियोजन गर्नु बालुवामा पानी खन्याएजस्तै’  (भिडियाेसहित)

काठमाडौं । सामान्यतः स्वस्थ भन्नासाथ कुनै पनि रोग नलागेको अवस्था या केही नभएको भन्ने बुझिन्छ । तर वास्तवमा यो मानिसहरूको साँघुरो बुझाइ भएको बताउँछन् जनस्वास्थ्ययविज्ञ तुल्सीराम भण्डारी । नेपाल आजसँगको कुराकानीमा उनले नेपाली जनताको स्वास्थ्य स्थिति, त्यसका कमजोरी र स्वास्थ्यय प्रवद्र्धनबारे कुराकानी गरेका छन् । उनीसँगको कुराकानीका सम्पादित अंश :

 

स्वास्थ्यको फराकिलो रूप बुझ्नका लागि जनस्वास्थ्यबारे बुझ्नुपर्छ । विशेषगरी जनस्वास्थ्यले चारवटा कुरालाई मुख्यरूपमा समावेश गर्छ । ती हुन्, मानिसको स्वास्थ्यको प्र्रवद्र्धन, स्वास्थ्य समस्याको रोकथाम, स्वास्थ्यको सुरक्षा र स्वास्थ्य समस्याको उपचार । यी चारवटा कुुरालाई सँगै लैजान सकियो भने मानिसको स्वास्थ्य सुध्रिएको मान्न सकिन्छ । 
के छ कमजोरी ? 


तर, हाम्रो समस्या नै बुझाइमा छ । मान्छे शिक्षित छन् तर स्वास्थ्यको दृृष्टिकोणले साक्षरता कम छ । रोग निको हुनुु नै स्वास्थ्य हुनुु होइन । हाम्रोजस्तो अविकसित मुलुकमा स्वस्थ रहन चाहिने कुराहरू अपुग छन् । कसरी स्वस्थ हुने भन्नेबारे उपयुक्त ज्ञान नै छैन । रोग लागिसकेपछिका मात्र कुरा गर्ने बानी छ । उपचार त अन्तिम उपाय हो । रोगबाट बच्ने त थुप्रै तरिका छन् । दुर्घटना हुन्छ भनेर अस्पताल खोल्ने होइन दुर्घटना कसरी रोक्ने भन्नेबारे ध्यान दिने हो । 

 

हाम्रो ध्यान नै उपचार कहाँ राम्रो पाइन्छ भन्नेबारे बढी केन्द्रित भयो । स्वस्थ रहन कहाँ जाने ? भन्नेबारे सोचेमात्र जनस्वास्थ्य सुध्रिन्छ । रोगी हुने दर घट्छ र स्वास्थ्य स्थितिमाथि जान्छ । विकसित मुलुकमा जनस्वास्थ्यमा ध्यान दिइएको छ । तर, हामी रोग लागेपछिमात्र उपचार गर्ने र देशको बजेट विनियोजन गर्दा ठूलो हिस्सा स्वास्थ्यमा लगानी भएको हुन्छ । यसमा मात्र ध्यान जान थाल्यो । मूल जरो पत्ता लगाएर काम गरेमात्र स्वास्थ्य अवस्था सुध्रिन्छ ।

 

सरकारले जनतामाझ स्वास्थ्य सेवाको पहुँच बढाउनकै लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्थाको परिचालन गरेको छ । केन्द्रीय स्तरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ, प्रान्तीय स्तरमा सामाजिक विकास मन्त्रालय, प्रत्येक जिल्लामा जिल्ला जनस्वास्थ्य स्वास्थ्य र गाउँपालिकामा स्वास्थ्य एकाइमार्फत स्वास्थ्य सेवा दिने काम भएको छ । तर पनि जनताले पाउने सेवाको गतिमा भने कमजोरी छ । यसमा जनताले उपचारको सेवामात्र होइन रोकथाम र स्वास्थ्य प्रवद्र्धनका सेवा पाएका छन् या छैनन् भन्नेबारे बुझेर सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । 

