मुख्य समाचार

समाज

राजनीति

प्रधानमन्त्रीनिकट पत्रकार भन्छन्, ‘वामदेव टुरिस्ट उम्मेदवार’ 

बुधबार, २४ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

प्रधानमन्त्रीनिकट पत्रकार भन्छन्, ‘वामदेव टुरिस्ट उम्मेदवार’ 


काठमाडौं । सत्तारूढ नेकपाभित्र वामदेव गौतमको चुनाव लड्ने प्रस्तावले निकै हडकम्प सिर्जना गरेको छ । पार्टीका नेता ईश्वर पोखरेल, अर्का नेता भीम रावलले पनि गौतमको चुनाव लड्ने प्रस्तावको ठाडो प्रतिवाद गरेका छन् । 

 

 

एमाले र माओवादी केन्द्र एक हुनुअघि विभिन्न पार्टीका नेताहरूको गुटलाई प्रतिनिधित्व गर्ने सञ्चारमाध्यमहरू अहिले वामदेवविरुद्ध लाग्न थालेका छन् । वामदेव प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली मौन वा तटस्थ रहे पनि उनीनिकट सञ्चारमाध्यम भने गौतमविरुद्ध खनिन थालेका छन् । 

 

 


प्रधानमन्त्री ओलीनिकट एक पत्रकार नाम नलेख्ने शर्तमा भने, ‘रामवीर मानन्धरले राजीनामा दिएर काठमाडौं–७ बाट वामदेव गौतम निर्वाचन लड्ने समाचार सार्वजनिक भएपछिका सवै प्रतिक्रिया नकारात्मक आएका छन् । सम्भवतः यही नकारात्मक समाचारका बीचमा नेकपा सचिवालय वैठक समेत सारिएको छ ।’ 

 

 


उनको तर्क छ, ‘बर्दिया १ बाट पराजित गौतमलाई प्रतिनिधिसभामा लैजानका लागि भइरहेका यो चलखेलले सिंगो पार्टीको प्रतिष्ठा दाउमा लागेको छ ।  गौतम प्रतिनिधिसभा प्रवेश गर्दा र नगर्दाको भ्याकुम के हो भन्ने तार्किक जवाफ कसैले दिन सकेको छैन ।’

 

 


नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संसद्मा ‘देश डुब्न लाग्यो, किनारा लगाइदेऊ, माझी बचाइदेऊ’ भन्दै गुहार मागेजस्तै छन् । अर्का वरिष्ठ नेता झलनाथ खनाल आफूलाई पाखा लगाइएको भन्दै आक्रोशित छन् । त्यसमाथि वामदेव प्रकरण आएको छ । पाटीमा पदीय हिसाबले वामदेव वरिष्ठ नभएपनि सबैले वरिष्ठ भन्दा कम मानेका छैनन् । 

 

 

 


ओली निकटस्थ ती पत्रकारको भनाइ छ, ‘यस्तो बेलामा नेकपा र सरकारको चिन्ता देश र जनतातर्फ हुनुपर्ने हो । सरकारले अपेक्षित गतिमा काम गर्न नसकेको निष्कर्षमा वरिष्ठ नेताहरू पुगेको हो भने पनि पार्टी र सरकार बचाउन सहयोगी भएर प्रस्तुत हुनुपर्ने हो । तर त्यस्तो देखिएन । उल्टै निहित व्यक्तिगत स्वार्थलाई प्रधान बनाएको देखिँदैछ । 

 

 

त्यसमा पनि वामदेवका लागि काठमाडौं–७ मात्र होइन, नेपालको कुनै पनि निर्वाचन क्षेत्र खाली गराउने विषय वहसमा समेत आउन योग्य छैन । तर यो अब निर्णायक तहमा पुग्दैछ । रामवीरले छोड्लान तर काठमाडौंका ७ का जनताले वामदेव नरोज्न सक्छन् । 

 

 

 

किनकि संसदीय राजनीतिमा परिणामलाई प्रभावित पार्ने फ्याक्टर धेरै हुन्छन् । आफ्नै जिल्लाबाट हार्ने नेताले अर्को जिल्लाको पर्यटक भएर निर्वाचन कसरी जित्छन् ?’

 


उनले भने, ‘त्यसैले अब मूल प्रश्न नेकपा सचिवालय र वामदेवको हो । सचिवालयले वामदेवलाई निर्वाचन लड्ने अनुमति दिने निर्णय कुनै पनि हालतमा गर्नुहुँदैन । र, सबैभन्दा महत्वपूर्ण स्वयं वामदेव हुन् । उनले अलि अलि बचेको साख रसातलमा पु¥याउनु हुँदैन । 

 

 

 

सामाजिक सञ्जालमा आएका प्रतिक्रिया सम्भवतः वामदेवले पनि पढेका होलान् । राजकीय पदमै जाने वामदेवको हो भने पनि त्यसका लागि अरू विकल्प हुनसक्छन् । 

 

 

 

बरु त्यसतर्फ उनी लाग्नुपर्छ । र, आफैंले घोषणा गर्नुपर्छ, आम नागरिकको चाहनाको सम्मान गर्दै म कहीँ कतैबाट पनि चुनाव लड्दिनँ । देश विकासमा अरू जुनसुकै हैसियतमा सक्रिय भूमिका खेल्छु । आशा गरौं, वामदेवले यसो भन्नेछन् र इज्जत जोगाउने छन् ।’