समाज

भिडियो

भ्यागुतो सहबासका लागि कराउने, मान्छे चाहीं पानी पर्ने ठानेर चियो गर्ने (भिडियोसहित)

आइतबार, २३ पुष २०७४ गते मा प्रकाशित

dr-janak-raj-khatiwoda-interview-nepalaaja

काठमाडौं । ‘भ्यागुत्ता करायो भने पानी पर्छ भन्ने गरिन्छ । तर, भ्यागुत्ता कराउँदैमा पानी पर्ने भने होइन । भ्यागुत्ताले पानी पर्ने समयमा बच्चा जन्माउँछ । त्यही मौसममा सहवासका लागि पोथीले भाले खोज्छ । जुन भ्यागुत्ता जोड्ले कराउँछ पोथीले त्यही भ्यागुत्ता आफ्नो लागि उपयुक्त ठान्छ । भालेले जोड–जोडले कराएर पोथीलाई आफूतिर आकर्षण गर्छ । यसरी सहवासको लागि जोडी चुन्ने क्रममा भ्यागुत्ता कराएको हो जुन पानी पर्ने मौसममा मात्र हुन्छ ।’

यो सब कुरा बताइरहँदा डा.जनकराज खतिवडाको मुहारमा चमक देखिन्थ्यो । उनको पढाइ नै विषय भ्यागुत्ताको नामाकरण गर्ने र काम भ्यागुत्ताबारे अनुसन्धान गर्ने । भ्यागुत्तालाई नाम दिने विषय जसलाई ‘इन्टेरोगेटिभ ट्याक्सोनोमी’ पनि भनिन्छ । उनले त्यही विषयमा उत्तरी छिमेकी राष्ट्र चीनको चाइनिस अक्याडेमी अफ साइन्सबाट पिएचडी गरेका छन् ।

भ्यागुत्ताको विषयमा कसरी इच्छा जाग्यो ?

जनक प्राणीशास्त्रका विद्यार्थी । उनीलगायतका साथीहरु स्तनधारी जनावरको अनुसन्धान गर्ने गर्थे । अध्ययनका क्रममा उनीहरुले विशेषगरि हिउँ चितुवा र अन्य स्थनधारी जनावरसम्बन्धी अनुसन्धान गर्नुपर्ने थियो । अध्ययनकै क्रममा उनका शिक्षक कर्णबहादुर शाहले भ्यागुत्ताबारे अनुसन्धान गरेको देखे । उनको पनि ध्यान त्यतैतिर खिचियो ।

जनकराजको घर चितवन जहाँ प्रचुर मात्रामा भ्यागुत्ता पाइन्थयो । पहिला–पहिला घरमा हुँदा भ्यागुत्ता देख्दा कुन प्रजाती होला भन्ने उनको मनमा हुटहुटी चल्थ्यो । समय बित्दै गएपछि उनलाई यसमै इच्छा जाग्दै गयो । चितवनमा जनावर हेर्नै पर्यटक आउँथे र आउँछन् । जनावरसम्बन्धी विषय पढ्यो भने यसमै राम्रो गर्न सकिन्छ भन्ने उनलाई लाग्यो । भ्यागुत्ताले खाद्यश्रंखलामा पनि सहयोग पुर्याउने हुनाले उनलाई यसमा इच्छा जाग्यो । त्यसकारण पनि उनी प्राणीशास्त्रका विद्यार्थी बन्न पुगे ।

खतिवडाकाअनुसार, भ्यागुत्ता वातावरणको मुख्य सूचक हो । यदि कुनै पनि पोखरी या नदीमा भ्यागुत्ता छैन भने त्यो पानी फोहोर छ भन्ने थाहा हुन्छ ।

तर, यसको फाइदाके त ? मानव जीवनमा देख्दै डरलाग्दो लाग्ने भ्यागुत्ताले के फाइदा हुन्छ ? यो प्रश्न जनकका सामू सधैं तेस्रिन्छ । उनको अनुसन्धानले पत्ता लगाएअनुसार भ्यागुत्ताले कृषि क्षेत्रमा धेरै लाभ पुर्याउन सक्छ । यसले रसायनको प्रयोगलाई पनि कम गर्न सक्छ । जस्तो धान फलेपछि त्यसलाई हानी गर्न विभिन्न किरा फट्यांग्रा लाग्ने गर्छन् । यसलाई भ्यागुत्ताले पूर्ण रुपमा नष्ट गरिदिन्छ । जसले गर्दा कृषिमा केही हदसम्म फाइदा हुन्छ ।

भ्यागुत्ता वातावरणसँग पनि प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । यसले आफ्नो छालाबाट श्वास फेर्ने हुँदा भ्यागुत्तो फोहोर ठाउँमा बस्न सक्दैन । फोहोरकै कारण काठमाडौंका कतिपय ठाउँहरुमा भ्यागुत्तो पाइदैंनन् । यसअर्थ, भ्यागुत्ताको संरक्षण गर्नु भनेको वातावरणको पनि संरक्षण हो । भ्यागुत्ताले वरपर भएका पोखरीको पनि संरक्षण गर्छ र वातावरण फोहोर हुन दिँदैन ।

भ्यागुत्ताको संरक्षण किन हुनुपर्छ ?

