मुख्य समाचार

राजनीति

वामदेवका कारण सचिवालय बैठक स्थगित

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

वामदेवका कारण सचिवालय बैठक स्थगित

 काठमाडौं । सत्तारूढ दल नेकपाको सचिवालयको बैठक स्थगित भएको छ । सोमबार बसेको सचिवालय बैठकले विविध विषयमा छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो ।


सचिवालयका सदस्य नेताहरू ब्यस्त रहेको कारण जनाउँदै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको बताइएता पनि काठमाडौं क्षेत्र नम्बर ७ मा  वामदेव गौतमलाई प्रतिनिधिसभा उम्मेदवार बनाउन रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएपछि नेकपाभित्र खटपट सुरु भएकाले बुधबारका लागि तोकिएको सचवालय बैठक बस्न नसकेको नेकपाका एक नेताले बताए ।  बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूची तय गर्ने थियो ।

 

वामदेवलाई काठमाडौंमा चुनाव लडाउने निर्णयको मास्टरमाइन्ड प्रचण्ड नेकपामा हावी हुन थालेपछि प्रधानमन्त्री ओली र माधव नेपाल गुट तरंगित भएका छन् । वामदेव चुनाव प्रकरणले माधव नेपालको असन्तोषको लहर छायाँमा परेको छ ।  वरिष्ठ नेता नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न स्थायी समिति बैठक बोलाउन माग गर्दै आएका छन् । 


 
डोल्पादेखि बर्दिया, दैलेख अनि नवलपरासीसम्मका नेकपाका सांसदले नपत्याएको अवस्थामा रामवीरले वामदेवका लागि राजीनामा दिएपछि पार्टीभित्र तरंग फैलिएको छ ।