कला साहित्य

‘बिबाह’ एक अप्रिय सपना

आना शर्मा

शनिबार, १३ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

‘बिबाह’ एक अप्रिय सपना

योजना थिएन बिहे गर्ने । बाबु–आमाले कर गरे । बाध्यता पर्याे । तीन महिनाको छुट्टि थियो । यताउता गर्दा गर्दै एक महिना बितिसकेको थियो । घरकालाई भन्दा पनि बाहिरकालाई चासो बढी । छोड्दै छोडेनन् । केटी हेर्न जानुपर्याे ।

 

केटीको यति गुणगान गाए सुन्दै झर्काे लाग्ने । ठूला मान्छेको मान राख्न पनि जानै पर्ने बाध्यता थियो । पहिलो दिन यतिकै कुरा बुझ्ने, केटालाई मन परेपछि मात्र खबर गर्ने सल्लाह भयो । म मौन रहेँ । उनीहरूले मौनता स्वीकृति सम्झे त्यसै अनुसार केटीको घरमा पुग्यौँ । हेरेको चौँथो दिन केटी अर्कै केटासँग भागिछ । साथीहरूको समुहमा हाँसोको पात्र बन्न पुगेँ म ।

 

फेरि अर्की केटी हेर्न जाने भनेर आफन्तको खबर आयो । जान्न भन्दा घरमा झगडा पनि भयो । अनेक कुरा सुनाउन थाले । मर्नु भन्दा बहुलाउनु नै बेस् ठानेर केटी हेर्न गएँ । केटी देखाउनेले यो पटक केही भनेनन्, गएपछि सबै थाहा हुने बताए । केटीको घरमा पुगियो । पहिल्यै खबर गरेको भएर होला सबै तयारी भइसकेको रहेछ ।

 

केटी राम्रै लाग्यो । ‘प्लसटू’ गरेकी, आफू एसएलसी कटाउन नसकेर विदेश छिरेको । घर सबै यसैको भरमा चलेको, शिलस्वभाव पनि राम्रो, श्रीमानको राम्रो ख्याल राख्न सक्ने, यताउता लप्पनछप्पन केही नभएकी भन्दै केटीका बाआमाले तारिफ गरे । सुन्दा ठीकै लाग्यो । एक पटक गर्नु नै छ भने यसैसँग किन नगर्ने त !

००

साथीहरू विदेशमा काम गर्दा बिहेपछिका अनेक कहानी सुनाउँथे । मन–मनै बिहे गरौँ–गरौँ हुन्थ्यो । नेपाल आएपछि भने सोच्न बाध्य भएको थिएँ । एक मनले बिहे गरेरै जाउँ भन्थ्यो, अर्काे मनले २÷४ वर्ष विदेश बसेर आउँ, त्यसपछि ढुक्कले बिहे गर्नुपर्ला । अनि यतै बसेर केही गर्नुपर्ला लाग्थ्यो । आफन्तको कुरा नकार्न सकिन । मौनतालाई उनीहरूले ‘हुन्छ’को स्वीकारोक्ति माने ।

 

छुट्टी बाँकी डेढ महिना जति थियो । ईङ्गेजमेन्ट भयो । लगन जुर्याे विदेश जानु भन्दा १० दिन पहिला । त्यो लगनभन्दा पहिला बिहे गरे दाम्पत्य जीवन लामो समयसम्म नटिक्ने पण्डितले भविष्यवाणी गरे । फेरि मौन भएँ । आफन्तहरूले मेरो मौनतालार्ई ‘हुन्छ’ ठाने । बिबाहको तामझाम सुरू भयो । खानपिन, सरसामान किन्ने निम्ता गर्ने सबै सकियो ।

 

जन्ती लैजान घरमा गाडी । सबै जना तयार भए । चिटिक्क परेर आएका । बिहे गर्नेलाई भन्दा उनीहरूलाई बढी बिहे लागेको थियो । मेरो मौनता नै उनीहरुको लागि स्वीकृति थियो । सबै रीतिरिवाज अनुसार कर्मकाण्ड अगाडि बढ्यो । जन्तीले गाडी भरिसकेको थियो । दुलहा बस्ने ठाउँ पनि थिएन । ठूलाबढाले ‘दुलहालाई त बस्न दिनु !’ भन्दै ब्यंग्य गरे । सबै गललल हाँसे । फेरि ब्यंग्यको पात्र भएको अनुभुति भयो ।