जनकराजले चितवनमा छ महिनासम्म भ्यागुत्ताले के कस्ता किरा खान्छ भन्नेबारे अनुसन्धान गरे । बुझ्दै जाँदा त त्यसले धानलाई नोक्सानी गर्ने किराहरु खाएको भेटे उनले । भुसुना, झिंगा, लाम्खुट्टे पनि खाएको भेटे । भ्यागुत्ता र लाम्खुट्टेले एउटै ठाउँमा अण्डा पार्छन् । भ्यागुत्ताको मुख्य आहारा नै लामखुट्टेको लार्भा हो । जसले गर्दा भ्यागुत्ताले लामखुट्टे आउन पनि रोकिदिन्छ र घर वरिपरि भ्यागुत्ता भए लामखुट्टे आउँदैन । .भ्यागुत्ताले मानवलाई नोक्सानी केही नगर्ने हुँदा यसका नकारात्मकभन्दा सकारात्मक पक्ष नै सबल भएको उनले बताए ।

यसवाहेक भ्यागुत्ताका अन्य धेरै फाइदा छन् । भ्यागुत्ताले हाम्रो वातावरणको इकोसिस्टममा पनि ठूलो भूमिका खेलेको हुन्छ । माछा, छेपारो, सर्प, चरा र अन्य स्तनधारी जनावरहरुको मुख्य आहारा भ्यागुत्ता नै हो । भ्यागुत्ता नै नरहँदा ती जनावरहरुलाई बाँच्न गाह्रो हुन्छ ।

औषधीको लागि पनि उपयोगी भ्यागुत्ता

भ्यागुत्ताका प्रजातीमध्ये ‘पा’ नाम गरेको भ्यागुत्तामा ‘मेडिसिनल राय’ भएको खतिवडाले बताए । नेपालका कतिपय ठाउँमा त्यस भ्यागुत्तालाई सुकाएर सुत्केरीलाई खुवाउँछन् । पा भनेको मासु हो र भन्ने प्रोटिनको स्रोत हो । जसले गर्दा सुत्केरीलाई शक्ति दिन्छ । यसबारे कतै–कतै वैज्ञानिक अनुसन्धान पनि भएको छ । कतिपयले ‘एमोलोप्स’ भन्ने भ्यागुत्ताको छाला काटेर घाउमा पनि टाँस्छन् । त्यसमा भएको पदार्थले घाउ पनि निको हुने भनिन्छ । केही निश्चित समुदायका मानिसमा भ्यागुत्ताबाट हुने औषधी उपचारबारे राम्रो छाप परेको छ ।

त्यही प्रजातीको भ्यागुत्ता (पा) खोज्न जनकराजको टोली संखुवासभा र पाँचथर पुगेको थियो । तर, मानव वस्तीको पाँच किलोमिटरसम्म पनि उनीहरुले पा पाउन सकेनन् । कारण, विभिन्न औषधीको प्रयोग हुने भएकाले त्यसलाई भेट्टाउन धेरै मुश्किल पर्ने रहेछ ।

नेपालको वन्यजन्तुमा भ्यागुत्तालाई कुनै पनि महत्वमा नराखिएकोमा खतिवडा दुखी छन् । नेपालका भ्यागुत्ताहरु हामीले पहिचान नै गर्न नसकेको उनको दाबी छ ।

यसवाहेक पनि नेपालका विभिन्न विधामा अनुसन्धान नै नभएको भन्दै उनले भने, ‘भारत र चाइना यस्तो अनुसन्धानको क्षेत्रमा धेरै अघि बढिसकेका छन् । तर, हामीमा पर्याप्त सुविधा छैन जसले गर्दा ‘स्टडी’को हिसावले हामी उनीहरु भन्दा निकै पछि छौं । अन्य कति मुद्दा मिल्न बाँकी छन् जसल ेगर्दा पनि यतातिर ध्यानाकर्षण नभएको हुन सक्छ ।’

आर्थिक सहयोग कताबाट आउँछ ?

खतिवडाकाअनुसार विशेषगरि भ्यागुत्ताको अनुसन्धानबारे पढ्न या काम नै गर्न पनि त्यत्ती इच्छुक कोही पनि देखिदैँनन् । झन हाम्रो देशमा यसको लागि आर्थिक सहयोग पाउने त परको कुरा । यसको लागि उनलाई चानिज अक्याडेमी अफ साइन्सले अनुसन्धानको खर्च र तलब दिँदै आएको छ । यसमा आर्थिक पाटो सबल नभएको र साधनस्रोतको अभावको कारण पनि यस विषयमा कमै मानिसको चासो भएको उनले जनाए ।

जनकलाई समाजमा पनि पढाईकै कारण असजिलो महशुश हुन्छ । कसैले फ्याट्ट के पढेको भनेर सोधे भने उनी अकमक्क हुन्छन् । भ्यागुत्ताबारे अनुसन्धान भन्यो भने मान्छे गललल्ल हाँस्छन् । कसैले भ्यागुत्ता बेच्ने मान्छे पनि भन्ठान्छन् । अनुसन्धानको लागि भ्यागुत्ता खोजेको भन्दा खिसी गर्छन् ।

अबको दिनमा नेपालमा कति प्रजातीका भ्यागुत्ता छन् र त्यसको बनावट, आवाज, डिएनएका आधारमा भ्यागुत्ताका प्रजाती छुट्याउने उनको उद्देश्य छ ।