भिडियो

मेरो परिवार मेरो कथा

शैलेन्द्रको सफल जीबनः तीन हजारको जागिर खान्थे, अहिले हजारौँलाई जागिर दिन्छन् (भिडियोसहित)

आइतबार, २३ पुष २०७४ गते मा प्रकाशित

shailendra-raj-giri-interview-nepalaaja

काठमाडौं । ‘क्षमता छ भने हामीकहाँ आउनुहोस्, जागिर लगाइदिने जिम्मा हाम्रो’ । विगत आठ वर्षदेखिको यो नाराले शैलेन्द्रराज गिरीको छवि रोजगारदाता र जागिर खोजी गर्नेहरुको बीचमा स्थापित भएको छ ।

सुरुवाती दौरमा स्थापित गर्न हम्मेहम्मे भएको यो नारा अहिले चौतर्फी फैलिएको छ । नारासँगै उनको जीवनको उद्देश्य पनि त्यसको वास्ताविकतासँग जोडिइसकेको छ । उखानै छ, ‘न्याय नपाए गोरखा जानू,’ । अब भन्नु पर्ने हुनसक्छ ‘जागिर नपाए मेरो जब डटकममा जानू ।’

अमेरिका सबैको सपनाको देश मानिन्छ । सपनामा त त्यो देश राम्रो पनि हुन सक्छ । भोगाइ त जस्तो पनि हुन सक्छ । वैदेशिक शिक्षाको लहर चलेको समयमा शैलेन्द्रलाई पनि रहर लाग्यो अमेरिका गएर एमबीए गर्ने । तर, भाग्यमा अमेरिका थिएन । उनको ‘भिजा रिजेक्ट’ भयो ।

जीवनको खुड्किला भर्खरै सुरु भएको थियो उनको । अमेरिका जाने सपना पूरा नभए पनि सपनाहरु त मस्तिष्कमा अनगिन्ती सजिन्थे । तसर्थ उनले डिग्रीलाई आफ्नै देशमा सदुपयोग गर्ने योजना बनाउन थाले । त्यसपछि सुरु भयो पैसा कमाउने र ठूलो मान्छे बन्ने सपनाको खेल । तर, शैलेन्द्रलाई त्यो सपना पूरा गर्न सोह्र वर्ष पापड बेल्नुपर्यो ।

भारतबाट बीबीए गरेर नेपाल आउँदा उनलाई कम्तीमा पनि दश हजारको जागिर खान्छु भन्ने थियो । तर, वास्ताविकता त्यस्तो भएन । विजय मोटर्समा उनले मासिक तीन हजार रुपैयाँमा काम पाए । तर, पैसाभन्दा ठूलो कुरा ज्ञान हुन सक्ने बुझाइका कारण उनले चित्त दुखाएनन ।

दामले उति पिरेको थिएन, जति काममा मन नबस्दा पिर्न थाल्यो । सेल्सम्यान हुँदा उनलाई सन्तुष्टि मिलेन । किनभने उनको ईच्छा त व्यवसाय गर्नु थियो ।

दुई वर्षपछि सेल्सम्यानको काम छोडेर आफ्नै व्यवसायमा हात हाले । ‘रोयल होम’ नामको कम्पनी दर्ता गरेर उनले व्यवसाय थाले । तर, सो व्यवसायले पनि उनलाई व्यथै निम्त्यायो । उनको २० लाख रुपैयाँ डुब्यो । मन डगमगाउन थाल्यो । आशा निराशामा बदलिने मोडमा पुग्यो ।

सँगैका साथीहरुले प्रगती गरिसकेका थिए । आफू ऋणमा डुबेपछि उनलाई मानसिक दबाब पर्न थाल्यो ।

‘सायद त्यही दबाबले आज यहाँ छु’ मुस्कुराउँदै उनले चियाको चुस्की लिए । कम्पनी घाटामा गएको र आफ्नो खल्तीमा पर्याप्त पैसा नभएको समयमा उनलाई एकजना काकाले महिनाको एक लाख तलबको जागिर प्रस्ताव गरे । उनले रातभरि सोचे । मलाई एक लाख दिने प्रस्ताव आएपछि मभित्र केही छ भन्ने लाग्या । अरुले एक लाख दिएर मलाई जागिर बनाएर फाइदा उठाउँछ भने म आफैँ किन त्यस्को सदुपयोग किन नगर्ने ? रातभरि मनमा खेलेको यही प्रश्न नै उनको जीबनको बैतरणी बन्यो ।

त्यही अठोट र विश्वासले जन्माएको हो ‘मेरो जब डट कम’ । जसकारण आज हजारौंले रोजगारी पाएका छन् । नेपालको पहिलो अनलाइन रोजगारी पोर्टल मेरो जब डटकम जागिरको गोदामका रुपमा परिचित छ, बेरोजगारका लागि त यो आशाको केन्द्र बनेको छ । योग्य कर्मचारी खोज्नेहरुका लागि यो भरोसा बनेको छ । रोजगारको यो सेतु बनेको छ । शैलेन्द्र रोजगार बजारका सतिसाल बनेका छन् ।

उनी तिनै शैलेन्द्र थिए जो आफ्नो डिग्री बोकेर अमेरिका जाने तयारीमा थिए । असफलताले पछ्याउँदा, मनमष्तिष्कमा पीडा र तनाव हुँदा पनि आफ्नो बाटोमा अघि बढ्ने प्रण गरेका थिए । आज त्यही प्रण नै धेरैका लागि उपयोगी सिद्ध भएको छ ।

काम गरेर खानेलाई केहीले पनि नरोक्ने र नछेक्ने विश्वास उनको छ । आजको यो सफलतामा रमाउँदै उनी भन्छन्, ‘बडो पुण्यको काम गरेंजस्तो लाग्छ ।’ आफ्नो क्षमतामा विश्वास भएकै कारण यो अवस्थामा भएको उनको दाबी छ । क्षमताप्रतिको विश्वास देखाउँदै उनले भने, ‘अमेरिका गएकै भए पनि म त्यहाँ केही न केही प्रभाव पारिरहेकै हुन्थें ।’