समाचार

रिस फेर्न नेताको पावर र प्रहरी संगठनको दुरुपयोग गरेर कोचियो जेल

साइबरको प्रमाण नभेटिएपछि सार्वजनिक मुद्धा लगाइयो

शुक्रबार, २३ भदौ २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

रिस फेर्न नेताको पावर र प्रहरी संगठनको दुरुपयोग गरेर कोचियो जेल

काठमाडौं । राजनीतिक पहुँच र गोजीमा अलिअलि पैसा हुँदा नेपालमा केसम्म गर्न सकिन्न रैछ ? भन्ने उदाहरण हालै देखा परेको छ । कुनै बेला बिकिनी किलर चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भनेका थिए । ठिक त्यस्तै एक घटना अहिले सार्वजनिक भएको छ ।

विषय हो दोहोरो नागरिकता लिएर नेपालमा संदिग्ध क्रियाकलाप गरिरहेका अंगद सिंह नामक व्यक्तिको । जसले आठ वर्ष अगाडि भारतको नागरिकता त्यागेका थिए । नेपाल र नेपालीको दूर्भाग्य मान्नु पर्छ, अहिले उनीसँग नेपालको राष्ट्रपति नै हुन पाउने वंशज नागरिकता छ ।

राजपा नेपालको सदस्यता लिने तर कांग्रेसका गगन थापादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र छोरा प्रकाशको चाकरी गरेर राजनीतिमा केही प्रभाव देखाउने अंगद सिंह नामक यी व्यक्तिले पहुँचको प्रयोग गरेर एक २६ वर्षीय हर्सिम्रन जीत सिंह नामक इन्जिनियरलाई फसाएका छन् ।

हर्सिम्रन नामक व्यक्तिले अंगदकी पत्नीले ६ महिनामा सन्तान जन्माएको विषय फेसबुकमा लेखेको भन्दै झुठो उजुरी दिएका थिए । अंगदको उजुरीमा दम थिएन । आधार र प्रमाण पनि बलिया थिएनन् । तर नेताका अगाडि आत्मसमर्पण गर्ने नेपाल प्रहरीले बलियो आधार बिना नै अंगदको रवाफमा परेर हर्सिम्रनलाई गत सोमबार पक्राउ गरेर अहिलेसम्म हिरासतमा राखेको छ ।

ललितपुरको ढोलाहिटीमा बस्ने हर्सिम्रनलाई सोमबार राति १२ बजे चापागाउँ प्रहरी वृत्तले पक्राउ गरेको थियो । पक्राउ किन गरेको भनेर हामीले चापागाउँ वृत्तका डिएसपी आभूषण तिम्सिनालाई सोधेका थियौं । उनले भने, ‘हामीलाई केही थाहा छैन । महाशाखाबाट पक्रेर बुझाउनु भन्ने आदेश आयो । साइबर अपराध गरेको कुरा थियो । हामीले समातेर तुरुन्तै महाशाखालाई बुझाएको हो ।’

पक्राउ परेका सिंह निकटहरुका अनुशार सोमबार राति १२ बजे प्रहरीले समातेर अंगद सिंहको गाडीमा लगेको थियो । तर डिएसपी तिम्सिनाले कुन गाडीमा लगियो आपूmलाई थाहा नभएको बताए । घरबाट समातेर वृत्त्त ल्याउँदासम्म प्रहरीकै गाडीमा हर्सिम्रन थिए ।

साइबर अपराध भनेर पक्राउ गरिए पनि कुनै आधार र प्रमाण भेटिएन । उजुरी गर्ने संदिग्ध नेपाली नागरिक अंगदले झुठो उजुरी गरेको प्रमाणित भइसकेको थियो । तर प्रहरीले म्याद थप गराउँदै शुक्रबारसम्म हिरासतमा राखेको छ ।

साइबर अपराध गरेको प्रमाण फेला नपरेपछि हर्सिम्रनलाई मुक्त गर्नु पर्ने थियो । तर अंगद सिंहको प्रभावमा परेको नेपाली प्रहरी प्रशासनले उनलाई दुःख दिन नयाँ मुद्धाको तयारी गरेर सार्वजनिक मुद्धा बुझाउने भएको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले भने, ‘साइबरमा मुद्धा दर्ता गर्ने बलियो आधार भेटिएन । त्यसपछि सार्वजनिक मुद्धा बुझाउने तयारी भएको छ । त्यो भन्दा महत्वपूर्ण विषय दुई पक्ष मिल्ने भएका छन् ।’

अंगद सिंहले रिस फेर्न प्रहरीको दूरुपयोग गरेको, नेपालको प्रहरी प्रशासनलाई राजनीतिक पहुँचका आधारमा दुरुपयोग गरेको स्पष्ट जस्तै बनेको छ ।
कुनै समय अंगदको स्टेपिङ स्टोन नामक प्रि स्कुलमा प्रचण्ड पुत्र प्रकाशका कान्छा छोरा पढ्ने गर्थे । त्यो विषयलाई अंगदले खुबै प्रचार गरे । अहिले पनि अंगदले वरिष्ठ नेताहरुसँग आफ्नो नजिककको सम्बन्ध रहेको प्रमाणित गराउन फेसबुकमा तस्बीरहरु राखेर प्रचार गर्ने गर्छन् ।

र यो पनि, 

प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

‘विवाह गरेको छ महिनामा सन्तान जन्माएका थिए अंगदले’ भन्नेलाई जेल

प्रकाश दाहाल भन्छन्, 'मलार्इ बाेर्डिङ सञ्चालकले झुक्यायाे'