समाज

कला साहित्य

भिडियो

कभर स्टोरी

यमबुद्धको परिवारले सुनाउन नचाहेको कथा... (भिडियोसहित)

आइतबार, ३० पुष २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

यमबुद्धको परिवारले सुनाउन नचाहेको कथा... (भिडियोसहित)

प्रविण दाहाल/कञ्चन न्यौपाने । 

 नेपालमा चर्चित र्यापर अनिल अधिकारी उर्फ यमबुद्ध । यमबुद्धले टु पाक, एमिनेम, रन डिएमसी, इजी ई, ओल्ड स्कुल र्यापर, विटल्स, ईमोर्टल टेक्निक, जे टमाइन, भिन्नी पाज, आर्मी अफ द फारोज, राकिमजस्ता चर्चित र्यापरका गीत सुन्थे र एक दिन त्यस्तै बन्ने कल्पना गर्थे ।

 

स्कुलदेखि नै यमलाई र्यापमा लगाव थियो । सानैदेखि उनी कविता लेख्थे । एंगो इङ्लिस स्कुल पढेका यमवुद्धले १० कक्षा पुग्दासम्म त नेपाली–अंग्रेजी र्याप लेख्न सुरु गरिसकेका थिए । १० कक्षा पढ्दा लेखेको पहिलो र्यापमा कक्षाका सबै पिरियडबारे व्याख्या गरिएको थियो । कलेज पढ्दा र्यापप्रतिको लगाव देखेर उनकी आमाले १२ कक्षा सकेपछि एल्बम निकाल्ने बाचा गरिन् । उनका साथी, आमा, पागलपन, यो प्रशंग...लगायत गीतहरु चर्चित छन् ।

 

मोरङ स्थायी घर भएका यम काठमाडौंको मैतिदेवीमा बस्थे । निधन हुनुअघि उनी श्रीमति अस्मिता सेढाईंसहित लण्डनमा बस्दैआएका थिए ।  ३० वर्षीय यम लण्डन साउथ ह्यारो नजिकै फिल्ड इन्ड रोड रइसलिपमास्थित एक संस्थामा कार्यरत थिए ।

 

त्यत्ति नै बेला उनी बाईक एक्सिडेन्टमा परे । एक्सिडेन्टको पीडा एकातिर छँदै थियो । तर, दुई वर्षको बेड रेस्टलाई उनी उपलब्धिमूलक बनाउन चाहन्थे । त्यही बेला उनले धेरै र्याप सुने । प्राक्टिस गरे । जसले गर्दा र्याप ब्याटलप्रति लगाव झनै बढ्दै गयो । मैतिदेवीका एक गायकले उनलाई प्रस्ताव गरे, र्याप गीत लेखिदिने हो ? उनी घोस्ट राइटर बने ।

 

त्यसपछि बेलायत गएका उनी डेढ वर्ष फर्किएनन् । उनले लेखेको गीत त चर्चित भइसकेछ– उतै छँदा थाहा पाए । अरूले नै गाएको उनको गीत बजारमा राम्रैसँग चल्यो । ती गायकले नाम पनि कमाए । सन् २०११ मा बेलायतबाट फर्केपछि उनी पूर्णरूपमा म्युजिकतिर लागे ।

 

नेपाल आएर उनले २१ गीत समेटेर एउटा एल्बम निकाले। उनले सबै गीत निःशुल्क बाँडे । २००७ मा उनले ब्याटल र्याप प्रतियोगितामा भाग लिएका थिए । प्रतिस्पर्धामा उनी उत्कृष्ट भए भए । नेपालमा उनकै नेतृत्वमा पहिलो पटक र्याप ब्याटल सुरु भएको थियो । र्यापलाई व्यवसायिक बनाउने श्रेय यमबुद्धलाई नै जान्छ ।

 

यो सबै बाहिरी सुन्दरता छँदैथियो । गत वर्षको जनावरी १४ उनको परिवार र प्रशंसकका लागि दुःखद् भयो । त्यो त्यही दिन थियो जब समाजिक सञ्जाल फेसबुकदेखि ट्वीटरसम्ममा श्रद्धाञ्जली व्यक्त गर्नेको भीड लाग्यो । साथमा थियो उनले जीवनभर कमाएको शान, मान र प्रतिष्ठा ।

 

अघिल्लो दिन बिहान उनी लण्डनस्थित आफ्नो अपार्टमेन्टको बाथरुममा मृत अवस्थामा फेला परेका थिए । यम बुद्धबाट यस्तो हुन्छ भनेर सायदै कसैले सोचेको थियो । ‘मर्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो’ भनेर र्यापमार्फत सुझाव दिने यमको मृत्यु रहस्यमय थियो ।

 

उनको पार्थिव शरिरले ठूलो युवापुस्तालाई शोकाकुल बनाएको थियो । तर, एक वर्ष बितिसकेछ उनले यस धर्तीलाई छोडेको । यी एक वर्ष उनका बाबुआमालाई कम्ती सकशपूर्ण थिएन । भएको एउटामात्र छोरा गुमाउँदाको पिडा त भोग्नेलाई मात्र थाहा हुन्छ ।

 

त्यसो त उनको फ्यान/फलोइङ पनि धेरै राम्रो छ । उनका निकट रहेका मित्रहरुले बताएअनुसार यम निकै मिलनसार थिए । आफूलाई पछि राखेर र्याप ब्याटलको होस्ट पनि उनी आफैँले गर्थे । कसैलाई केही परेमा सहयोग गरिहाल्ने यमबुद्ध अरुलाई पनि हौसला दिन्थे ।

 

यमबुद्धका बाआमाले सुनाउन चाहेको कथाः

यमकाे देहावसानपछि मिडियामा उनी र उनका परिवारबारे पनि कयौं दिनसम्म समाचार छायो । धेरै नकारात्मक नै छापिए । छाेराकाे खबरले परिवारमा नराम्रो असर पारेछ । उनका आमाबाबुलाई पत्रकारिताप्रति विश्वास घटेछ ।

 

मिडियाप्रतिको वितृष्णकै कारण उनीहरु अहिले मोरङस्थित सलकपुरमा रहेको घरमा नै बढी बस्न थालेका छन् । त्यहाँ हुँदा अनावश्यक मानिसहरु पनि नआउने हुँदा उनीहरु उतै बस्न रुचाउँछन् । मिडियाबाट टाढै ।

 

यमबुद्धको निधनपछि बाबु अम्बिका प्रसाद अधिकारी र आमा उर्मिला अधिकारीले ‘यम बुद्ध फाउण्डेसन’ दर्ता गरेका छन् । जसमार्फत नेपालका विभिन्न ठाउँका बालबालिकाहरुलाई उक्त संस्थाले सहयोग पुर्याउँदै आएको छ ।

 

बुबा अम्बिका अधिकारी भन्छन्, ‘हामीले कुनै पनि डोनरसँग पैसा मागेका छैनौँ । अहिलेसम्म हामीले जन्मदिन या अन्य समयमा गर्ने खर्च काटेर बालबालिकाको लागि सहयोग गर्दै आएका छौं । यदी कसैलाई आत्मदेखि सहयोग गर्ने इच्छा भएमा हाम्रो फेसबुक पेज यमबुद्ध फाउण्डेसनमा गएर पनि सहयोग गर्न सकिन्छ । यसपाली तराईको शितलहर परेका दुखलाई सहयोग गरेका छौँ ।’

">

तस्विरः चन्द्र रार्इ