मुख्य समाचार

समाज

राजनीति

प्रदेश ३

‘प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र सारिए काठमाडौंमा नाकाबन्दी’ 

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

‘प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र सारिए काठमाडौंमा नाकाबन्दी’ 

हेटौँडा । प्रदेश नं ३ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताएका छन् । 

 

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौंमा नाकाबन्दी लाग्नसकिन्छ ।’ 

 

नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरुले हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताए । 

 

उनले भने, ‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ ।” हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौंमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ छ । 

 

नेता बानियाँले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नं ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताए ।