देश

चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जाेडियाे, स्थानीय उपभोग गर्नबाट बञ्चित

शनिबार, २९ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जाेडियाे, स्थानीय उपभोग गर्नबाट बञ्चित

दार्चुला । चमेलिया जलविद्युत आयोजनाले शुक्रवारदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ ।

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रू। आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करीब १६ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी)ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् ।

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लाबासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युतको पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयबासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन ।