मुख्य समाचार

पाँच वर्षभित्र देशका सबै स्थानमा पर्यटन पूर्वाधार हुन्छन्ः मन्त्री अधिकारी

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

पाँच वर्षभित्र देशका सबै स्थानमा पर्यटन पूर्वाधार हुन्छन्ः मन्त्री अधिकारी

पर्वत ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको पाँच वर्षभित्रमा मुलुकका अधिकांश स्थानमा पर्यटन पूर्वाधार भइसक्ने ठोकुवा गरेका छन् ।  

 

 

उत्तरी पर्वतको जलजला गाउँपालिका-३ मल्लाजमा निर्मित कोत मन्दिरको बिहीबार उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो ठोकुवा गरेका हुन् । साथै, उनले मुलुकको ऐतिहासिक संस्कृतिलाई जोगाउनका लागि राज्यले विशेष प्राथमिकता दिएको बताए । 

 

 

 

बाह्रौं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुनःनिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घर भई हाल काठमाडौंको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करीब रु ३५ लाखको लागतमा सो मन्दिरको पुनःनिर्माण गरेको हुन् ।

 

 

बाइसे चौबिसे राज्यका पालामा निर्मित कोत मन्दिर जिल्लाकै पुरानो भएपछि संरक्षणका सरकारी बजेटले प्राथमिकता नपाएपछि स्थानीयको सक्रियतामा एक करोड २० लाख रुपैयाँको लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको थियो । 

 

 

 

धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने स्थानीयले बनाएको गुरुयोजनाअनुसार मन्दिरका साथै पदमार्ग, बाघको शालिक, देवी भुमेथान, प्रवचन सत्तल भवन लगायतका संरचनासमेत बनाइएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष क्याप्टेन टेकबहादुर जिसीले बताए । 

 

 

विसं २०७२ मङ्सिर २५ देखि पुस ५ गतेसम्म सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण, पूजास्थल निर्माण, भवन निर्माण, खेल मैदान विस्तार गरी प्याराफिट निर्माण गरिएको मल्लाज कोत मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।