बिचार / ब्लग

पार्टी एकतामा एमालेसँग कि माओवादीहरु बीच ?

केदारनाथ नेपाल (निश्चल)

बिहिबार, २० पुष २०७४ गते मा प्रकाशित

Kedarnath-Nepal

असोज १७ गते एमाले नेतृत्वको वाम गठबन्धनले निर्वाचनमा माओवादीलाई ४० प्रतिशत हिस्सा दिने सहमति गर्दै दुई पार्टी सँगै निर्वाचनमा होमिएका थिए । निर्वाचन पश्चात् पार्टी एकिकरण गर्ने विश्वास जनता र आफ्ना कार्यकर्तालाई दिलाउदै निर्वाचनमा होमिएका उनिहरुले निर्वाचनमा सफलता पनि हाँसिल गरे । त्यस राजनीतिक दृश्यले देश भित्र र बाहिर भूँइचालो नै गएको थियो । गठबंधन बाट सुरु भएको एमाले माओबादीको यात्रा पार्टी एकता सम्म पुग्नेमा भने अहिले अन्योलता छाएको छ । यदि अहिलेको गठबंधन सफल भएमा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास सुनौलो अक्षरले लेखिने पक्कापक्की छ । तर, वाम गठबन्धन पार्टी एकतासम्म नपुगी विचमै तुहियो भने त्यो पनि इतिहास बन्ने नै छ, कस्तो बन्छ भन्ने गठबन्धनधारीलाई जगजायरै होला ।

नेपालमा कमिन्यूष्टहरु मिलेर बस्न सक्दैनन् । बेला–बेला कमिन्यूष्ट पार्टीभित्र भएको टुट र फुटले पनि यसलाई पुष्टि गरिदिएको छ । २००६ सालमा पुष्पलालले भारतको कलकत्तामा रहेर गठन गरेको नेपाल कमिन्यूष्ट पार्टीको नाम बाट खोलिएका पार्टी मात्र कुनै समय नेपालमा करिब एक दर्जन पुगिसकेका थिए । यसपटक एमाले माओबादी लगायत अन्य दलको एकताले त्यसलाई कम गर्ने कोशिस समेत गरेको छ । जनमतको हिसाबले पानि नेपालमा करीब ७० प्रतिशत मत कमिन्यूष्टको पक्षमा छ । तर कमिन्यूष्ट पार्टीभित्र बेला बेलामा भैरहने टुट फुटले पनि उनीहरुले बहुमतको दीर्घकालीन सरकार निर्माण गर्न सकिरहेका थिएनन् । तर यसपटक उनिहरुलाई स्थिर सरकार निर्माण गर्ने अवसर पनि छ ।

यसपटक बाम एकताको रटान लगाएर माओबादीले आफ्नो इतिहास पुर्ण रुपमा मेटाएर पार्टीलाई एमालेकरण गर्दैछ, भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित जबज लाई रद्विको टोकरीमा मिल्काएर ओलीबादलाई स्थापित गर्ने कोशिश पनि गर्दैछ ।

निर्वाचन अघि नेपाली राजनीतिक इतिहासमा माओवादी– एमाले गठबन्धन कमिन्युष्ट एकताको केहि बलिया आधार सहित अगाडि आएको थियो । तर, निर्वाचन पश्चात् शक्ति सन्तुलनको बिषयलाई लिएर पार्टी एकताको बिषयमा बिस्तारै पिकअप कम हुदै गएको आभाष भैरहेको छ ।

हुनत संविधान जारी भएसँगै माओवादी – एमाले गठबन्धनको संयुक्त सरकार बनेको थियो । त्यतिबेलै पनि प्रचण्ड र ओली बीच तत्कालको लागि आलोपालो सरकारको नेतृत्व गर्ने र भविष्यमा पार्टी नै एकता गर्ने भन्ने सहमति भएको समाचार बाहिरिएको थियो । तर, एमाले अध्यक्ष ओलीको राजनीतिक बेईमानीका कारण उक्त गठबन्धन एक बर्ष पनि टिक्न सकेन ।

वाम एकताको बिषयमा पर्याप्त छलफल र गृहकार्य बिना आश्चर्यजनक रुपमा एक्कासी एकताको हल्ला चलाईएको छ । आ९आफ्नो स्वार्थको लागि चुनावी एकता त भयो तर, को शक्तिमा रहने भन्ने बिषयलाई लिएर पार्टी एकता हुनेमा भने पूर्ण शंका नै रहेको छ ।

