बिचित्र विश्व

बेजोस लगातार तेस्रोपटक संसारकै धनी, यी हुन् विश्वका पाँच धनी व्यक्ति

शनिबार, २९ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

बेजोस लगातार तेस्रोपटक संसारकै धनी,  यी हुन् विश्वका पाँच धनी व्यक्ति

अमेजन डट कमका फाउन्डर जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै लगातार तेस्रोपटक संसारकै धनी व्यक्तिको सूचीमा परेका छन् । गत मंगलबार अमेजनको कमाइ लगभग १ दशमलव ४ प्रतिशतले बढेर बेजोसले विश्वकै धनी व्यक्तिमा आफूलाई अझै दर्‍याएका हुन् । ब्लुमबर्गका अनुसार विश्वका पाँच धनी व्यक्ति यी हुन्:

१ जेफ बेजोस
जेफ बेजोसको कुल सम्पत्ति अहिले १ सय ६ अर्ब डलर छ । गत वर्ष २७ जुलाईमा बिल गेट्सलाई पछि पार्दै बेजोस संसारकै धनी व्यक्ति बनेका थिए । त्यतिखेर उनको सम्पत्ति ९० अर्ब डलरभन्दा बढी थियो । तर, केही घण्टाका लागि मात्रै उनी एक नम्बर सूचीमा परेका थिए । २८ फेरि ९३ दशमलव ८ अर्ब डलर कुन सम्पत्ति पुर्‍याएर उनी पहिलो नम्बरमै पुगे । यो रेकर्डलाई उनले अहिले झनै दर्‍याएका हुन् । बेजोसको अमेजमा ७ दशमलव ८९ करोड डलर सेयर छ ।

२ बिल गेट्स
माइक्रोसफ्टका मालिक बिल गेट्सले वर्षौंदेखि राखेको रेकर्ड अहिले तोडिएको छ । उनी पहिलोबाट दोस्रो धनी व्यक्तिको सूचीमा धकेलिएका छन् । ब्लुमबर्गका अनुसार बिल गेट्ससँग अहिले ९३ दशमलव ३ अर्ब डलर छ ।

३ वारेन बफेट
वारेन बफेटलाई सेयर बजारको खेलाडीका रूपमा संसारले चिन्छ । फोब्र्स म्यागजिनका अनुसार उनी सन् २००८ मा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसपछि सम्पत्तिमा बिल गेट्सलाई पछ्याउँदै आएका बफेट अहिले पनि गेट्सकै पछिपछि छन् । विश्वको तेस्रो धनी व्यक्तिको सूचीमा रहेका उनको सम्पत्ति हाल ८७ दशमलव ३ अर्ब लडर छ । सेयर दलाल पिताबाट पैसाको कारोबार सिकेरै उनी सेयर बजारका खेलाडी बनेका हुन् ।

४ मार्क जुकरबर्ग
फेसबुकका सञ्चालक एवं सिइओ मार्क जुकरबर्ग विश्वको चौथो धनी व्यक्तिको सूचीमा परेका छन् । २००४ मा फेसबुक स्थापना गरेपछि आफ्नै संघर्षले उनी विश्वको चौथो धनी व्यक्ति बन्नु चानचुने होइन । उनीसँग हाल भएको ७७ दशमलव ३ अर्ब डलर सम्पत्तिमा पैतृक हिस्सा छैन । विश्वकै धर्नी पाँच व्यक्तिको सूचीमा उनी सबैभन्दा कान्छा व्यक्ति हुन् । जुकरबर्ग ३३ वर्षका मात्रै भए भने, यत्रो कमाइ केवल १२ वर्षको सफलता हो ।

५ अमनसियो ओर्टेगा
अमनसियो ओर्टेगा स्पेनिस बिजनेस टाइकुन हुन् । युरोपकै सबैभन्दा धनी उनी विश्वको पाँचौँ धनी व्यक्तिको सूचीमा परेका छन् । इन्डिटेक्स फेसन ग्रुपका फाउन्डर तथा पूर्वअध्यक्ष ओर्टेगासँग जुकरबर्गसँग भन्दा केही कम सम्पत्ति छ । उनको कुल सम्पत्ति ७६ दशमलव ६ अर्ब डलर छ । - नयाँ पत्रिकाबाट