राजनीति

बिचार / ब्लग

Breaking News

नारायणकाजी र बाबुराम आमने सामने हुँदा हुन्छ के ?

शुक्रबार, ०६ असोज २०७४ गते मा प्रकाशित

baburam-prachanda-narayankaji

नारायण पौडेल

माओवादी राजनीतिमा धोबीघाट भेला विचित्रको थियो । अध्यक्ष प्रचण्डका प्रतिलिपिका रुपमा चिनिने नारायणकाजी श्रेष्ठ उनी इतरको खेमामा खुलेरै लागिदिए । फलतः पार्टी इतिहासमा प्रचण्ड अल्पमतमा परे । मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रबिक्रम चन्दसहितको असन्तुष्टीमा श्रेष्ठले पनि साथ दिएपछि पार्टी सत्तामा प्रचण्ड बर्चश्व डगमगाउन थालेको थियो । हरहालतमा सो समीकरण टुटाउनुपर्ने विषम परिश्थितिको सामना गरिरहेका प्रचण्डले सो भेलाको एउटा म्याण्डेट तत्काल कार्यान्वयन गरिदिए । बाबुराम भट्टराई प्रधानमन्त्री भए ।

भट्टराई प्रधानमन्त्री भएपछि के भयो ? भनिरहन पर्दैन, धोबीघाट गठबन्धन टिकेन । स्वार्थ समुहहरुको एक्लै कुनै डेग नचलेपछि बनेको सो गठबन्धन दीर्घायु थिएन । त्यसपछि प्रचण्डको प्रताप पार्टीभित्र झन् बढ्यो, भलै पार्टीको आकार साँघुरियो । बैद्य हिडे, विप्लप हिडे । बाबुराम हिडे । श्रेष्ठ माओवादीमै रहे ।
हुँदा हुँदा गोरखा २ बाट बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिष्प्रर्धा गर्ने चर्चा छ । बाबुरामले खुलेरै तयारी थालिसकेका छन् । नारायणकाजी सो क्षेत्रको राजनीतिक नाडी छामी रहेका छन् । नाडी राम्रो रहेको भन्दै प्रचण्डले नारायणकाजीलाई सु¥याइरहेका छन् । सायद, प्रचण्ड बाबुरामलाई अत्याइरहेका छन् ।
राजनीतिकरुपमा बिमति सहमति एक ठाउँमा होला, तर नारायणकाजी र बाबुराम संसदलाई चाहिने नेता हुन् । बाबुराम समकालिन राजनीतिक शीर्ष नेतृत्व मध्ये सबैभन्दा बढी विकासे सपना देख्ने नेता हुन् । उनमा जति विकाससम्बन्धी ज्ञान र दक्षता अरुमा छैन । प्रधानमन्त्रीका रुपमा उनले बजेट ल्याउन पाएनन् । तत्कालीन राष्ट्रपति रामबरण यादब उनका लागि दाहिने भइदिएको भए, र उनले बजेट ल्याउनमात्र पाएको भए उनको प्रधानमन्त्रीत्वकाल सायद निराशाजनक हुँदैनथ्यो । प्रधानमन्त्री भएपछि बाबुरामको क्रेज घट्यो भन्ने ठाउँ उपलब्ध हुनुमा शितल निवास धेरैहदसम्म निर्णायक छ । राजनीतिक हिशाव किताब मिलाउने र राजनीतिलाई गति दिने कुरा एउटा हो, विकासका लागि राजनीतिक सूत्र दिने अर्कै कुरा हो । यो हिसावले बाबुराम बिकासका सुत्र पैदा गर्न सक्छन् । उनी आफूलाई लागेको कुरा जस्तै जोखिम मोलेरपनि गर्न तम्सिन्छन्, सिद्धिन तयार हुन्छन तर गन्तव्यमा धिकिर धिकिर भएनि हिंडिरहन्छन् । यसो भन्नु अतिसयोक्ति नहोला ।