 

मूल समस्या नै स्वास्थ्य सेवाको कार्यान्वयनमा छ । २०४८ मा पहिलो स्वास्थ्य नीति आयो । प्रत्येक गाउँपालिकामा स्वास्थ्य एकाइ खोल्ने र स्वास्थ्य सेवा दिने । गाउँमा गएर प्रवद्र्र्धनात्मक, सुरक्षात्मक रोकथामको सुक्षा दिनुु भन्दा पनि त्यहीँ बस्ने र आएका मानिसलाई स्वास्थ्य उपचार गराउने गतिविधि बढ्यो । यहीँबाट समस्या सुरु भयो । यसको परिकल्पना ७५ प्रतिशत रोकथाम र प्रवद्र्धनात्मक काममा ध्यान दिने र २५ प्रतिशत उपचारमा केन्द्रित रहने थियो । तर शत प्रतिशत नै मानिसहरू उपचारमा केन्द्रित भए । खोप लगाउने, परिवार नियोजनका सामान वितरण गर्ने, पोषणसम्बन्धी कार्यक्रमबाहेक अरूमा ध्यान जान सकेन । गाउँमा गएर झाडा पखाला, रुघाखोकीबाट कसरी बने, वातावरण कसरी सफा राख्ने, यसरी क्षेत्रमा गएर काम गर्ने वातावरण नुहँदा स्वास्थ्य प्रवद्र्धन र रोकथाममा सुधार आएन । 

 

यसले गर्दा जति पनि स्वास्थ्य उपचारको लागि बजेट विनियोजन भयो, यो बालुवामा पानी खन्याएजस्तै भयो । जीवनशैलीले ल्याउने रोग बढ्न थाले । मानिसलाई कसरी बाँच्ने भन्नेबारे सिकाइएन, कसरी उपचार गर्नेबारेमा सिकाइयो ।  
के हुन् जीवनशैलीले निम्त्याउने रोग ? 

 

मुटुुको रोग, श्वासप्रस्वाससम्बन्धी रोग, रक्तचाप, हृदयाघात, क्षयरोग, क्यान्सर र सडक दुुर्घटना पनि जीवनशैलीले ल्याउने समस्या हो । यी समस्याहरूको उपचारमा मात्र केन्द्रित  हुने होइन । यसको सावधानीमा बढी ध्यान दिनुपर्छ । यसको जरो कहाँ हो भन्नेबारे अध्ययन गर्नुपर्छ । रोग लागेपछि त्यसको नतिजामा मात्र केन्द्रित हुने होइन । 

 

 

कसरी रोक्ने ? 

विशेषगरी पहिला पहिला नेपालमा जीवनशैलीले ल्याउने रोग भनेको धनी देशको रोग हो भन्ने मानसिकता थियो । तर अहिले हाम्रो समाजमा यी रोगहरू व्यापक रूपमा बढ्न थालेका छन् । यस्ता रोगहरू मानिसको खानपानमा भर पर्छन् । चिल्लो, नुनको मात्रा, हरियो सागसब्जी, फलफूल, पानी कति खाने भन्नेबारे सचेत हुनुपर्छ । मानिस निष्क्रिय बस्नु हुँदैन । घरमा बसेर आराम गर्ने होइन । सक्रिय जीवन बिताउनुपर्छ । एक्सरसाइज गर्नुपर्छ । नेपालको तथ्यांक हेर्दा धेरै मानिसको धूमपान र मध्यपानबाट मृत्यु हुन्छ । यसले गर्दा जीवनशैलीले ल्याउने रोग घट्नुको साटो बढेको छ । 
यही ट्रेन्ड रहने हो भने, अबको १० वर्षमा नेपालमा मर्नेको ठूलो संख्या जीवनशैलीले निम्त्याउने रोगको कारण हुन्छ । 

 

सरकारले के गर्नुपर्छ ? 