 

बिहेको तामझम गरिदिनेले मलाई अनेक कुरा सम्झाउँदै थिए । बुझ्ने प्रयास गर्दै थिएँ । साथीभाइ आफ्नो जोडा खोज्ने भन्दै अनेक थरीका कुरा गर्दै थिए । जन्ती जाने केटीहरूको अनेक तामझाम वाक्कै लाग्ने । अनुहार नियाल्दा सबै खुसी थिए । म कस्तो थिएँ आफैँलाई थाहा थिएन । म मौन थिएँ । बस् । त्यति चाहीँ थाहा छ । मेरो मौनतालाई उनीहरू लाज ठान्थे । बिहेपछि सबै ठीक हुने भनेर गलल हाँस्थे ।

 

बेहुली लिएर फर्कँदा मध्यरात भइसकेको थियो । घरमा मेरो भन्दा नयाँ आउने दुलहीको तिब्र प्रतिक्षा थियो । गृह प्रवेश, मुखदेखाई अनेक रसम सुरू भयो । दिनभरको तनावले निकै थकान भएको थियो । कोठामा पसेर खाटमा पल्टेको भुसुक्कै निदाएछु । बिहान सबेरै आँखा खुले । छेउमै उनी सुतिरहेकी थिइन । टेबलमा खाना र १ गिलास दूध राखिएको थियो ।

 

घडी हेरेको साढे चार भएछ । एउटा बल्यांकेट थियो जुन मैले आडेको थिए । उनले जाडो महशुस गरे जस्तो लाग्यो । बल्यांकेट ओडाइदिएँ । फेरि सुत्न मन लागेन । उठेर फेसबुक तिर आँखा डुलाएँ । साथीभाइले मेरो बिबाहको तस्बिरहरू फेसबुकमा अपलोड गरिसकेछन् । अनेक तरहका स्टाटस र कमेन्ट, हेर्नै मन लागेन ।

 

एकोहोरो केही सोचेर बसिरहेको थिएँ । मोबाइलको रिङटोनले सातै लग्यो । उनको मोबाइल थियो । छामछुम गर्दै उठाइन् । फोन आमाको हुनुपर्छ, मेरो अनुमान त्यही थियो । सायद उनले छोरीलाई पहिलो दिन गर्नुपर्ने काम सम्झाइन् । नववधु फोनमा गम्भीर थिइन् । उनका जवाफ ‘हुन्छ’ मात्रै थिए । म नजिकै आइन्, आमाको आज्ञा पालना गर्दै मेरा खुट्टा छुन खोजिन् । मलाई यस्तो मन नपर्ने बताएँ । उनी दोधारमा परिन् । केहीबेर दुबै मौन भयौँ । ब्यागबाट कपडा झिकेर बाथरूमतिर लागिन् ।

 

बिहान पूजापाठ गर्ने कार्यक्रम थियो । त्यसपछि भोजभतेर । साँझ दुरान फर्काउन जाने तय भयो । सबै भोजभतेरमा व्यस्त भए । सबै काम सकेर साँझ उनको घरतिर लाग्यौँ । उता सबै हाम्रो तिब्र प्रतिक्षामा थिए । ढोगभेट, कस्तो कस्तो नरमाइलो जस्तो लाग्यो । छिमेकीको मेला लाग्यो । मलाई भने जेल परे जस्तै हुँदै थियो । म मौन नै थिएँ । उनीहरूले सम्झे, नयाँ भएर म संकोच मानिरहेको छु ।

 

भोलिपल्ट साँझ घर फर्कियौँ ज्यानमा सास आयो । साथीहरू छुट्टै पार्टी भन्दै थिए । मैले नाइनास्ति गरिन । सबै जम्मा भए, मेरै पैसाले टन्न भएर मेरै खिल्ली उडाए । पार्टीपछि राती अवेर घर फर्कँदा अभिभावक रिसाए । गाली गरे, ‘समयमा घर आउनु अब, तेरो विहे भइसक्यो परिवारलाई पनि समय दिनुर्छ नी ।’

