बिचार

जीपीपथ पछ्याउँदै केपी

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

जीपीपथ पछ्याउँदै केपी

एकदिन केपी ओली र पीके दाहाल कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्ने वित्तिक्कै पीकेलाई कुनै छनक नै नदिई केपी हत्त न पत्त एउटा रुखमा उक्लिए छन् । र  हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु पीके छेउमै आइसकेछ । अक्कल र अनुभवले खारिएका पीकेलाई सुझेछ– ‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’ उनले त्यसै गरेछन् ।  भालु आएर तलदेखि माथिसम्म पीकेको शरीरका हरेक भाग सुँघेछ । सास पनि रोकेर सुतेका पीकेको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रुख चढेका केपी तल ओर्लिएर सोधेछन्– ‘भालुले तपाईंको कानमा के साउती गर्‍यो कमरेड ?’ रिसले आगो भएका पीकेले जवाफ दिएछन्– ‘भालुले भविष्यमा त्यस्ता साथीहरुसंग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा सहयात्री, कुल, पितृ सबै बिर्सन्छन र आफ्नो मात्र स्वार्थ हेर्छन् ।’

 

नेपाल कम्युनिष्ट पार्टी बोइङका दुई क्याप्टेन यो अवस्थामा आउन अब धेरै पर्खन पर्दैन । जब सरकारी नूनसंग नेताहरुको सम्झौता बाक्लिदै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन् । कार्यकर्तामा विग्रह बढ्दै जान्छ । जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिष्ट पार्टीभित्रका धमिराले नै यसको इन्जिन स्वाहा पार्ने छन् । सन्काउनेहरुको संख्या बाक्लिँदा मुखियाहरुमा आलोचना खप्ने क्षमता कटौती हुँदै जानेछ । आलोचना नखप्नु भनेको असफलता नजिकिनु हो । नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाललाई समयले राजनेता हुने मौका दिएको थियो । तर तीनैजना पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा खुम्चिए ।

 

गिरिजाप्रसाद र प्रचण्ड त इमान्दारपूर्वक भन्दा राजनीतिक डनमा सीमित भए । एउटा समय थियो– गिरिजाप्रसाद नेपाली राजनीतिका डिलर थिए । कम्युनिष्टका नेता समेत उनीबाट थोकमा अलिकति किनेर आफ्नो राजनीतिक उद्यम चलाउँथे । तिलस्मी पात्र भएर यस धरामा ओर्लिएका पुष्पकमल दाहालले थितिको नजिर बसालिदिएको भए एक वर्षमा मुलुक अर्कै लयमा दौड्न्थ्यो । भाषणमा कम्युनिष्ट भएर के गर्नु केपी र पीकेको हिँडाई, बोलाई, खुवाई, दम्भ सबै गिरिजाप्रसाद कोइरालासंग हुबहु मिल्छ । सक्षम र योग्य मानिस नजिकै नपार्ने, आलोचना फिटिक्कै नसहने, अयोग्य तर आफ्नो दासलाई जहाँ पनि लैजाने गिरिजापथ यिनीहरुका हकमा अन्तिम मूलमन्त्र बनेको छ । यही संस्कार शेरबहादुर देउवाले सक्कल बमोजिम नक्कल टिपेका छन् ।  

 

केपी ओलीको आँखाले अहिले देशमा रामराज्य देखेको छ । आपूmले निर्देशन दिएपछि भ्रष्टाचार छूमन्तर भएको भ्रम छ । भित्तामा भ्रष्टाचार विरोधी नारा लेखेपछि सुशासनको बाढी आएको तर्क कुतर्क शुरु भइसकेको छ । ‘भ्रष्टाचारीको मुखमा किरा परोस’ जस्तो तल्लो स्तरका शब्दका स्टीकर सरकारी कार्यालयभरि टाँस्दा त नझरेको भ्रष्टाचारको पारो नौटंकीले के झार्नु ? अझ दुई अरब सरकारी धन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न खर्च भएको बुढी गण्डकी आयोजना प्रचण्डलाई खुसी पार्नकै लागि अमूक कम्पनीलाई दिने प्रधानमन्त्रीको उर्दी अख्तियारको चरम दुरुपयोग हो भन्ने प्रश्न गर्ने हिम्मत कसैमा छैन् । सुशील कोइराला प्रधानमन्त्री हुँदा आफूले खल्ती नभएको लुगा लगाएर भ्रष्टाचारमा शून्य सहनशीलताको नाटक गर्ने तात्कालीन मुख्यसचिव त्यो बेला जागिर टिकाएर अहिले पदमाथि महापद थप्दै सिँढी चढिरहेका छन् ।