हुन त नेपालमा कमिन्यूष्ट पार्टीभित्र एकै दलका नेताहरु पनि आपसमा मिलेर बस्न सकेको देखिदैन । पार्टी एउटा भएपनि त्यसभित्र गुट र उपगुटहरु छन् । त्यसमा पनि दुई ठुला प्रतिस्पर्धी दल एमाले माओवादी वीचको गठबन्धन पनि लामो समय टिक्नेमा शंका नै छ । दुई दलबीचको शक्ति सन्तुलन, सांगठनिक संरचना, कार्यदिशा र पदीय भागभण्डा जस्ता बिषय पार्टी एकिकरणको लागि बाधक बन्ने देखिन्छ । अझ त्यसमा पनि माओवादीले त दश बर्षे जनयुद्वको गर्विलो इतिहास बोकेको छ । दश बर्षे युद्वलाई उसले जनयुद्व ठान्छ । एमालेले जनयुद्वलाई हिंसात्मक गतिविधि भन्दै आईरहेको छ । यहि पनि एउटा कारण हुनसक्छ अर्को कारण भनेको बाहिर जे बोले पनि एमालेले संघीयता, धर्मनिरपेक्षता समावेशी समानुपातिकता जस्ता महत्वपूर्ण परिवर्तनलाई भित्र देखि स्वीकार गरेको छैन । अझ एमाले र पूर्व राजा वीच बेलाबेलामा गोप्य भेटवार्ता हुँदै आएको चर्चा पनि सुनिन्छ । त्यसकारण, व्यक्तिगत स्वार्थको लागि चुनावी भएपनि पार्टी एकता हुनेमा गम्भीर शंका छ ।

इतिहास हेर्ने हो भने एमालेले बिभिन्न समयमा अन्य दलहरुलाई धोका दिँदै आईरहेको छ । अर्थात धोकाको अर्को नाम एमाले भन्दा हुन्छ । स्पस्ट रुपमा भन्दा पशुपति प्रकरण र सेनापति प्रकरणमा एमालेले माओवादीलाई धोका दिएकै हो । अझ ओली सरकार निर्माणको समयमा एमालेबाट माओवादीलाई भएको धोका ताजै छ । त्यसकारण यसपटकको सहमति पनि पालना हुने बलियो आधार नै देखिदैन ।

दुई तिहाई मत रहदाँ रहँदै पनि विभिन्न टुक्रामा विभाजित बामपन्थी शक्तिहरु एक हुनु पक्कै पनि देशको लागि भने शुभ संकेत हो ।

सँगै जनयुद्व लडेर माओवादी पार्टीलाई एउटा ऊचाईमा पुर्याएर छुट्टै पार्टी गठन गरेका बैध, बिप्लव र बाबुरामसँग माओवादी केन्द्रको एकता हुन नसक्ने तर, द्वन्दकालदेखि नै एक अर्काका राजनीतिक शत्रु र शान्ति प्रकृयाका एक अर्काका राजनीतिक प्रतिस्पर्धामा रहेको एमालेसँग एकता प्रस्ताव आउनुले माओवादीका आम कार्यकर्ता आश्चर्यमा परेका छन् । त्यो सँगै यसअघि पटक–पटक पार्टी विभाजित हुँदा वैद्य, विप्लव र बाबुरामलाई दोषी देख्ने कार्यकर्ताले समेत यसपटक बाम एकताको बिषयलाई लिएर प्रचण्डमाथि नै गम्भीर शंका गर्न थालिसकेका छन् । कि, प्रचण्ड कुनै अदृश्य शक्तिद्वारा परिचालित त छैनन् रु

शान्ति प्रकृयामा आउदै गर्दा नेतृत्वले गल्ती गरेकै हो । र यसपटक वाम एकताको नाममा आफ्नै इतिहास मेटाउने ठुलै गल्ती गर्दैछ माओवादी नेतृत्वले । २०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गरे । त्यहीबाट माओवादीको इतिहास मेटाउने काम शुरु भयो । संसदीय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदीय व्यवस्थालाई नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्थ्यो । त्यसै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्यदिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढी संख्या रहेको संविधानसभालाई माओवाीदीकै सरकार रहेको बेलामा बिघठन गराईयो ।

कमिन्यूष्टहरुवीच एकता हुनुपर्छ । तर, यहाँ पार्टीले आम कार्यकर्ताको भावना विपरित हतारमा निर्णय गरेको माओवादी कार्यकर्ताको आरोप छ । उनिहरु चाहान्छन् एकता एउटै पार्टीमा रहेर राज्यको ज्यादती बिरुद्वसँगै जनयुद्व लडेका बैद्य, बिप्लव र बाबुरामहरुसँग होस् । प्रतिगामिको मतियार एमालेसँग होईन । यसपटक बाम एकताको रटान लगाएर माओबादीले आफ्नै इतिहास पुर्ण रुपमा मेटाएर पार्टीलाई एमालेकरण गर्दैछ । यो बाम एकता होईन बरु माओबादीको जनयुद्व र जनयुद्वका शहिद, अपाङ्ग र जनताप्रतिको धोका र गद्वारी हो ।