कभर स्टोरी

अन्तरवार्ता

भिडियो

पोषणविद् डा. अरुणा उप्रेतीको व्यंग्यात्मक दसैं शुभकामना यस्तो छ.. (भिडियोसहित)

‘लुगा राम्रो लगाउनेले, शरीरभित्र जाने कुरामा किन विचार नगरेको  होला ?’

आइतबार, २८ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

पोषणविद् डा. अरुणा उप्रेतीको व्यंग्यात्मक दसैं शुभकामना यस्तो छ.. (भिडियोसहित)

काठमाडौं । पोषणविद् तथा महिला स्वास्थविज्ञ डा. अरुणा उप्रेतीको दसै शुभकामना छ, ‘यो वर्षको दसैंले नेपालीहरूलाई भएको खानेकुराको सदुपयोग गर्ने बुद्धि आओस् ।’ डा. अरुणा अहिलेसम्म ७२ वटा जिल्ला पुगिसकिन् । उमेरको हिसाबले ६० वर्ष नाघिसकेकी उप्रेतीलाई स्वास्थ्यसम्बन्धी मधुमेह, बाथलगायत कुनै पनि रोग छैन । उनको तन्दुरुस्तीको राज नै हो, ‘भएको खानेकुराको सदुपयोग गर्ने र पत्रु खाना नखाने ।’ पत्रु खाना अर्थात् तयारी खानेकुरा । केही वर्षअघि उनले तयारी खानेकुरालाई पत्रुको संज्ञा दिँदा ठूलै तहल्का मच्चिएको थियो । तर अहिले परिवेश बदलिएको महसुस गरेकी छन् उनले । 


डा. उप्रेतीको अनुसार खानपिनको मामिलामा पहिला पहिला पत्रपत्रिकाले त्यत्ति कलम चलाउँदैन्थे । तर अहिले दसैं नजिकिँदै गर्दा डा. उप्रेतीलाई खानपिनबारे कुरा गर्न भ्याइनभ्याई छ । तीन दिनको  अवधिमा खानपिनबारे उनले यो सातौं अन्तर्वार्ता दिएकी थिइन् । खानपिनबारे पत्रपत्रिकाले यसरी सचेतना ल्याएको देखेर खुशी छन् उनी ।


कति वर्षअघि दसैंमा पहिला पहिला पैसा धेरै हुँदैन्थ्यो । त्यो बेलामा मीठोमसिनो खाने भन्ने चलन चल्यो । तर अहिले मासु खान दसैँैं पर्खिनुपर्दैन । मानिसको हात हातमा पैसा छ । अहिले विस्तारै परिवेश फेरिएको छ । तर बदलिँदो परिवेशले मानिसको स्वास्थमा पनि असर परिरहेको उनले बताइन् । 


उनका अनुसार विशेषतः मानिसको स्वास्थमा दसैं, तिहारले यसलाई नराम्रो असर पारेको देखिन्छ । कारण, मीठो बनाउने भन्ने अर्थमा धेरै तेल घिउ हाल्ने चलन छ । यसले नचाहेरै पनि शरीरमा क्यालोरी बढी जान्छ । चिसो पेय पदार्थ, बट्टाको फलफूलको जुस, चिल्लो, चिनी बढी भएको खानेकुरा, फलफूल एकै पटक खाँदा जो व्यक्तिलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिडका बिरामी हुन्छ, उनीहरूलाई असाध्यै असर पर्छ दसैं सकिएपछि हस्पिटलमा ती मानिसको लाइन लागेको हुन्छ । 


दसैं नेपालीहरूको जीवनमा खुशी र उमंग ल्याउने चाड हो । त्यसकारण यो खुशीलाई दीर्घकालीन बनाउनको लगि राम्रो खानपिन गर्नुपर्ने कुरामा सुझाउँछिन् डा. अरुणा । उनी भन्छिन्, ‘यसको लागि तरिका साधारण छ । खाना खाने तर जिब्रोलाई नियन्त्रणमा राख्ने । कोल्ड ड्रिंक एकदम कम खाने । सकेसम्म खाँदै नखाने । तर पेटले मागेको भन्दा धेरै जे खाएपनि स्वस्थकर हिसाबले खानुपर्छ । चिल्लोलाई एकदमै कम गर्ने ।’ 