 

यही कर्मचारीतन्त्रले राजा ज्ञानेन्द्रलाई फुक्र्याएर टीभीमा समाचार पढ्ने अवस्थामा पुर्‍यायो । मुख्यसचिव भोजराज घिमिरेले सरकारी कर्मचारीलाई नेता बनाउने वैधानिक निर्णय गराएर बेथितिमा मलजल गरे । लोकमानसिंह प्रवृत्तिलाई सबै दलले जन्तर मानेर ग्रहण गर्दै गए । प्रधानमन्त्रीले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, उसका वरिपरी कस्ता मानिसको उपस्थिति छ, त्यो मुख्य कारक हो । 

 

एक समय ईटलीको मिलान शहरमा वेनिटी मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौंको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै डोरिन्थ्यो । उनको नाममा लाखौं युवाहरु ड्यूचे, ड्यूचे भन्दै मर्न मार्न तयार हुन्थे । मुसोलिनी त्यहाँका जनताका लागि अगुवा मात्र नभएर ईश्वर नै थिए । पाँच वर्षपछि तिनै युवाले मुसोलिनी र उनकी प्रेमिकालाई बीच सडकमा उल्टो झुण्ड्याएर थुकेर इज्जत लिलाम गरिदिए । भ्रमको आयु छोटो हुन्छ । त्यसैले नेपालका सरकारी पदाधिकारीहरुले आदर्शका क्वीन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ । प्रधानमन्त्रीज्यू कम्तिमा भाषण लिखित गर्ने परिपाटी बसालिदिनुस् ।

 

 

जिन्दगीभर सामन्तवादको विरोध गर्नुभयो तर विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात गर्नुभएन । त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको पत्तै पाउनु भएन । त्यहाँ पुगेपछि अखिल, नेविसंघ, वाइसीएलको ठाउँ सेना, पुलिस, सशस्त्रले लिए । आफैंले आफैंलाई ठूलो बनाएको कानुनको धारा पढेर जथाभावी निर्देशन त दिनुभयो तर त्यो पालना गर्ने पियन, मुखिया, खरिदारलाई सन्काएर आफ्नो बुई चढाएको बिर्सनुभयो ।  लोभी, पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बन्न सकिदैन । एउटा जाबो रेसमी किरोले त वर्षौंसम्म मानिसको शरीर सुरक्षा गरेर कीर्ति कायम गर्छ भने विवेकवान मानिसले के गर्न सक्दैन ? सिंहदरबारमा जानेहरु रंगहीन, ढंगहीन भएर खुइलिएर जानुको रहस्य यही हो । इतिहास पढ्ने मात्र हो । सुधार्ने त वर्तमान हो । समकालीन नेताहरुले विश्वका कुनै आदर्श व्यक्ति नखोजी बीपी कोइरालालाई पढिदिए मात्र आफ्नो यात्रा कोर्न सजिलो हुन्छ ।

 

