बिचार / ब्लग

दलितबाट टिका थापौँ, दसैँलाई सामाजिक रुपान्तरणको पर्व बनाऔँ

बुधबार, ११ असोज २०७४ गते मा प्रकाशित

Narayn

  नारायण पौडेल

कृषि बैज्ञानिक मदन राई ठोकुवा गर्छन, ‘भारत र चीनको शक्तिको तुलना नै हुँदैन । कारण भारत छुवाछुत र विभेदले ग्रस्त छ । चीनमा त्यस्तो छैन । समाजको विकासलाई सामाजिक मनोविज्ञानले धेरै असर गर्छ ।’ दुबै देशलाई नजिकबाट नियाँलेका राईले नेपाल बन्न नसक्नुमा पनि छुवाछुतलाई कारक मान्छन् । श्रमप्रति विकर्षण र अपमान जातिय कारणले पनि उब्जिएको उनको मत छ । काम गर्ने जाति लाई ‘यो कामी, यो हली’ भन्दै हेपेपछि स्वाँठ शैलीको विकास भएको उनको तर्क छ । यस्तै आदि इत्यादि दृष्टान्त देखाउँदै राई भन्छन्, ‘काम गर्नेलाई तल्लो ठान्ने प्रवृत्तिले सबै काम नगर्ने बन्दै गए, काम गर्न बिदेश जानुपर्ने लाजमर्दो अवस्था निम्तियो ।’ 

पछिल्लो समय जातिय विभेदका विरुद्धमा चर्को आवाज उठेको छ । बाहुन, क्षेत्रीले दलित समुदायलाई गर्ने विभेदका बारेमा प्रशस्तै बहशपनि भएको छ । तर दलित समुदायभित्रै एकअर्कासँग भइरहेको छुवाछुत गौण बनेको छ । दलितलाई फुटाउने र शासन गर्ने हिजोको व्यवस्थाले आजपनि दलित समुदाय मुक्त हुन सकेको छैन । पहाडमा हुने विभेदका बारेमा धेरै प्रसंग आएपनि तराई मधेशमा भइरहेको अत्याचारी विभेद अहिलेपनि ओझेलमा परेको छ । विभेदको अन्त्य गर्न विभेदमा परेकाहरुले आवाज उठाउन आवस्यक हुन्छ नै, विभेदमा पारेको आरोप खेपेको वर्गले उनीहरुको आवाजलाई साथ दिन पनि अनिवार्य हुन्छ । तसर्थ आजको चेतनशील हाम्रो पुस्ताले केही न केही गर्नैपर्ने भएको छ ।

यसका लागि दसैंलाई अवसरका रुपमा प्रयोग गर्न सकिन्छ । प्रचार वा देखाउनका लागि गरिने पाँच तारे होटेलमा आयोजित विभेदविरोधी कार्यक्रमभन्दा प्रभावकारी अयिभान दसैँ बन्न सक्छ । दसैँ सामाजिकरुपमा नेपाली सबैको पर्व बन्दै गएको छ । दसैँले हिजो विभेद सृजना ग¥यो । जिम्मवाल र मुखियाको घरमा टाढा बसेर दलित समुदायले आसिष ग्रहण गर्ने कुसंस्कार हावि भयो । मिठो खानकै लागि ठूलाको घर रुङ्नुपर्ने विवशतामा दलित समुदाय पुग्यो । अब दसैँलाई सद्भावको पर्व बनाऔँ । छिमेकमा रहेका दलित समुदायका पाका व्यक्तिबाट टिका थापौँ र आशिष ग्रहण गरौँ । यसलाई सेल्फीको प्रयोजनका लागि भन्दा समाजमा सकारात्मक सन्देश दिनका लागि उपयोग गरौँ । इतिहास भन्छ, दलितदेखि ब्रहामणसम्म हिजो एउटै घरका सदस्य थिए । भुगोल, श्रम, खानपिन, आहारविहार, संस्कार र संस्कृतिका कारण एकाघरका हामी फरक बन्दै गयौँ । र, छुत अछुत सम्म भयौँ ।

जातभात सम्बन्धी इतिहास


सबै किसिमको जातिय भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धि (१९६५) मा जातिय भेदभावलाई “जात, रंग, वंश, राष्ट्रियता र उत्पत्तिका आधारमा गरिने फरक व्यवहार, संकुचनता तथा अन्यलाई ग्राह्यता दिनुलाई बुझिन्छ,” भनि परिभाषित गरिएको छ । पश्चिमा मुलुकहरुमा रंगभेदको समस्या छ । दक्षिण एशिया विशेषतः हिन्दु समाजमा जातिय छुवाछुतले सामाजिक संरचनालाई जटिल बनाएको छ । वैज्ञानिक अन्वेषण र धर्मशास्त्रबाट थाहा हुन्छ, शुरुमा जात भन्ने कुरा नै थिएन । जात नभएपछि जातिय भेद वा छुवाछुत पनि हुने भएन ।

बैज्ञानिक सोध अनुसारः सिनेजोइक युगको मियोसिन युगमा आजभन्दा करिब २ करोड ४० लाख वर्ष अगाडि ढेकुबाँदरको उत्पत्ति भएको र यही वंशको विकासक्रमबाट आजभन्दा २५ लाख वर्ष अगाडि ल्पिस्टोसिन युगमा आधुनिक मानवको उत्पत्ति भएको थियो । (वल्र्ड बुक १९९६ः३०) कालक्रममा शारिरीक श्रम, आहार विहार र तापक्रमको विविधताका कारण मानिसहरुको कद, वर्ण र संरचनामा फरकपन देखिदैगयो ।

 धार्मिक दृष्टीकोणबाट पनि जातभात र छुवाछुत मानव निर्मित पुष्टि हुन्छ । ‘जात’ शब्दले मूलतः हिन्दु वर्ण ब्यवस्थाभित्र पर्ने ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भित्रको कुनै एउटा वर्णलाई जनाउँदछ । धर्मशास्त्रका अध्येता विद्धान रजनीकान्त शास्त्रीले हिन्दु जातिका उत्थान औंर पतनमा ‘प्राचिन भारतीय आर्यहरुमा कुनै किसिमको जातिभेद थिएन’ भनि लेखेका छन् । उनका अनुसार एउटै आर्य परिवारमा वेदमन्त्रहरु कंठस्थ गरी देवताहरुको आरधाना गर्नेे सदस्य ब्राह्मण, शस्त्र धारण गरेर शत्रुहरुको सामाना गर्नेे क्षेत्रि, पशुहरु र कृर्षि आदि कामको रेखदेखमा लाग्ने वैश्य तथा दासोचित कर्महरु गर्नेेलाई शुद्र भनियो । ऋग्वेदको यो रिचाले यस कुरालाई पुष्टि गर्दछः कारुरहं ततो भिषगुपलप्रक्षिणी नना । नानाधियो वसूयवोऽनु गा इव तस्थिमेन्द्रायेन्द्रो परि स्रव (ऋक् ।९।१२,१३) । जसको अर्थ हुन्छ, “हे सोम ! म मन्त्रकर्ता ऋषि हुँ, मेरा पिता चिकित्सक हुन् । मेरी आमा पत्थरमा अनाज पिस्नुहुन्छ । .......हामीहरु धनोपार्जनको लागि नानाथरीका व्यवसायहरुद्धारा तिम्रो पूजा गर्छौं .... ।” कहिले काहीँ त परिवारको एउटै सदस्यले आवश्यकता अनुसार चारवटै वर्णको काम गर्ने गर्दथ्यो र उ कर्मविशेषानुसार संबन्धित वर्णको रुपमा देखापथ्र्यो ।

