कभर स्टोरी

भिडियो

उपल्लो डोल्पाका बालबालिकाले नेपाली भाषा नै बुझ्दैन थिए (भिडियोसहित)

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

उपल्लो डोल्पाका बालबालिकाले  नेपाली भाषा नै बुझ्दैन थिए (भिडियोसहित)

काठमाडौं । ‘विनोद शाही’ । यो नाम कतिलाई नौलो लाग्न सक्छ । नौलो लाग्नेलाई स्मरण रहोस्, नेपालको सबभन्दा दुर्गम जिल्ला डोल्पामा गएर करिब १३ वर्षदेखि निरन्तर शिक्षा दिँदै आएका व्यक्ति हुुन् उनी । विनोदलाई अहिले शिक्षाको पर्र्याय मान्ने धेरै छन् । पछिल्लो समय ‘हिमालयन हिरो’ भनेर विनोदको चर्चा चौतर्फी चुलियो । हरेक ठूलो उपलब्धीमा एकल व्यक्तिको मात्र हात हुँदैन । त्यसमा धेरै पक्षको संयोजन हुन जरुरी हुन्छ । विनोदलाई आज ‘हिमालयन हिरो’ बनाएका व्यक्ति हुन् तल्लो डोल्पाका मनलाल बुढा । 

 


मनलाल डोल्पाकै स्थानीय बासिन्दा हुन् । उनले डोल्पामै अध्ययन गरे । उनको अनुसार, उपल्लो डोल्पामा जस्तो तल्लो डोल्पाम पढाईको त्यत्ति कठिनाईं छैन । आफूले शिक्षा पाएपछि मनलालको सपना थियो अपर डोल्पामा गएर शिक्षा बाँड्ने । अरू विषय पढाउन सके पनि मनलाल अंग्रेजीमा कमजोर थिए । उनी डोल्पाको लागि केही गर्ने चाहना भएको आफूजस्तै मान्छेको खोजीमा थिए । जसले डोल्पालीको लागि र डोल्पालाई आफ्नै ठानेर काम गरोस् । विनोदलाई भेट्नु मनलाललाई ढुंगा खोज्दा देउता पाएजस्तै भयो । 


मनलाल र विनोद दुवैसँग हालै नेपालआजको भेट भयो । एकले अर्काको साथ सहयोग कसरी पाए भन्ने उनीहरुले सुनाए । भिडियो कुराकानीका क्रममा उनीहरुले त्यस्ता धेरै जानकारीहरु बाँडे, जुन आम नेपालीको सोचाइमा पनि पर्दैन । 

 

 

काठमाडौंको नरदेवीमा जन्मिएका विनोद डोल्पाका विद्यार्थीलाई भेटेपछि त्यहीं गएर डोल्पाका बच्चाहरूलाई पढाउँछु भन्ने निधो गरेर काठमाडौंदेखि आएका थिए । विनोदलाई भेटेर उनको इच्छा र चाहनाबारे थाहा पाइसकेपछि मनलालको खुसीको सिमा नै रहेन । उनीहरू दुवैले तय गरे, बच्चालाई पढाउने ।  

 


अहिले उनीहरू दुईले सहकार्य गरेको १३ वर्ष भइसक्यो । पढाएका विद्यार्थीहरू कोही विदेशमा छन्, कोही त्यहीँको स्थानिय विद्यालयमा मास्टर भइसके भने कति काठमाडौं आएर उच्च शिक्षा हासिल गरिरहेका छन् । दुवैले एकअर्काबाट सिक्दै र सिकाउँदै अघि बढेका छन् । सँगै एउटा डर पनि छ, शहर या विदेशिएका विद्यार्थीहरू फेरि डोल्पा फर्किदैँनन् कि भन्ने । तैपनि सास रहेसम्म आश राख्ने उनीहरू बताउँछन् । 

 


मनलाल आफैँ पनि विद्यार्थीलाई सिकाउँछन्, ‘काठमाडौंका विनोदले डोल्पाको लागि यति गर्न सक्छन् भने, डोल्पाली भएर डोल्पाको लागि किन केही नगर्ने ?