प्रधानमन्त्रीका रुपमा बीपी सफल नेता त हैनन तर राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक विषम परिस्थितिसंग जुधेर आफूलाई प्रजातन्त्रको रक्षक प्रमाणित गरेका कालजयी पात्र हुन् । भारत र चीनका विषयमा राजनीतिक रंग दिएर नेपालमा वर्षौंदेखि जुन झिँगेदाउ  खेल्ने गरिएको छ, त्यसको उत्तर उनको जीवनीबाट प्राप्त हुन्छ । त्यसो भएमा कुटनीतिक रुपमा काँडा नभएको बाटोमा यात्रा तय गर्न नेताहरुलाई मद्दत पुग्नेछ । यदि जनता आफू योग्य हुनुपर्छ भन्ने दम्भ पाल्ने हो भने मुसोलिनी बन्न धेरै समय पर्खन पर्दैन । अझ कलीमा त अनैतिक कामको परिणाम हातको हात, पातको पात देखिन्छ । शेरबहादुरको काँध चढेर छोरी मेयर बनाउने, ओलीको बोली उपयोग गरेर बुहारी मन्त्री बनाउने अनि समृद्धिको सपना देख्ने यो कस्तो दुई तिहाई ?

 

एकाध करोडमा न्यायाधीश, संस्थानका पद विक्रीमा राखिएका छन् । बहस गर्ने औकात नभएर जग्गा दलालीमा रमेका काला कोटेहरुलाई छानी छानी न्यायाधीश बनाइएको छ । यस्तो विषवृक्ष रोपेर गरिएको अमृतको अपेक्षा यो भन्दा चरम अर्को पाखण्ड के हुन्छ ? शेरबहादुर देउवाको भावी राजनीतिक तुरुप भनेको आरजु देउवालाई मूलधारे राजनीतिमा स्थापित गराउनु हो । सके आफू सभापति रहँदै पत्नीलाई महामन्त्री बनाउने हदसम्म उनी उत्रिए भने नौलो नमाने हुन्छ । यो घमण्डमा ठेस लागेन भने प्रधानमन्त्री ओलीले भान्से सम्मलाई एउटा कार्यकारी पद दिलाउने छन् । 

 

 

नेपालमा कम्युनिष्ट आन्दोलनको वर्ष जति पुग्यो, सोही अनुपातमा कम्युनिष्ट पार्टीहरु फुट्दै जानुको रहस्य पनि थेगिनसक्नुको बेइमानी नै हो । कुर्सीमा बसेकाले कुर्सी बाहिर रहे मध्ये जसलाई खतरा ठान्छ , उसलाई ‘गद्दार’ को क्याप्सुल ख्वाइदिएपछि त्यो बाटोमा सधैं अाफ्नाे मात्र गाडी गुडाउन पाइने आकांक्षाका कारण घात, प्रतिघात निरन्तर प्रक्रिया बन्दै आएको छ । नेपालमा मात्र किन ? कम्युनिष्ट नामभित्र छिरेका झुसिलकिराका कारण कम्युनिष्ट आन्दोलन विश्वमै मानमर्दनको श्रृंखला बन्दै आएको छ । वर्ग शत्रुका नाममा संसारमा लाखौं करोडौं मान्छे मारिएका छन् ।

 

अफगानिस्तानका कम्युनिष्टले सत्तामा जान राजा जाहिर शाहलाई हटाएर १५ लाख जनता मारे । ल्याटिन अमेरिकामा १ लाख मारिए । कम्बोडियामा १४ वर्षमा २० लाख मारिए । राजा नरोत्तम सिंहानुकलाई अपदस्त गरेपछि पोलपोटले नरसंहार आरम्भ गरे । पूर्वी युरोपका हंगेरी, पोल्याण्ड, अल्बानिया, पूर्वी जर्मनी, चेकोस्लोभाकिया र रुमानिया जस्ता राष्ट्रमा कम्युनिष्टको विरोध गर्ने १० लाख मारिए । किम इल सुङको शासनकालमा उत्तर कोरियामा कम्युनिष्ट विरोधी २० लाख मारिए । चीनमा माओका पालामा लालसेनाले ६ करोड ५० लाखको सफाया गरे । सन् १९१७ को जनक्रान्तिपछि त्यहाँ करिव २ करोड मान्छे मारेर ७० वर्ष शासन चलाइयो । राष्ट्रवादीको मृत्युलाई पहाडजस्तो गर्‍हौं र स्वार्थीको मृत्युलाई चराको प्वाँखजस्तै हलुका भनेर तुलना गर्ने माओत्सेतुङको राजनीतिक दर्शन अाफ्नाे देशमा खोटो सावित भएपछि ढाका टोपी लगाएर नेपाल भित्र्याइएको उनको छायाँलाई अवसरवादीहरुले पैसा छाप्ने मेसिन बनाए । भगवानसरह मानिने माओको रेडबुक नेपाल तरेपछि क्यासबुकमा परिणत भयो । 