जनता स्वास्थ्यबार जानकार गराउने र जनताको स्वास्थ्यलाई दृष्टिगत गरेर अनुगमनलाई तीव्रता दिने कार्यमा राज्य पनि धेरै चुकेको उनको गुनासो छ । उनी भन्छिन्, ‘सरकार जनताको स्वास्थ्यको कुरामा चुकेको सन्दर्भमा त कुनै शंका नै छैन । मरेकै जनावर ल्याएर काटेर खाएको देखिन्छ । हाड र छाला मात्र भएको राँगा ल्याएको देखिन्छ । बिरामी जनावरको मासु खाएपछि त मान्छेको स्वास्थ्यमा असर अवश्य पर्छ । यो कुरामा निगरानी नहुँदा पनि जनताले दुःख पाएका छन् । तर आफू सचेत भने हुनुपर्छ ।’


मासु मात्र होइन, दसैंमा अत्यधिक खपत हुने अर्को खानेकुरा हो मिठाई । विभिन्न मिठाई पसलमा नचाहिने अस्वस्थ्य सामग्री प्रयोग गरेका कारण शिलबन्दी भएका समाचार पनि सुनिन्छन् । रंगीचंगी मिठाई देखेपछि मान्छेको मन लोभिन्छ । तर, त्यो खाएपछि के कति असर पर्छ भन्नेबारे सचेत हुनुपर्नेमा उनले जोड दिइन् । चाडबाडमा मात्र अनुगमन गर्ने र अन्य समयमा सुतेर बस्ने राज्य हुँदा पनि जनताले दुःख पाएको उनको गुनासो छ । 


एउटा मुटुरोगसम्बन्धी कार्यक्रमको सिलसिलामा डा. उप्रेती काठमाडौंको एक पाँच तारे होटल पुगेकी थिइन् । कार्यक्रम सकिएपछि होटलमा खानाको व्यवस्था थियो । त्यहाँ पुग्दा एकजना पाँच वर्ष पाँच तारे होटल सञ्चालन गरेका व्यक्तिसँग उनको भेट भयो । ती व्यक्तिको अनुभव  सुनेर छक्कै परिन् उनी । कारण, पाँच वर्ष होटल सञ्चालन गरेका ती व्यक्तिले आपूले भने पाँच तारे होटलमा बनेको खाना नखाने गरेको बताए । एकपटक प्रयोग गरिसकेको तेल, पटक पटक प्रयोग भएको र त्यही तेल ड्रममा हालेर त्यो तेल अन्य साना होटलमा दिने गरेको अनुभव ती व्यक्तिले अरुणालाई सुनाए । 


एउटै तेलमा बारम्बार पकाएको खानेकुरा खाँदा त्यसले विषालु किटाणु निकल्छ । जसले मुटुमा असर पार्छ र क्यान्सर लाग्छ । यसबारे जनस्वास्थले केही सचेत नगराएकोमा पनि उनले गुनासो पोखिन् । 


डा. उप्रेती आफैँले पनि तयारी खाना नखाएको २५ वर्ष भइसक्यो । मान्छेले आफ्नो खानाको बन्दोबस्त आफैँ गर्नुपर्नेमा जोड दिन्छन् उनी ।  असम्भव केही छैन भन्दा उनले आफ्नो व्यक्तिगत अनुभव सुनाइन्, ‘७२ वटा जिल्ला घुमिसकें तर अहिलेसम्म अस्वस्थकर खाना खानुपरेको छैन ।’ 


अहिले मानिसहरूमा हातमा पैसा भएकोे कारण खाजा भन्ने मानसिकता हराएकोमा उनले गुनासो गरिन् । भ्याएसम्म नजिकका साथीलाई भन्छिन् उनी, ‘एकछिनको अल्छि गरेर पछि रोग लागेपछि डाक्टर कहाँ जान कताबाट समय मिलाउने ? स्वास्थ राम्रो नभए अरू केही कुराको पनि काम छैन । लुगा, मोबाइल छानेर राम्रो लगाउने मान्छेले शरीरमा जाने कुरामा किन विचार नगरेको होला ?’ 