 

मनमा अनेक कुरा खेल्न थाले । मोबाइल, फेसबुक, गीत, ल्यापटप, केही कुरामा मन भुलेन । छट्पटी भयो । दस जनाका दस थरी कुरा वाक्कदिक्क लाग्यो । उनी आइन् । ध्यान उतै खिचियो । बिहेपछि श्रीमतीले श्रीमानको लागि प्रत्येक दिन दूध लिएर आउँछन् भन्ने सुनेको, हातमा दूध थिएन । उनी अलग्गै बसिन्, मुख निन्याउरो थियो । कारण जान्न खोजेँ, महिनावारी भएको भन्ने उत्तर आयो । महिनावारी हुँदा श्रीमान–श्रीमती एकअर्कालाई नछुने चलन छ । उनी भुइँमा सुतिन् । म बेडमा पल्टिएँ ।

००

विदेश जाने दिन नजिकिँदै थियो । विदेशमा रहेका आफन्तहरूले नासो ल्याइदिन थाले । यताउता गर्दागर्दै जाने दिन पनि आयो । श्रीमान श्रीमती बीचको सम्बन्ध स्थापित हुन पाएन । बिहे गरेको सातौँ दिन साँझ काठमाडौं तिर लागेँ । आठौं दिन आराम गरियो र नवौं दिनको साँझ उडियो । उता विदेशमा मेरो विवाहको खबर भाइरल भइसकेको थियो ।

 

विदेशमा सबै उस्तै उमेरका । रोकटोक गर्ने कोही हुँदैन । लाज–सरम कम हुन्छ । साथीहरूले बिहेको पहिलो रातको विषय कोट्याए । अनुहार रातोपिरो भयो । केही बोलिन, उनीहरू आफैँ अनुमान लगाए म लजाएको । पहिला पहिला यस्तै हुन्छ, पछि बानी पर्दै जाने भन्दै सम्झाए । कसैले बिचरा एउटी केटीको चाहना कुल्चेर आएको भन्दै हप्काए । मैले केही बोलिन । उनीहरूले, बिहेपछि श्रीमतीकोको यादमा गम खाएको बुझे ।

 

घरमा फोन गर्दा बुहारी एकदम खास्साकी छ भनेर सुनाउँथे । अनेक गुणगान हुन्थ्यो । उनले पनि कहिल्यै कुनै गुनासो गरिनन् । केही चाहिन्छ कि भन्दा कुनै कुराको रहर नभएको बताउँथिन् । केही पठाउन पनि झन्झट, ठीकै ठान्थेँ । दुई वर्ष कट्यो । घर फर्किने मिति तय भयो । खबर गरे सबै खुसी भए ।

 

कस्तो नरमाइलो लाग्ने विदेशबाट फर्किने बित्तिकै नेपाल । मान्छे पनि अनौठा र फोहरी देखिने । आफ्नै देश हो माया लाग्छ । बाबा लिन आउनुभयो । १० बजेतिर घर पुगियो । घरमा सबै थिए उनी थिइनन् । आमाको मुखबाट पो सुनेँ, म नेपाल ओर्लिएको दिन बिहान सबेरै अर्कै केटासँग पोइला गइ ! फेरि मौनता छायो । सोचेँ, अर्कोपटक फेरि हाँसो पात्र बन्दै छु म ।

 

धेरै सपना बोकेर स्वदेश फर्केको थिएँ म । मेरा सपना मेरा एक्ला थिएनन् । उनीसँगै केही स्वप्निल योजना बनाएको थिएँ । सानो घर, सानो परिवार, आफ्नै खेतबारीमा हामी दुईले सपना खनौँला भन्ने थियो । त्यसो त केही गोप्य कुराहरु पनि थिए जो लामो समय टाढा रहेकी मेरी उनलाई ‘सर्पाईज’ दिन चाहन्थेँ । उनी त मेरा सपना साक्षी छोडेरै गइन् कतै । त्यसपछि त उनलाई सम्पर्क गर्नु पनि उचित लागेन । तै पनि केही भन्नु बाँकी नै थियो...