कभर स्टोरी

बिचार

नेपाली जनता हो ! फेरि पनि वामदेवलाई जिताउने हो भने कुशासन सहन तयार हुनु 

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाली जनता हो ! फेरि पनि वामदेवलाई जिताउने हो भने कुशासन सहन तयार हुनु 

काठमाडौं । प्रा. डा. सुरेन्द्र केसीले वामदेव गौतमको राजनीतिक भविष्य समाप्तितर्फ गएको बताउनु भएको छ । नेपालआजमा उहाँको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ मा कुरा गर्दै वामदेवको निहित पद र सत्ता लिप्साका कारण रामवीर मानन्धरलाई राजीनामा दिन लगाइएको डा. केसीको तर्क छ । प्रस्तुत छ उहाँले कुराकानीका क्रममा व्यक्त गर्नुभएका मूलभूत अंशहरुः 

 

–    बर्दियाबाट पराजित भएपछि कसरी वामदेवलाई संसदमा प्रवेश गराउने भन्ने कुरा भइरहेको थियो । बीचमा रोल्पा, प्युठान आदि क्षेत्रबाट कुनै सांसदलाई राजीनामा गराएर उपनिर्वाचनमा जाने बारे तयारी भइरहँदा काठमाडौंबाटै रामवीरलाई राजीनामा दिन लगाउने निर्णय भएछ । 

 

–    क्षमतावान वा आवश्यकताले वामदेव गौतमलाई ल्याउने भन्ने तर्कमा दम छैन । किनभने अहिलेको संसदमा चित्रबहादुर केसी, नारायणमान विजुक्छेलगायत धेरै नेताहरु छैनन् । 

 

–    वामदेव गौतम अरु नेताहरु भन्दा क्षमतावान हुन् । उनी पार्टी अध्यक्ष, प्रधानमन्त्री नै हुन पनि योग्य व्यक्ति हुन् । तर यो थितिबाट जानका लागि कसैले पनि छुट पाउनु हुँदैन । रामवीरलाई पाँच वर्ष काम गर्नु, वामदेवलाई पाँच वर्ष संसद नपस्नू भन्ने जनादेश हो । तर जनताको मतको विपरीत गएर गरिने यो राजनीति शोभायमान भएन । 

 

 

–    म निर्वाचनमा जादिनँ । किनभने मेरो काम राजनीति गर्ने होइन । जसरी अहिले देशको सेवा गरिरहेको छु त्यसै गरी गर्छु । मैले मेरो पेशालाई इमानपूर्वक निर्वाह गर्नु नै देशको सेवा हो । तर नेताहरुले कहिले पनि इमान देखाएनन् । 

 

–     जनताको भावनाको खेलवाड गर्ने नेतालाई सदर गर्दै जाने हो भने परिणाम भोग्नु पर्छ । नेताको खेलवाड सदर गर्ने जनताले सजाय नै भोग्नु पर्छ ।

 

–    झूठ  बोल्ने, बेइमानी गर्नेहरुलाई जनताले छान्छन् भने कुशासन सहनु पर्छ । 

 

–    विश्वज्योति सिनेमा हलको मालिकको नाम गरिब दास हो । एउटा चटपटेवालाको नाम धनीराम होला । नाम गरिब हुँदैमा कोही गरिब हुँदैन । धनीराम हुँदैमा कोही सम्पत्तिवाला हुँदैन । नाममा कम्युनिष्ट हुँदैमा कोही कम्युनिष्ट  भइहाल्दैन । नेकपा पनि कम्युनिष्ट पार्टी होइन । 

 

–    वामदेव गौतमको सम्बन्धमा अनपेक्षित नतिजा आउन सक्छ । वामदेव स्वयंका लागि, पार्टी र देशका लागि घातक हुन सक्छ । 

 

–    वामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने भन्ने कुरा रामवीरले नै भनेका छन् । यसअर्थ उनलाई संसद प्रवेश गराउनुको मतलव राजनीतिलाई अस्थिर बनाउनु हो । 

 

–    रामवीरलाई हटाएर वामदेव संसदमा प्रवेश गर्नुको औचित्य पुष्टि नभएसम्म म वामदेवको विपक्षमै बस्छु । 

 

–अहिले मुलुकमा जे जस्ता अस्तव्यस्तता छन् त्यसको प्रमुख एक कारक वामदेव स्वयं हुन् । 

 

 –वामदेव संसदमा प्रवेश गर्नु अनिष्टको संकेत हो । 

 

–नाकाबन्दीमा केपी ओलीलाई बोक्यौं । अहिले उनले आफ्नो पारा देखाइसके । १७ हजार मान्छे मार्दा पनि क्रान्ति भनेर मानिदियौं । यसरी सधै कति मानिरहनु पर्ने हामीले ?