सहर बजारमा मात्रै होइन । गाउँघरमा पनि उनले उस्तै समस्या देखेकी छन् । उनी भन्छिन्, ‘घरको कोदो मकै बेचेर पत्रु खाना किन्छन् । यसले गर्दा उनीहरूले पैसा तिरेर रोग किनिरहेका छन् ।’ 


कर्णालीमा कुपोषणका कारण मृत्यु भयो भनेर समाचारमा आइरहछन् । कतिपयले कर्णालीका जनताले खान नजानेर पनि कुपोषणको शिकार भएको भन्छन् । हामीले यसबारे पनि उनीसँग बुझ्न खोज्यौं । यस विषयमा सहमत जनाउँदै उनले भनिन्, ‘कुपोषण खानेकुरा नपुगेर हुन्छ भन्छन् । तर यतिमात्र होइन त्यसमा सरसफाइ र पानीको पनि उत्तिकै महत्व हुन्छ । सरकारले पनि कर्णालीमा भात पुगेन भनेर त्यहाँ भएको कोदो, फापर, मकै, जौ, उवा, आलु सिमी जस्तो स्वस्थकर खानेकुरालाई वेवास्ता गरेर सेतो चामल पठाउन थाल्यो । काठमाडौंका मान्छेले खाने त्यो चामल राम्रो होला भनेर त्यहाँ भएको खानेकुरा अपहेलना गर्न थाले । तर, काठमाडौंवासीले उताबाट चिनो, फापर मगाएर खान्छन् । यसमा राम्र्ररी काम नगरेर सरकारको पनि उत्तिकै दायित्व छ । अहिले कर्णालीमा केवल भातको भोकमरी छ । त्यहाँका मानिसले घरमा भएको आलु, कोदो, फापरलाई बेवास्ता गरेका छन् । मलाई हुम्ला, कालिकोट जाँदा कहिल्यै भोकै हुनुपरेको छैन ।’ 


त्यहाँ देखेका वस्तुस्थितिलाई वर्णन गर्दै उनले भनिन्, ‘घरको मकै गाईलाई खान दिन्छन् । धान, जौ गाईको दूध र स्वास्थ राम्रो हुन्छ भनेर दिन्छन् । जौ पनि खानेकुरा हो र ? भनेर भन्छन् । त्यहाँ मात्र होइन । काठमाडौंमा पनि यस्तै छ । आफूसँग भएको वस्तुको महत्व नभएर महँगो कुरा किन्छन् । भटमासलाई वेवास्ता गर्छन्, सोयाबिनको मस्यौरा खान्छन् । त्यसमा भटमासको पौष्टिकता नै सकएिको हुन्छ । फर्सीलाई बेवास्ता गर्छन् पम्पकिन सुप खान्छन् । हाम्रो मानसिकताले पनि हाम्रो स्वास्थ र खानपिनमा असर पारको छ ।’ 


तराईमा बल्ल आलसको महत्व बुझेकोमा खुशी छन् उनी । केही वर्षअघि उनी तराई जाँदा त्यहाँका स्थानीयले आलसलाई के काम यो लैजानुस् भनेर बोराका बोरा दिए । अहिले यसको महत्व बुझेको देख्दा खुशी लागेको उनले बताइन् ।  


कतिपय खानेकुरा हामीले असामान्य रूपमा खाएकोमा उनले आपत्ति जनाइन् । ‘सागलाई जति धेरै काट्यो त्यसको पौष्टिक तत्व नाश हुन्छ । त्यसकारण धेरै मसिनो बनाएर काट्ने या धेरै पखाल्ने होइन । बासी भात भयो भने फाल्ने चलन छ । चौबीस घन्टा भएकोलाई फ्राई बनाएर खाने कुुरालाई बेवास्ता गर्छन् तर रेस्टुराँमा पैसा तिरेर फ्राइड राइस खाने गर्छन् । यो चलन परिवर्तन गर्नै पर्छ ।’ 


उनले बोलेको र लेखेको सुनेर पत्रु खाना खान छोडें, भन्ने मान्छेहरू पनि छन् । दिनहुँ उनीसँगै  काम गर्ने साथीहरू ९० प्रतिशत खान छोडें भन्छन् । यत्तिको सकारात्मक परिवर्तन आएको देख्दा उनलाई सन्तुष्टि मिल्छ । त्यसकारण पनि यो वर्षको उनको दसैँैं तिहारको शुभकामना नै छ, ‘यो वर्षको दसैँैं तिहारले नेपालीहरूलाई घरमा भएको खानेकुरालाई प्रयोग गर्ने बुद्धि आओस् ।’