समाज

भिडियो

‘रिटायर्ड’ सभासदको रोचक कथा (भिडियोसहित)

आफैँ मालिक, आफैँ कुक, आफैँ वेटर

बुधबार, २६ पुष २०७४ गते मा प्रकाशित

kamal-khatri-interview-ex-savasad-nepalaaja

नेत्र पाैडेल/चन्द्र रार्इ ।

पछिल्लो साताको एक मध्याह्न नयाँ बानेश्वर नजिकै थापागाउँस्थित एउटा रेष्टुरेण्ट छिर्दा मेरा आँखा एक जना वेटरको हुलियामा टक्क रोकिए ।

चिने–चिने झैँ लाग्यो । साथीले भन्यो, त्यो मान्छे त सभासद पो हो ! फेरि नियालेर हेर्दा थाहा भयो कि, ति त पहिलो संविधानसभा सदस्य कमल क्षेत्री थिए । जसले कञ्चनपुर तत्कालिन निर्वाचन क्षेत्र ४ बाट प्रत्यक्ष चुनाव जितेर आएका थिए ।

जिज्ञासा उब्जियो कि, ‘सभासद भइसकेको मान्छे कसरी रेष्टुरेण्टको वेटर बन्न आइपुगे ?’ हँसिलो अनुहार । शान्त स्वभाव । मिठो मुस्कानसहित ग्राहकसँग अर्डर लिरहेका कमल हाम्रो आग्रहपछि गप्फिन आइपुगे । खासमा हामी बसिरहेको रेष्टुरेण्ट उनै सभासद कमल क्षेत्रीको रहेछ ।

चार वर्षयता रेष्टुरेण्ट व्यवसाय संचालन गर्दैआएका रहेछन् । चार वर्षयता रेष्टुरेण्ट व्यवसाय संचालन गर्दैआएका उनी आफैँ कुक र वेटर पनि हुन् ।

शेरबहादुरको क्षेत्रबाट विजयीः

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग पहिलो संविधानसभा निर्वाचनमा प्रतिष्पर्धामा थिए कमल । झिनो मतान्तरले पराजित भए । तर दुई स्थानबाट विजेता देउवाले कञ्चनपुको क्षेत्र नम्बर ४ छोडेपछि कमललाई उपनिर्वाचनमा अर्का उम्मेवार कांग्रेसका यज्ञराज जाेशीसँग चुनाव लड्ने मौका मिल्यो । र जिते पनि ।

परिक्षा भन्दा भलिबल प्यारोः

बलियो ज्यानका कमल आफ्नो जमानाका सशक्त भलिवल खेलाडी हुन् । त्यसो त, पश्चिम पहाडमा त्यसताका भलिवलको निकै क्रेज थियो । कमल तिनै जुझारु युवा थिए जसको असाध्यै प्रेम थियो भलिवल खेलप्रति । यतिसम्म कि, कमलले भलिवल खेलका लागि परीक्षा समेत छोडिदिएका थिए ।

०४९ सालतिर पुर्खाैली घर, अछाम गएका थिए । त्यहाँ उनको भलिबलको कौशल देखेर स्थानीय महेन्द्र माध्यामीक विद्यालयले उनलाई त्यहीँ राख्यो । २०५० सालमा उनको एसएलसी परिक्षा थियो । तर एसएलसीअघि हुने जिल्लास्तरीय टेस्ट परिक्षा भलिवलकै लागि छोडिदिए । वीरेन्द्र शिल्ड भलिवल प्रतियोगिताका लागि उनी सहित ६ जना खेलाडीले परिक्षा नै छोडिदिएका थिए ।


सिएमए पढ्ने रहर थियोः

२०५१–५२ तिर पश्चिम पहाडी जिल्लातिर सिएमए पढ्ने लहर नै थियो । कमल पनि आफ्नो स्कुलपछि त्यही चाहन्थे । एसएलसीपछि उनी भारतको बम्बई पुगे । त्यहाँ उनका दाजु थिए । दाजुलाई आफ्नो योजना सुनाए । दाजुले आफ्नो आर्थिक अवस्थाले नथेग्ने बताएपछि उनको बाटो मोडियो ।

दाजुले दिएको गाडी भाडा समेत लिन अस्विकार गर्दै बम्बईका गल्लीमा भौँतारिए । महंगो बम्बईमा टिक्न उनी जे पनि काम गर्न तयार थिए । रेष्टुरेण्टमा काम गर्न थाले । तर १८ घण्टासम्म खट्न गाह्रो भएपछि चौकिदारी गर्न थाले । रातभरी चौकिदारी गरेपछि दिनभर फुर्सद हुन्थ्यो ।

यद्यपि, पढाइको रस मरेको थिएन । बम्बईमा बस्दै गर्दा उनको सम्पर्क सेन्टजेभियर्स कलेजका एकजना सुरक्षा गार्डसँग भयो । कमल राति चौकिदारी गर्थे बिहान माओवादी पार्टीका पत्रिका बेच्थे । पत्रिका बेच्ने क्रममा उनले केही राजनीतिक सम्बन्ध पनि बनाइसकेका थिए ।

