मेरो परिवार मेरो कथा

अनि भए कृष्णमुरारी चट्याङमास्टर

बिहिबार, २० पुष २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

अनि भए कृष्णमुरारी चट्याङमास्टर

सपनाले मान्छेलाई डोहोर्‍याउँछ या मान्छेले सपनालाई रु यो प्रश्न बडो गम्भीर छ । जे होस्, सपना पूरा नगर्दै मान्छे बीच बाटोमै छुट्न सक्छ । अनि, छुट्न सक्छ, जीवनसँगै यात्रारत सपना ।

जीवनको सुभारम्भमा मस्तिष्कले पक्डिएको अनेक प्रकारका सपनाले कतिपयलाई सफल बनाइदिन्छ । तर, कतिपय उद्देश्य नै परिवर्तन गरेर अर्कै सपनामार्फत सफलता चुमेका उदाहरण छन् । दोस्रो उदाहरणसँग मिल्ने एक पात्र हुन्, हास्यव्यंग्यकार कुष्णमुरारी गौतम अर्थात् चट्याङ मास्टर ।

हुन त कलिलो मस्तिष्कले मास्टर बन्ने रहर बुनेको रहेछ । त्यसवेलाको कालोपाटीमा सेतो चक कुदाएर ज्ञान बाँड्ने मास्टर उनलाई खुब मन पथ्र्यो रे १ मास्टर बन्ने सपनामा दौडिँदै गर्दा उनले कहिल्यै पढ्न अल्छी गरेनन् । तर, स्कुले मास्टर बन्ने धोको बोकेका उनी जीवन गतिसँगै मास्टर त बने, तर ‘चट्याङ मास्टर’ ।

यी मास्टरको नामले खुब वाहवाही पाएको छ । सबैले चिन्ने यही नाम उनलाई पनि प्रिय लाग्छ, आजकाल । भन्छन्, ‘जीवनमा आफूले जे कमाएँ, यही नामबाट । त्यसैले, प्रिय लाग्छ, मलाई ।’

६४ वर्षअघि भक्तपुरमा जन्मिएका उनलाई हजुरआमाले नाम राखिदिइन्, कुष्णमुरारी । जागिरको सिलसिलामा भारतमा रहेका बाबुसँगै बसेर अध्ययन अघि बढाएको सम्झना ताजै छ, उनको दिमागमा । औपचारिक शिक्षा नेपाल, भारत, अमेरिका, चीन, फिलिपिन्स, अस्ट्रेलियाबाट अघि बढाएका उनको नाम पनि पढाइमा देश बदलेजस्तै बदलिँदै गयो । हजुरआमाले राखिदिएको कृष्णकुमारी नाम बज्रपाणी हुँदै चट्याङ मास्टरसम्म रहन पुग्यो । अध्ययनलाई दौडाए, नामलाई दौडाए र कामलाई पनि उत्तिकै ।

नेपालको पञ्चवर्षीय योजना स्वदेशी विज्ञहरूले नै लेख्न आरम्भ गर्ने ‘पहिलो ब्याच’का कर्मचारी हुन्, उनी । २५–२६ वर्षको उमेरमा उनी देशका योजनाहरू कोर्थे । तर, काममै घोत्लिएर अगाडि बढ्न उनी यसकारण सकेनन् कि उनी चियागफ गरेर बढीजसो समय बिताउने कर्मचारीको हुलमा मिसिए । भन्छन्, ‘राष्ट्रिय योजनाका विषय, पञ्चवर्षीय योजना निर्माण गर्नेजस्तो गम्भीर जिम्मेवारी पाएका कर्मचारीले कामै नगरेको मैले पाएँ । गफगाफ गरेर दिन बिताउने प्रवृत्तिबाट म सन्तुष्ट थिइनँ । तर, पनि साथीभाइसँगै चियागफ गरिरहँदा मेरा कुरा सुनेर उत्साहित साथीहरूले पत्रपत्रिकामा लेख लेख्न उत्साहित गरे । अनि गफ लगाउने दुनियाँमा प्रवेश गरेँ ।’ व्यंग्यात्मक शब्द पत्रिकामा छाप्न थालेपछि उनले कृष्णमुरारी नाम बदलेर बज्रपाणी जुराए ।

उनले लेख रचनामार्फत सामाजिक परिवेश, समाज परिवर्तन गर्छु भन्ने सोच निकै पछि मात्र राखेछन् । आफूले अँगालेको हास्यव्यंग्य दुनियाँलाई सुरु–सुरुमा गफको दुनियाँका रूपमा बुझ्थे, उनी । भन्छन्, ‘योजना निर्माण गर्नेजस्तो गम्भीर जिम्मेवारीमा म हुँदा कसैले प्रशंसा गरेन । पत्रपत्रिकामा मैले हास्यव्यंग्य लेख, टिप्पणी तथा कविता लेख्दा भने सबैले तारिफ गर्न थाले । सुरुसुरुमा त गफैगफजस्तो लाग्थ्यो ।’

त्यसैले त, कृष्णमुरारी नाम राख्न डराएरै पत्रिकामा बज्रपाणी नाममा लेख छपाउँथे । के हास्यव्यंग्य कलाकारिता गफैगफको दुनियाँ हो त रु उनी अस्वीकार गर्छन् । उनले सामाजिक गतिविधिमाथि टिप्पणी तथा व्यंग्य लेखन प्रारम्भ गर्दाताका हास्यव्यंग्यमार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोचाइ र अभियान कमैको थियो ।

नेपालको विकासको क्रम तथा यहाँको व्यवस्थापन सुधार्न आवश्यक छ भन्ने आशययुक्त व्यंग्यात्मक लेख उनले २७ वर्षको उमेरमा लेखेका थिए । पत्रिकामा छापिएपछि उनले धेरै शुभचिन्तक पाए । धेरैले उनको तारिफ गरे । उत्साहित बज्रपाणीले एकपछि अर्को लेख मिडियामा पुर्‍याइरहे ।

साहित्य लेखनको सुरुवातमा उनले आफ्नो नाम बज्रपाणी राखे । उनलाई आफूले लेखेका लेख, रचना गफ मात्र लाग्थ्यो । त्यसैले वास्तविक नाम लुकाएका थिए । तर, बज्रपाणीबाट धेरैको वाहवाही पाउन थालेपछि यही नाम प्रिय लाग्न थाल्यो ।

विडम्बना १ उनलाई नै प्रिय बन्दै गएको नामप्रति तत्कालीन व्यवस्था पक्षधरको आँखा लाग्यो । उनी भन्छन्, ‘अहिलेझैँ त्यसवेला बडाहाकिम, नेता तथा कर्मचारी रक्सी बढी खाने, विदेश घुम्ने गरिरहन्थे । विदेश बस्दा हाकिमहरूले कतिसम्म दुस्चरित्र देखाउँछन् भनेर मैले लेखेको थिएँ । मेरो लेखको सीधा प्रहार राजसंस्थामाथि प¥यो । अनि, ममाथि जाइलाग्नेहरू बढ्न थाले ।’ सो कुराले राजसंस्थामाथि प्रहार भयो भनेर ममाथि जाइलाग्नेहरू बढ्न थाले ।’

त्यो समयमा तत्कालीन युवराज दीपेन्द्र शाह पढाइको सिलसिलामा लन्डनमा थिए । दीपेन्द्रले लन्डनमा ‘अरूमाथि दुव्र्यवहार गरेको’लगायतका खबर विभिन्न अखबारमा बाहिरिएका थिए । बज्रपाणीबाट चट्याङ मास्टर हुनुपरेको समय सम्झिँदै उनी सुनाउँछन्, ‘मलाई राजसंस्थाबाट लिनु र दिनु केही थिएन । कतिपय बडाहाकिम, नेतालगायतले विदेश गएपछि श्रीमतीलाई साडी किनेर ल्याइदिनैपर्ने तथा रक्सी खानैपर्ने, दुस्चरित्र देखाउनैपर्ने भन्ने मानसिकता राख्थे । सोही सोचाइप्रति मैले लेखेको लेख निकै चर्चित भयो । तर, राजसंस्थाविरुद्ध लेखियो, युवराज दीपेन्द्रविरुद्ध लेखियो भनेर मलाई धम्की दिनेहरू देखिए ।’

के चट्याङ मास्टर त्यो धम्कीबाट डराउने डरपोक थिए रु उनले त्यो वेलाको प्रसंग कोट्याइरहँदा मेरो मनमा प्रश्न उब्जिनु स्वाभाविक थियो । हास्यकवि न परे, भनिहाले, ‘सन्तानको शरीर भनेको बा–आमाको सम्पत्ति हो । मेरो ज्यान पुलिसको लात्तीमुंग्रा बजार्नका लागि थिएन । यसरी म असुरक्षित भएको महसुस गरेपछि लेख्नै छाडिदिएँ ।’

वाकपटुतामा निपुण चट्याङ मास्टर बोल्दै गए– त्यसवेला राजसंस्था, पञ्चायत व्यवस्थाविरुद्ध कसैले बोल्यो कि पुलिसको लात्ती खानुपर्ने, झ्यालखाना जानुपर्ने हुन्थ्यो । मलाई त्यहाँसम्म पुग्नु थिएन । त्यही भएर लेख्नै छाडिदिएँ ।

त्यसपछि के भयो रु जिज्ञासा बढाएँ । उनले पनि हौसिँदै सुनाए, ‘एक–डेढ वर्ष लेखिनँ । तर, लेख्ने लतमा परिसकेको थिएँ । के लेखौँ, कसरी लेखौँ भइरहन्थ्यो । अनि, फेरि नाम बदलेँ । चट्याङ मास्टरको नामबाट लेख्न सुरु गरेँ । तर, पहिलेको नामसँगै तालमेल हुने नाम थियो, यो पनि । बज्र अर्थात् चट्याङ, पाणी अर्थात् मास्टर ।’

सुरुसुरुमा उनलाई चट्याङ मास्टर नामले पनि डर दिइरह्यो । कारण, बज्रपाणी भनेको चट्याङ मास्टर नै हो भनेर अरूले थाहा पाउन के बेर रु यो कुराले सशंकित चट्याङ मास्टरले एउटा कहानी सम्झिए, ‘पछिल्लो नामबाट पनि म ढुक्क थिइनँ । एकजना साथीले बज्रपाणी भन्ने नै चट्याङ मास्टर हो भनेर थाहा पाउन्जेल त नेपालबाट पञ्चायत व्यवस्था नै हट्छ भनेर सम्झाए । म यसमा सहमत भएँ, अनि यही नामबाट लेखनलाई निरन्तरता दिएँ ।’

बज्रपाणी नामले ०३६ सालतिर लेख्दै गर्दा उनले गद्यमा आफ्ना व्यंग्यात्मक विचार पोख्थे । चट्याङ मास्टरको नामबाट लेख्दा पद्यमा लेख्न थाले । कारण– बज्रपाणी र चट्याङ मास्टरको लेखन शैली एउटै नहोस् ।

सुरु–सुरुमा लेख्दा उनले राजनीति नबुझेरै लेखे । तर, सामाजिक विषयवस्तुमा कलम बढी चलाए । बिस्तारै राजनीति बुझ्दै गए र उनले सिंहदरबारलाई समेत आफ्ना व्यंग्यात्मक टिप्पणीमा उतार्न थाले । तर, आफूलाई सामाजिक परिवेश र जीवनशैलीमाथि नै लेख्न रुचाउने लेखकका रूपमा लिन्छन् । भन्छन्, ‘मैले लेखन प्रारम्भ गर्दै गर्दाका हास्यकवि कलाकारले कि सिंहदरबारभित्रको कि त कट्टुभित्रको मात्रै कुरा लेख्थे । सामाजिक परिवेश, दैनिकी तथा घरआँगनकै पात्र र चरित्रको पनि त लेख्न सकिन्छ नि भन्नेमा म लागिरहेँ ।’

