प्रदेश ७

निर्मला पन्तको प्रमाण सुरक्षित राख्न आयोग निर्देशन

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

निर्मला पन्तको प्रमाण सुरक्षित राख्न आयोग निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट संकलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । 

 

 

 

आयोगले बिहीबार पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका सबूत जे–जस्तो अवस्थामा भए पनि सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई निर्देशन दिएको आयोगका निमिक्त सचिव मुरारीप्रसाद खरेलले जानकारी दिए । 

 

 

 

त्यसैगरी मृतक निर्मला पन्तको भेजिनल स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाका बारेमा जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पनि आयोगले पत्राचार गरेको छ । 

 

 

 

यसैबीच आयोगले आजै पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा चिकित्सकीय जाँच तथा सबुदको वैज्ञानिक परीक्षणका बारेमा चिकित्सा विज्ञ र डिएनए विज्ञसँग छलफल गरेको छ । आयोगले पन्तको डिएनए परीक्षण प्रतिवेदन र शव परीक्षण प्रतिवेदनका प्रतिलिपिको समेत सूक्ष्म अध्ययनका बारेमा छलफल गरेको हो । 

 

 

 

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानूनी चिकित्सा विज्ञ डा हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा. दिनेश झालगायत थिए ।