यदि मान्छे जन्मकै आधारमा वाहुन हुँने भए धेरै ऋषीहरु अरु जातमा जन्मिएका थिए । जस्तो व्यास माझीकी छोरीबाट, वशिष्ठ व्यश्याबाट र विश्वामित्र एक क्षेत्रिनीको कोखबाट जन्मेका थिए । उनीहरु गुणयुक्त कर्मले ब्राह्मण स्विकारिए । महाभारतमा लेखिएको छ “गणिकागर्भ संभूतो वशिष्ठश्च महामुनिः । तपसा ब्राहमणो जातः संस्कारतन्त्र कारण्म” अर्थात महामुनी वशिष्ठ वेश्याको गर्भबाट उत्पन्न भएका थिए, तर उनी तपस्याको कारणले ‘ब्राह्मत्व’ प्राप्त गरे । त्यहाँ सँस्कारनै कारण थियो । यसको ठीक उल्टो रामायणकालमा पुरुषोत्तम रामले शुद्र भएर पनि तपस्या गरेको भन्दै शंवुकको गर्दन काटिदिएका थिए । छुवाछुत वा वर्ण व्यवश्थाको सन्र्दभमा धर्मशास्त्र आफैं विभाजित छन् । जातभात र छुवाछुत शासकवर्गको स्वार्थमा र लहडमा आधारित थियो । विष्णु पुराणको एउटा श्लोक यस्तो छ: प्राणानर्थांस्तथा दारान् ब्राह्मणर्थे निवेदयेत् । स शूद्रजातिर्भोज्यः स्यादभोज्यः शेष उच्यते ।

जसको अर्थः हुन्छ, “जुन शूद्रले आफ्नो प्राण, धन तथा पत्नीलाई बाहुनको सेवामा अर्पण गरिदिन्छ, त्यस शूद्रको अन्न भोजन गर्न योग्य हुन्छ । बाँकी शूद्रहरुको अन्न भोजन गर्न योग्य हुँदैन ।” छुत हुनका लागि शुद्रले आफ्नो पत्नि, सम्पत्ति र जीवन नै बाहुनलाई दिनुपर्ने जस्तो घिनलाग्दो र अत्याचारी कुरा अरु केही हुन सक्छ र ? इतिहासका तथ्य बोल्दछन् राजा महाराजले इच्छाए कसैको जात च्युत वा बढुवा हुन्थ्यो । पृथ्वी नारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दा आफूलाई बचाएर गोरखा पु¥याउने तल्लो जात भनिएको दुशर जातिलाई अलिक माथिल्लो मानिने पुतवर जातमा बढुवा गरिदिएका थिए र श्री ३ जंग बहादुर राणाले अछुत मानिएका मेचेको पानी चल्ने बनाएका थिए । जंग बहादुरको ‘मुलुकी ऐन’ले नेपाली समाजका सबै जाति जनजातिहरुलाई उचनिचताको सामाजिक मर्यादामा बाँडेको पाइन्छ । यस अघि लिच्छवि वंशी राजा सुपुष्पदेव बर्माले र तत् पश्चात् राजा जयस्थिति मल्लले नेपाली समाजलाई हिन्दु वर्ण व्यवश्थानुसार बिभाजित गरे भनि इतिहास विद् बालकृष्ण शर्माले हाम्रो समाज एक अध्ययन(२००८)मा लेखेका छन् ।

हिन्दु समाजको शासक वर्गद्धारा सृजित छुवाछुतले एकातिर दलितहरुलाई ‘म तल्लो दजार्’को भन्ने मनोबिज्ञान तयार पार्ने र अर्कोतर्फ उनीहरु भित्र तल्लो र माथिल्लो भनि विभाजन गराउने खेल हुँदै आएको छ । जस्तो कामी र सार्की समुदायले दमाईलाई, दमाईले गाईनेलाई, गाईनेले वादी र कुमाललाई अछुतको रुपमा व्यवहार गर्दछ । फुटाउने र राज गर्ने तथा तर्साउने नीति एक साथ अंगिकार गरी शासकहरुले तल्लो जातका भनिएकाहरुलाई शोषण गरेको पाइन्छ । वध्यो राजा स वै शुद्रो जपहोमरश्य यः (महिर्षि अत्रिः राजाले जपहोम आदि ब्राह्मणोचित कर्म गर्ने शुद्रलाई मारिदिनु नै उचित हुन्छ), येन केनचिदङ्गेन हिंस्याच्चेच्छे«ष्ठमन्त्यजः । छेत्तव्यं तत्तदेवास्य तन्मनोरनुशासनम् (मनु ८।२७९), (श्ूाद्रले श्रेष्ठ जातीलाई आफ्ना हात–खुट्टा आदि जुन अंगले प्रहार गर्छ, राजाले त्यसको त्यही अंग काटिदेओस् ।)

जस्ता डर लाग्दा सजायले तल्लो जातिका भनिएकाहरुको शरीरलाई नियन्त्रणमा राख्न खोजेको देखिन्छ । अर्कोतर्फ श्रेयान् स्वधर्मो विगुण (आफ्नो धर्म(काम) गुणहिन नै भएपनि श्रेय हुन्छ ) भनेर मनमश्तिष्कलाई दुषित पार्न खोजेको देखिन्छ । छुवाछुतकोे पछाडि शक्ति संर्घषको भुमिका रहेको देखिन्छ । ‘शुद्र’ संज्ञाधारी जनसमुदाय कुनै वंश वा कुनै जाति विशेषका सदस्यहरुको समुदाय थिएन । आर्य अनार्य जो सामाजिक र आर्थिक संर्घषमा पराजित हुन्थे, दासयोनीमा धकलिन्थे । जसको पुष्टि मनुस्मृतिले गर्दछ ः ध्वजाह्तो भक्त–दासो गृहजः क्रीत–दत्रिमौ । पैत्रिको दंड–दासश्च सप्तैते दासयोनयः (मनु,८।४१५) जसको मतलव, युद्धमा कैद भएको, पेट पाल्नका लागि दासत्व स्विकार गर्ने, घरकी दासीको छोरो, किनेर लिएको मान्छे, दानमा पाइएको, जसका पिता आदि पनि दास हुन्, र राजदण्डबाट बच्न निमित्त दास बनेको–यी सात प्रकारका मनुष्य दास(शुद्र) योनिका हुन् ।

भि.टी. राजशेखरले उनको पुस्तक दलित; द बल्याक अनटचेवल्स् अफ इण्डियामा लेखेका छन्: आदिवासी जो लडे, हारे र गाउ परिधि बाहिर वन्दी बनाइए अछुत कहलाए । जो जंगल र पाहाडतर्फ कुलेलाम ठोके, ति जनजाति भए । (४३) छुवाछुत अन्त्यको एकमात्र उपाएको रुपमा माहात्मा गान्धीले अन्तरजातिय विवाह हो भनि सुझाएका छन् । नेपालमा अन्तरजातीय विवाह क्रमशः बढ्दो छ । नेपाली नेताहरु धेरैले अन्तरजातिय विवाह गरेका छन् । तर सायदै उनीहरु मध्य कसैले ‘अछुत’सँग विवाह गरेको छ । धुमपान स्वाश्थको लागि हानीकारक छ भन्ने जानेर पनि पिउन नछाडे जस्तै छुवाछुत हट्न सकेको छैन ।

अब के गर्ने

फेरी मदन राई कै कुरा गरौँ । हामीले काम गर्नेहरुलाई तल्लोस्तरमा राख्यौँ र अन्तिममा जातिय आधारमा विभेद गर्यौ । यसले काम गर्नेलाई हतोत्साहित बनायो । काम नगर्नेहरु ठूलो हुने वातावरण पैदा गर्‍यो । एउटै घरमा पनि महिला र पुरुषका रुपमा विभेद गर्यौ । महानवमीमा महिलाको पूजा भएपनि दसैँका बेला घरघरमा महिला नै पीडित हुन्छन् ।

पुरुष जुवाँतास र मोजमस्तीमा लिप्त हुँदा महिलालाई पाहुनापाछाको व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन्छ । धर्मको सार एउटा भएपनि अभ्यास अर्कै गरी भइरहेको छ । अघिपछि भन्दा जातिय विभेद चाडपर्वका बेला बढी हुने गर्दछ । अब एक पटक हिम्मत गरौँ, छरछिमेकका दलित समुदायसँग युवा पुस्ताले आशिष ग्रहण गरौँ । टिका थापौँ । छुवाछुतको अन्त्य गर्न ठूलबडाको पाउ परौँ । दसैँलाई क्रान्तिकारी रुपान्तरणको पर्व बनाऔँ ।