 

क्षेत्रफलको हिसाबमा नेपालको सबभन्दा ठूलो जिल्ला । तर, विकासको दृष्टिकोणले कोशौं पर । पर्यटकीय सम्भावनालाई हेर्ने हो भने, त्यहाँको सौन्दर्यगान गाएर सायदै कोही थाक्छ । से फोक्सुन्डो ताल रहेको हिमालै हिमालको काखैमा रहेकोे जिल्ला डोल्पा । त्यहाँ मानिसका पीडा पनि उस्तै । काठमाडौंजस्ता शहरी क्षेत्रमा बस्नेलाई त्यो पीडा असामान्य लाग्छन् । तर, डोल्पालीका लागि त्यो पीडा केही होइन । 

 


अन्तर्वार्ताको क्रममा विनोदलाई सोधियो, ‘सुख खोेज्न सधैं आफू भन्दा कम भाग्यमानिलाई हेर्नु भनिन्छ, तपाईंजस्तो काठमाडौंको व्यक्तिलाई डोल्पामा सायद खुसी त्यसैगरि मिलेको हो ?’ तर, शाही यो कुरासँग सहमत छैनन् । भन्छन्, ‘वास्तवमै डोल्पालीहरू हामी भन्दा धेरै भाग्यमानी छन् । सधैं त्यति सुन्दर दृश्य देख्न पाउने भाग्य कहाँ छ हाम्रो ? त्यहाँ टिक्न सक्ने समाथ्र्य कहाँ छ ? बरू उनीहरूको अघि हामी केही होइन ।’
 

 

विनोद र मनलालको भेट उपल्लो डोल्पामा भयो । अध्यापनबारे दुवैको सोचविचार मिल्यो । सरकारले ४० वर्षदेखि विद्यालय स्थापना गरिदिए पनि विद्यार्थीलाई स्कुल जान कठिन थियो । बस्ती टाढा टाढा भएकाले पनि सजिलै विद्यालय जान सक्ने अवस्था थिएन । त्यसमाथि चिसो ठाउँ ।  
 

 

विद्यालय स्थापना गर्ने निर्णय त उनीहरूले गरे । तर, बस्ती टाढा भएको कारण केही नमिलेजस्तो देखिन्थ्यो । विद्यालय खुल्न समस्या भइरहेको थियो । विद्यालयसम्म आएर पढ्न पनि एकदम गाह्रो थियो । दुईजना मिलेर ‘स्नो याक’ भन्ने संस्था दर्ता गरे । त्यहाँबाट  तीनवटा विद्यालय सञ्चालन भयो । बस्तीहरू धेरै टाढा टाढा भएको कारण पनि एउटै विद्यालय बनाएर सबै विद्यार्थीलाई त्यहीँ पढाउन सकिने अवस्था थिएन । 
 

 

एउटा विद्यालय एक ठाउँमा छ भने त्यहाँबाट लगभग पाँच घन्टा जति हिँडेर विनोद अर्को विद्यालय पढाउन पुग्थे । मनलालका अनुसार तल्लो डोल्पामा अंग्रेजीको समस्या थियो । विस्तारै विनोदले त्यसलाई कम गर्दै लगे । कति बच्चासँग कापी, कलम नभएर पनि विद्यालय नआएका अवस्था थियो । यसमा पनि विनोदले काठमाडौंबाट चाहिने सामाग्री लिएर गए, सक्दो सहयोग गरे । अहिले करिब आठ सय विद्यार्थीले ‘स्नो याक’ फाउन्डेसनमार्फत शिक्षा पाइरहेका छन् । 
 

 

तल्लो डोल्पाका मनलाल बुढा आफंैले पनि अंग्रेजी पढ्दा धेरै दुःख पाए । उनले ९, १० मा पुगेर बल्ल ए बी सी डी पढेका थिए । उनले धेरथोरे पाएको शिक्षाले गर्र्दा पनि आज डोल्पाका बच्चाले पढ्ने वातावरण पाएका छन् । 
 

 

विद्यालय नजिक घर हुने बच्चा ५ मिनेट हिँडेर विद्यालय पुछन् । तल्लो डोल्पाबाट सात आठ दिन हिँडेर पढ्न आउने विद्यार्थी पनि छन् । यसरी विद्यार्थीहरूले विद्यालय आउनकै लागि करिब ५ मिनेट देखि दुई तीन घन्टा हिँडेर आफ्नो बाटो तय गरेका छन् । सामान्य रूपमा बच्चाहरूको काम भनेको लेख पढ गर्ने हुन्छ । तर डोल्पाका  बच्चा पढ्छुमात्र भनेर बस्न पाउँदैनन् । सानै उमेरमा उनीहरू धेरै जिम्मेवारीले थिचिएका हुन्छन् । विनोदका अनुसार त्यहाँ बच्चा होस् या वृद्धवृद्धा, सबैले काम गर्नै पर्छ । गोठालो जानु भनेको त्यहाँको अनिवार्य व्यवहार हो ।  कतिले घरको काम गर्छन् । पानी लिन जाने, काठ दाउरा लिन जाने, भेडाहरू जता जान्छन् पछि लागेर गोबर बटुलेर गुइठा बनाउने आदि । विनोद भन्छन्, ‘बाल शोषणको मुद्दा लाग्ने भए डोल्पाका सबै अभिभावक कारबाहीमा पर्थे ।’ 
 