नेपालमा जनयुद्ध मध्य बिन्दूमा पुग्दै थियो । उनलाई आफ्नो भविष्यभन्दा पनि नेपालको जनयुद्धप्रति झुकाव थियो । देशमा परिवर्तनको आवश्यकता छ भन्ने उनको ठम्याइ थियो ।

अन्ततः स्नातक तेस्रो वर्षको अन्तिम परीक्षा चलिरहेको बेला परीक्षा छोडेरै युद्धमा होमिन आइपुगे कमल ।

उनको भूमिगत जीवन सुरु भयो भोजपुर, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लाबाट पछि उनी झापा मोरङलगायतका जिल्लामा उनी पुगे ।

भूमिगत जीवन बिताउँदा मुस्किलले १०–१५ भर पेट खाना पाएको बताउँछन् उनी । जनयुद्धकै समयमा कमललाई भारतको तामिलनाडु प्रदेशमा प्रहरीले पक्रियो । तामिलनाडुकै कुइमोतो सेन्टर जेल चलान भए ।

...अनि सुरु भयो रेष्टुरेण्टः

‘राजनीति माथिल्लो संरचना हो, त्यसको आधार आर्थिक हो ।’ भन्ने कार्ल माक्र्सको ब्याख्याबाट प्रभावित कमललाई के विश्वास छ भने, यो सब संघर्ष अर्थकै लागि भइरहेछ ।

सभासद बनेर सक्रिय राजनीतिका ति दिन सम्झँदा कमल केही नोस्टाल्जिक बन्छन् । केही गुनासो राख्छन् । सम्झन्छन्, ‘पैसा कमाउने धेरै बाटा थिए । एउटा दुईवटा ठेक्कापटटा हेरफेर गरिदिएको भए, कर्मचारीको सरुवा बढुवा गरिदिएको भए, सायद यसरी रेष्टुरेण्ट व्यवसाय गरेर बसिरहनु पर्ने अवस्था हुँदैनथ्यो ।’

‘पैसा कमाइ भएन भने राजनीतिमा लाग्नुपर्छ’ भन्ने धेरैको सोच उनलाई मन नपरेरै स्वावलम्वी बाटो रोजेको बताउँछन् कमल ।

उनी देख्छन्, आफूसँगै राजनीतिमा लागेका थुप्रै नेताहरुले राजनीतिलाई नै आफ्नो व्यवसाय बनाएका छन् । तर उनले त्यसो गर्न सकेनन् । थप्छन्, ‘मेरो स्वाभिमानले त्यस्तो घृणित काम गर्न दिएन । मेरो आत्माले मानेन ।’

पहिलो संविधानसभाले संविधान नबनाइकनै विघटन भएपछि कमल भने दुखी हुँदै आफ्नै गाउँ फर्किए । उनले निर्वाचनका लागि आधा जमिन बेचेका थिए । बचेको आधा जमिनले परिवार पाल्न सम्भव थिएन । सभासद हुँदा आउने भत्ता कता सकियो पत्तै भएन । त्यसपछि त उनलाई आफूले बीचैमा पढाइ छोडेकोमा आत्मग्लानी महसुश भएछ । सायद स्नातक सकेको भए पढाएर त परिवार पाल्न सकिन्थ्यो भन्ने सोच्छन् उनी ।

दाइको सालोले दुबै जना मिलेर होटल खोल्ने प्रस्ताव गरेका थिए रे । उनलाई पनि परिवार पाल्न केही पेशा गर्नुपर्ने थियो । १ वर्ष त रेष्टुरेण्टको लागि ठाउँ खोज्नै लाग्यो । त्यसपछि बल्ल रेष्टुरेण्ट सुरु भयो ।

कमललाई रेष्टुरेण्टका विषयमा उति साह्रो ज्ञान थिएन । सालाकै विश्वासमा उनी सरसापटी गरेर रेष्टुरेण्ट सुरु गरेका थिए । तर, कुकको रुपमा काम गरेका सालाले बीचमा छोडेर हिँडिदिएपछि झन तनाव थपियो । २ महिना त उनलाई रेष्टुरेण्ट लिनु न छोड्नु भएछ । २ महिनापछि अर्का एकजना कुक आए, तिनले पनि छोडेर गए । यसरी उनको रेष्टुरेण्टमा २ वर्षमा ८ जना कुक फेरिएछन् । त्यसपछि कमल आफैँले तीनमहिने कुक तालिम गरेर कुक बने आफ्नै रेष्टुरेण्टमा ।

सुरुवाती दिनमा जुठा भाँडा उठाउन धेरै अफ्ठ्यारो मान्ने कमल अचेल भने बानी परिसकेका छन् । सुरुमा चिनेको मान्छे आउँदा त अप्ठ्यारो लाग्थ्यो रे । भने सामान्य लाग्न थाल्यो । अहिले उनी खाना पकाउनेदेखि ग्राहकको अर्डर लिनेसम्मका काम आफैँ भ्याइरहेका हुन्छन् ।

कमल आफ्नो पेशामा खुसी छन् रमाएकै छन् । तै पनि एउटै गुनासो छ, १० वर्षे जनयुद्ध गरेर संविधान त बन्यो शासकीय स्वरुपमा परिवर्तन भएको छैन ।