राजनीति

भिडियो

‘घनश्याम र योगेश एमालेका भल्लालदेव र कटप्पा हुन्’ (भिडियोसहित)

एमालेभित्रै वाम एकताका बाधक !

बुधबार, २६ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

‘घनश्याम र योगेश एमालेका भल्लालदेव र कटप्पा हुन्’ (भिडियोसहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता प्रक्रिया कहिले सेलाउने, कहिले तात्ने हुँदैआएको छ ।

पछिल्ला केही दिनयता पार्टी एकता संयोजन समितिलाई फेरि सक्रिय बनाइँदैछ । तर यसबाहेक वाम एकता प्रक्रियामा जुटेका दुबै पार्टी आन्तरिक बहस र खिचातानी चलिरहेको छ ।

खासगरी नेकपा एमालेमा बैचारिक बहस चुनावपछि नै जुर्मुराएको हो । पार्टीका उपमहासचिव घनश्याम भुसाल लगायत नेताहरुले ‘जनताको बहुदलीय जनवादको औचित्य सकियो’ भन्न थालेपछि थप तरंग उठेको छ ।

तर पार्टी अध्यक्ष केपी ओली निकटस्थ धेरैजसो नेताहरु प्रारम्भिक चरणदेखि नै उनीहरुसँग फरक मत राख्दैआएका छन् । शंकर पोखरेल, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायत नेताहरु यस कित्तामा छन् ।

भलै आफ्नो स्वर चर्को नबनाए पनि केपी निकट नेताहरु भुसाल ‘क्याम्प’ प्रति असन्तुष्ट रहँदैआएका छन् ।

केही युवा नेताहरु त खुलेरै भुसाल ‘क्याम्प’ प्रति आक्रामक बने । यही सन्दर्भमा एमालेका युवा नेता तथा राजनीतिक विश्लेषक दयाल बहादुर शाही नेपालआजको स्टुडियोमा आएर आफ्नो बिचार राखेका छन् ।

अन्तरवार्ताको क्रममा उनले एमालेका घनश्याम भुसाल, योगेश भट्टराई लगायत नेताहरुप्रति चर्को आक्रोश पोखे ।

भट्टराई र भुसाललाई उनले अफ्रिकी अतिवादी समूह बोको हरामसँग तुलना गर्दै कडा टिप्पणी गरेका छन् ।

साथै योगेश भट्टराईप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘पर्यटक बनेर जित्न सजिलो छ, देवी ज्ञवाली बन्न गाह्रो छ ।’

अन्तरवार्ताको अधिकांश समय जबजको बचाउ र ‘जबजविरोधी समूह’ को आलोचना गरेरै बिताएका शाहीले भुसाल र भट्टराई लगायत नेताहरुलाई बिगतमा पार्टी फूटाएको सजाय दिन अझै बाँकी रहेको पनि बताए ।

‘नावालकले अपराध गरेको छ भने उसको उमेर पुगेपछि सजाय दिनैपर्छ,’ उनले भने, ‘यीनीहरु पनि पहिले नावालक थिए अब १४ वर्ष भइसक्दा पनि दण्ड नदिने कुरा हुँदैन । अब दण्ड दिने बेला भयो ।’

एमालेमा जबजको औचित्य सकिएको बहस गर्नु नै पार्टी हित बिपरित भएको भन्दै शाहीले वाम एकतापछि मात्रै त्यसबारे बहस गर्न सकिने बताएका छन् ।