 

डोल्पाकोे परिवेशलाई नजिकबाट नियालेका मनलाल बुढा भन्छन्, ‘त्यहाँ बालबालिका धेरै कुराबाट वञ्चित छन् । गरिबी र मजदुरीको कारण ‘स्कुल जा’  भन्ने अभिभावक पनि छैनन् । पढाउने चाहाना हुँदा पनि गरिबीको कारण त्यस्तो अवस्था छ ।’ 
 

 

डोल्पाका कतिपय ठाउँका बच्चाहरू अझ पनि घरको कामले गर्दा स्कुल जाने वातावरण नै छैन । ‘अभिभावकको मृत्यु भयो भने सबै जिम्मेवारी त्यो बच्चाको काँधमा परेको हुन्छ’, विनोदले कारण फुकाए ।  

 

 

सुरूवाती दिनमा त डोल्पाका सबै कुरा असामान्य लाग्थे विनोदलाई । काठमाडौंमा हुर्के बढेका उनलाई त्यहाँको अवस्था असामान्य नलाग्ने त कुरै भएन । उनी त्यहाँ जाँदा माओवादी र सरकारपक्षको युद्ध चलिरहेको थियो । जनयुद्धको त्यो चरम उत्कर्षमा कर्णली, रुकुम, रोल्पा र डोल्पामा बढी प्रभाव थियो । बाटोमा जाँदा भेटिएका सेनाहरू र माओवादीले विनोदको टिमलाई बढी खोतल्थे । माओवादीले भेटे भने आर्मी पुलिसको जासुस भन्थे भने आर्मीले भेट्दा माओवादी । त्यसको डर र त्रास धेरै थियो । 

 

यति अप्ठ्यारा झेलेर डोल्पा पुगेर पनि सुख पाएनन् उनले । त्यहाँका बच्चाहरुले उनीहरूको भाषा बुझ्दैनथे । धर्म र जात नमिल्ने हुँदा उनीहरूलाई त्यो समाजमा स्वीकार नगर्ने अर्को जमात थियो । कतिपय स्थानियले त माओवादीले फैलाएका त्रासको कारण माओवादी भन्ठानेर डरले ढोका नै नखोल्ने पनि गर्थे । 

 

यो सबै भोेगेर र भोग्दै सिक्दै डोल्पामा मनलाल र विनोदले सहकार्य गरेको १३ वर्ष बितिसक्यो । सिक्ने र सिकाउने क्रम जारी नै रहन्छ । विनोद भन्छन्, डोल्पामा हामी यहाँ दिनेजस्तो शिक्षा दिँदैनौै । यहाँबाट किताब लगेर त्यसलाई माध्यम बनाएर अरू नै चिज सिकाउँछौं । मुुख्य रूपमा त्यहाँ भएका सम्पदाको परिचालन गर्न सिकाउँछौैंं । डोल्पालाई अन्य कुनै पनि ठाउँ हैन, डोल्पालाई डोल्पा नै बनाउने शिक्षा दिन्छौैं हामी । देशको प्रधानमन्त्री को होे होइन, त्यहाँकोे गुम्बाको लामा कोे हो भन्नेबारे सिकाउँछौंं ।’
 

 

विनोदको उद्देश्य शिक्षक बन्ने कहिल्यै थिएन । उनी पेन्टिङ गर्थे र कलामा लागेका थिए । डोल्पाका बच्चाले नैै आफूलाई  शिक्षक बनाएको बताउँछन् उनी । जति दुःख कष्ट हुँदा पनि उनलाई काम गर्न उर्जा दिने प्रेरणाका स्रोत तिनै बच्चाहरू हुन् । डोल्पा जाने क्रममा त्यहीं जन्मे हुर्र्किएकोे याक पनि चिसो सहन नसकेर मरेकोे रात विनोद बाँचेका थिए । सायद त्यो कारण पनि उनले आफ्नोे डोल्पाकोे एक नजानिदोें किसिमको साइनो भएको महसुस गरे । 

 

जति दुर्गम भएपनि डोल्पालीसँग बसेर काम गर्न पाउँदा उनको हर्ष दिनदिनै बढ्दो छ । भन्छन्, ‘काठमाडौंमा सबै कुरा भएपनि  यहाँका मानिस सन्तुष्ट छैनन् । डोल्पाका मान्छे सबभन्दा सुखी र खुसी छन् ।’ उनले पाएको एउटा मुख्य शिक्षा हो, ‘संसारको कुनै पनि युनिभर्सिटीमा नपाइने शिक्षा दुुर्गम ठाउँमा पाइन्छ ।’ त्यसकारण पनि नेपालका युवालाई दुर्गम ठाउँ घुम्न सुझाउँछन् उनी ।