कतिपय कुरामा मानिसहरू सचेत हुँदाहुँदै पनि अस्वस्थ जीवनशैली अपनाउन बाध्य भएको देखिन्छ । जस्तो बजारमा पाइने तरकारी, प्रदूषित वातावरण आदि इत्यादि । यस्तो कुराहरूमा व्यक्ति आफैँ बढी सचेत हुनुपर्ने हुन्छ । तर, यसमा सरकार पनि जिम्मेवार हुनुपर्छ । बजार अनुगमन, किसानलाई शिक्षित बनाउने, बजारमा आउने चिजहरूलाई परीक्षण गर्ने, जनचेतना बढाउने काममा तीव्रता दिनुपर्छ । सरकारले पनि आफ्नो जिम्मेवारी कम निर्वाह गर्दा जनताले दुःख पाइरहन्छन् । 

 

अन्य समस्या

पर्याप्त रूपमा खुल्ला ठाउँ छैनन् । यो पनि समस्या हो । सामाजिक रूपमा के के कुुरा आवश्यक हुन्छ, कति खुल्ला ठाउँ छोड्ने, कति हरियाली बनाउने भन्नेबारे सरकारले ध्यान दिनुुपर्छ । सामाजिक विकासका सूचकबारे अध्ययन गरेर बल्ल स्मार्ट सिटीको परिकल्पनालाई अघि बढाउनुपर्छ ।

 

तयारी खाना खाएर फाइदा छैन

तयारी खानालाई सकेसम्म निरुत्साहित गर्नुपर्छ । त्यसमा केही पोषण तत्व पाइन्न । अखाद्य वस्तु, रङकोे प्रयोग र पोषण तत्व कम हुने गर्दा यसले फाइदा गर्दैन । घरमै बनेका खानेकुरा खानमा जोड दिनुपर्छ । एउटा पेय पदार्थ किनेर खानुको साटो एक लिटर पानी किनेर खानु धेरै फाइदा छ । यो कुरा बुझाउनुपर्छ । 

 

नेपालमा मानसिक रोगको समस्या पनि भयावह रूपमा गएको छ । मानसिक रोगको कारण सयजनामा सातजना मानिसले आत्महत्याको कारण ज्यान गुमाउँछन् । यसका कारणहरू धेरैै छन् । तर मुख्य कारण सामाजिक कारण देखिन्छ ।
विसं २०४८ सालमा नेपाल सरकारले ल्याएको स्वास्थ्य नीतिले केही समस्या ल्यायो । निजी मेडिकल कलेज र निजी संस्था व्यापक रूपमा खुल्न थाल्यो । यसले पहिलो प्राथामिकता उपचारलाई बनायो । आर्थिक रूपमा सम्पन्न भएकाहरूले सजिलै डाक्टर पढ्न पाए । पैसा तिरेर डाक्टर हुनेहरू ४०, ५० लाख खर्च गरेर पढेपछि गाउँमा गएर सेवा गर्ने भन्दा पनि आर्थिक हिसाबमा कसरी अघि बढ्ने भन्नेबारे केन्द्रित भए । सहरमा काम गर्ने कि विदेश जाने अवस्थाले समस्या ल्यायो । 

 

डब्लुएचओका अनुसार कम्तीमा हजारजना व्यक्तिबराबर एउटा डाक्टर चाहिन्छ । तर नेपालमा सत्र सय जनसंख्याको लागि एउटा डाक्टर छ, तर स्थिति कस्तो छ भने, डाक्टरजति सबै सहरमा बस्ने र सहर बजारमा आठ सय जनसंख्यालाई एउटा डाक्टर भए पुग्छ । तर, गाउँमा सात हजार जनसंख्याको लागि एउटा डाक्टर पनि छैन ।

 

निजी संस्था नखुल्ने भन्ने होइन । तर राज्यले यसलाई आफ्नो नियन्त्रणमा लिने कार्य अघि बढ्नुप-यो । गाउँमा रहने डाक्टरहरूलाई सुविधा दिनुप-यो । तबमात्र नेपालको स्वास्थ्य अवस्थामा सुधार आउँछ ।