समाज

गाडी दुर्घटनामा चालककाे मृत्यु

शनिबार, २९ पुष २०७४ गते मा प्रकाशित

Accident

धादिङ । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८७७३ नम्बरको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छन् ।

घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो ।