समाचार

स्वास्थ्य

मानसिक स्वास्थ्य समस्या विश्वकै लागि चुनौतीपूर्णः स्वास्थ्यमन्त्री यादव 

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

मानसिक स्वास्थ्य समस्या विश्वकै लागि चुनौतीपूर्णः स्वास्थ्यमन्त्री यादव 

काठमाडौ ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।

 

बेलायत सरकार, विश्व स्वास्थ्य संगठन तथा आर्थिक सहयोग र विकास सम्बन्धी संगठन (ओईसीडी)को संयुक्त आयोजनामा लण्डनमा बुधबार राति सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँचमध्ये एकमा मानसिक रोगको समस्या रहेको बताए । 

 

उनले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको बीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित भएको उल्लेख गरे । 

 

‘नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन’, उपप्रधानमन्त्री यादवले भने, ‘अशिक्षा, बेरोजगारी, बसाइसराइ, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिवीको कारण नेपालमा मानसिक रोगीहरूको संख्या दिनानुदिन बढिरहेको छ ।’

नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै मन्त्रीयादवले भने, ‘नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको छ ।  मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यानदिइनेछ ।’
विश्व सम्मेलनको पहिलो दिन उपप्रधाएवम् स्वास्थ्यमन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केण्डालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो । १० अक्टोबरमा बेलायतका प्रधानमन्त्री थ्रिसर मेद्वारा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत समारोहमा स्वास्थ्यमन्त्री यादव सरिक भएका थिए ।

 

यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा बेलायतकालागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रविन्द्र ठाकुर, स्वकीय सहसचिव अमरेन्द्र यादव र उपसचवि भवनाथ खतिवडा सहभागी छन् ।