विदेश

उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकलाई अमेरिका भ्रमणमा रोक

उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकलाई अमेरिका भ्रमणमा रोक

वासिंगटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएका छन् । यी तीन देशसहित अब विश्वका आठ देशका नागरिकले अमेरिका भ्रमणमा जान नपाउने भएका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

अमेरिकी राष्ट्रपति कार्यालयले यो नयाँ नीतिको आइतबार राति घोषणा गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत थप तीन राष्ट्रका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको जनाएको छ । पहिलेका पाँच र यी तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लगाइएका राष्ट्रमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो ।

सोही मौकामा अमेरिकाले आइतबार अर्काे व्यवस्था नभएसम्मका लागि यी तीनसमेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ । यी देशहरूबाट आउने नागरिकलाई रोक्नुको कारण विशेष गरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ ।

अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतंककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् । उत्तर कोरिया र चादका नागरिकलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ ।

भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवं सेना प्रहरीमाथि लगाइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाएका ६ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ ।

उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यसअघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सीमित नरहेको बताइएको छ । उत्तर कोरिया, चाड र भेनेजुएलामाथिको यो प्रतिबन्धको नियम आगामी अक्टोबर १८ बाट लागू हुने छ । तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकालाई भने यो कानुन लागु नहुने स्पष्ट गरिएको छ ।

 राजधानीडेलीडटकमबाट