लेखन कर्म अघि बढाइरहँदा कहिले कस्को जस, त कहिले कसको अपजस सहिरहनुपर्‍यो, चट्याङ मास्टरले । उनको दिमागमा लेखनकार्यका कवि कलाकार किन संगठित नहुने भन्ने सोच आयो । अनि, उनकै सोचमा जन्मियो, सिस्नुपानी । आफू संस्थापक अध्यक्ष रहेर ०५५ मा सिस्नुपानी नेपाल स्थापना गरे । राजनीतिक र सामाजिक व्यंग्य हान्न यो संस्था अहिले पनि क्रियाशील र चर्चित छ ।

उनले यति मात्रै गरेनन् । नेपालमा बढ्दो सूचना–प्रविधिको प्रयोग गर्दै आमबस्ती तथा आमजनतालाई सुसुचित तथा चेतनशील बनाउनुपर्छ भन्नेतिर गम्भीर भए । सधैँ हसाउन र चोटिलो लेख लेख्न मात्र उनी सीमित भएनन् । टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामा निरन्तर आफूलाई उभ्याइरहे । कहिले टेलिभिजनबाट कार्यक्रम गर्ने, कहिले रेडियोमा बोल्ने त कहिले पत्रपत्रिकामा लेख्ने । सोहीक्रममा आफैँ संस्थापक अध्यक्ष भएर स्थापना गरे, एन्टेना फाउन्डेसन नेपाल । ‘मुलुकभर छरिएका सञ्चारमाध्यमलाई गुणस्तरीय तथा सामाजिक परिवर्तन, विकास बोल्ने तागत बोक्ने कार्यक्रम उत्पादन गरेर दिने सोच बनायौँ र मसहित केही साथीहरू मिलेर यो संस्थाको सुरुवात गर्‍यौँ,’ सुनाए ।

अचम्म त यो छ कि उनी आजभोलि साहित्य लेख्छन्, तर मायाप्रेम र बालसाहित्य मात्रै होइन । आजकाल ज्येष्ठ नागरिक साहित्य लेखन अघि बढाइरहेका छन् । ‘एजिङ नेपाल’ नामक गैरसरकारी संस्था खोलेर उनी ज्येष्ठ नागरिकको हकहितको पक्षमा बोलिरहेका छन् । बत्तिसपुतलीस्थित आफ्नै घरलाई कार्यालय बनाएर उनी ज्येष्ठ नागरिकको विषयमा लेखिरहेका, बोलिरहेका छन् ।

पछिल्लो १० वर्षदेखि उनी ज्येष्ठ नागरिकलाई कसरी स–सम्मान बाँकी जीवन जिउने वातावरण बनाउन सकिन्छ भन्नेमै व्यस्त छन् । भन्छन्, ‘हामीले बालसाहित्य लेख्यौँ, मायाप्रेमको साहित्य लेखेर युवाको मन जुरुक–जुरुक उचाल्यौँ । मनमस्तिष्कलाई प्रफुल्लित बनायौँ । तर, अब ज्येष्ठ नागरिक साहित्य लेख्नुपर्छ । किनभने वृद्धवृद्धालाई सधैँ हरेराम हरेकृष्ण भन्न लगाएर वा कुनै धार्मिक ग्रन्थको पुस्तक थमाएर मात्र हुँदैन ।’ गफगाफ टुंग्याउँदै गर्दा उनले ज्येष्ठ नागरिकबारे लेखेको कविता सुनाए 

आऊ साथी बुढो होऊँ कुप्रिएरै भए पनि
हालौँ नयाँ नयाँ दाँत पुराना सब गए पनि
बुढो हुन सजिलो छ, जो पनि हुन सक्दछ
अरू केही गर्नुपर्दैन, नमरे मात्र पुग्दछ ।

–नयाँ पत्रिका दैनिकबाट