खेल

एपीएफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश

शनिबार, २२ पुष २०७४ गते मा प्रकाशित

nepali football

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै एपीएफले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

पहिलो हाफमा सहाराले पेनाल्टीको अवसर पाएपनि गोल गर्न नसक्दा जित निकाल्न सकेन । खेलको २१ औं मिनेटमा सहाराका विनोद गुरुङले गरेको पेनाल्टी प्रहार गोलपोस्टको दायाँ किनाराबाट बाहिरिएको थियो ।

पहिलो हाफ र दोस्रो हाफमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई सशस्त्रका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टिमलाई दोस्रो चरणमा र्पुयाए । उनले खेलको ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत् आइतबार एमजी संकटा क्लब काठमाडौं र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।