 


भनिन्छ– नयाँ पात पुरानो पातसंग झर्न बनेको हुँदैन् । तर नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरु असमयमै ओइल्याएका छन् । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरुमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरु प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फुँदाे नभएर नैतिकताको अर्को नाम हो । हाम्रा नेताहरु महाराज यायातिजस्ता भएका छन् , जसले काम वासनामा तृप्त नभएपछि कान्छो छोरा पुरुको जवानी पैंचो लिएका थिए । कालान्तरमा ती राजा काम वासनाबाट थकित भए तर किमार्थ तृप्त भएनन् । 

 


अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्य चाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भएपनि समय चाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि उ संग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । छोरो पाइलट र बाउ हली छ भने अाफ्नाे  शिरमाथि उडेको जहाज फाटेको टोपीको फेरले पसिना पुछेर हेर्दै बाउ फुसफुसाउँछ रे– ‘मोराले उडाउन त उडायो तर अलि जानेन् ।’ यो जान्ने नजान्नेको दृष्टिकोण नभएर अभिभावकत्वको प्रष्फुटन हो । कसैको अंकुशविना सफल कर्म सम्भव छैन् । मानिसका जीवनमा दुख सुख त सिक्काको गाई र त्रिशुल हो । थालको भात दुख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मिठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरुपी दुखको पसल खोलेर बस्छन् । सुख र दुखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि अाफू मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुखको खाडल खन्ने औजार हो । 

 

नेपाली राजनीतिमा सवैभन्दा अपजसे पात्र खोज्नुपर्‍यो भने गिरिजाप्रसाद कोइरालाको नाम अगाडि आउँछ । एकताका भट्टेडाँडामा खसेको जहाजदेखि  जोत्दाजोत्दै मरेको गोरुको दोष पनि तिनै कोइरालाले झेल्नुपथ्र्यो । उनैको नेतृत्वमा आएको गणतन्त्रले पनि मानमर्दनको सिलसिला नियन्त्रण गर्न सकेन् । संविधानसभामा आएको भोटको उन्मादमा अाफ्ना बाउ समानका व्यक्तित्वलाई बाबुराम भट्टराईले अशिष्ट र भद्दा भाषामा भनिदिए– ‘असी वर्ष नाघेको एउटा बुढो राष्ट्रपति पद झर्ला र खाउँला भनेर बसेको छ । हामी उसको सपना किमार्थ पूरा हुन दिने छैनौं ।’ गिरिजाप्रसादलाई मुख छाडेको पाँच वर्ष नवित्दै यही धर्तीमा जिउँदा बाबुरामको नाममा किरिया कर्मसहित पिण्डदान गरेको छरपस्ट देखियो । उनीमाथि गाली र आक्रोस बेलगाम बन्यो । पहिला पो पाप धुरीबाट कराउँथ्यो । तर अहिले पाप वायुको गतिमा बग्छ । हरेक व्यक्तिको मन, मस्तिष्कमा सल्बलाउँछ ।

 

अमेरिकामा बसेर चिमोटेको नेपालमा दुख्छ । गिरिजाप्रसाद पाँचपटक प्रधानमन्त्री भए । विवादास्पद कागजमा कहिल्यै सही गरेनन् । तर ‘सुजाताले भनेको गरिदिनू’  नामको एकल उर्दीकै सामथ्र्यले गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईको राजनीति सधैंका लागि भित्तो लाग्यो ।