यता, नारायणकाजीका आफ्नै गुण छन् । भारतीय हस्तक्षेपका बिरुद्धमा उनी विषम परिश्थितिमा पनि मुख खोल्न सक्छन् । प्रचण्डले राजनीतिक जोडघटाउ अनुसार भारतसँगको सम्बन्धमा कायापलट गर्दछन्, उनी सधैँ उस्तै देखिन्छन् । समन्वयकारी भूमिकाका लागि खप्पिस नारायणकाजी विपरित खेमालाई जोडिदिने पूल हुन् । प्रचण्ड र गिरिजाका बीचमा पूल बनेको विरासतदेखि प्रचण्ड र कनकमणि दिक्षितलाई सुटुक्क भेटाएर पछिल्लो समेत मितेरी लाइदिने पात्र यिनै हुन् । माओवादीभित्र प्रचण्डलाई थोरै भएपनि प्रतिष्प्रर्धीको छनक दिने हैसियत यिनको मात्रै छ ।

पछिल्लो समय प्रचण्ड संसदीय राजनीतिका अब्बल खेलाडी दरिएका छन् । घुमीफिरी उनी गृहजिल्लाबाटै चुनाव लड्दैछन् । काँग्रेससँगको तालमेलबाट छोरी रेणुलाई भरतपुरको मेयर बनाउन सफल भएपछि उनका लागि चितवन थप अनुकुल देखिएको छ । रेणुलाई झैं प्रचण्डलाई पनि काँग्रेसले सघाँउने निश्चित छ, किनकी प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारिया गठबन्धन टिकाउनु छ । अपेक्षा गरिएभन्दा राम्रो परिणाम स्थानीय तहमा हाशिल गरेपछि प्रचण्ड उत्साहित छन् । त्यसमाथि आफुसँग छुट्टिएका बाबुराम भट्टराईको चुनावी प्रर्दशन निराशाजनक भएपछि उनले आफ्नै बाटो ठीक रहेको ब्याख्या गर्न पाएका छन् ।

बामदेब गौतमले ०५६ सालको संसदीय निर्वाचनमा केही सिटमात्र जितेको भए राजनीति अर्कै हुन सक्थ्यो । गौतम नेतृत्वको माले चुनावको मुखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट बाहिरिएको थियो । गौतमका विरुद्ध भएभरको राज्य शक्ति प्रयोग गर्ने सर्तमा एमालेले कोइराला सरकारलाई साथ दियो । देशभर जनलहर देखिएको माले सुन्यमा सीमित पारियो । जितको लहरका बीच गौतमसमेत पराजित भए ।

बाबुराम नै पराजित भए नयाँशक्ति रहिरहला ? यो प्रश्न पेचिलो छ । किनकी बाबुरामको व्यक्तित्व नै नयाँशक्तिको आधार हो । आफ्नै निर्वाचन क्षेत्रमा उनको ब्यक्तित्व कामकाजी नठहरिएमा देशभर कसरी ठहर्ला ? यो नयाँशक्तिका लागि अंहम प्रश्न हो । र, प्रचण्डका लागि राजनीतिक जवाफ दिने अवसर पनि । यही अवसर उम्किन नदिन हरहालतमा बाबुराम हराउने तयारीमा प्रचण्ड देखिन्छन्, र सोका लागि नारायणकाजी श्रेष्ठ प्रयोग हुँदैछन् । यसर्थ प्रयोग हुँदैछन् कि नारायणकाजी जित्नलाई नभइ हराउनका लागि बाबुरामसँग भिड्ने छन् ।

नारायणकाजी र बाबुराम दुबैले एउटै निर्वाचन क्षेत्र रोजे के हुन्छ ? यो प्रश्नको उत्तर एकदम सजिलो छ । दुबै हार्ने सम्भाबना अधिक रहन्छ । नारायणकाजीले जित्ने सम्भाबना तुलनात्मकरुपमा कम छ । बाबुरामले मुस्किलले जित हात पार्न सक्छन् । यसका केही आधार छन् ।

समकालीन शीर्ष नेतृत्व मध्ये आफ्नो चुनावी क्षेत्रलाई सुरक्षित राख्न भएभरको बल लगाएका दुई हुन्ः शेरबहादुर देउवा र बाबुराम भट्टराई । देउवा र भट्टराईले जति आफ्नो क्षेत्रको हेक्का सायदै कुनै नेताले राखेको होस् । भट्टराई सांसद हुँदा प्रत्येक महिना आफ्नो क्षेत्र पुगेकै हुन्थे । उनकै जोडबलमा गोरखाका पाखा पखेरमा गाडी गुड्ने भएका छन् । सिंचाइ र अन्य सुविधाको लाभ गोर्खालीले पाएका छन् । बाबुराम र गोरखाको साइनो पछिल्लो पाँच दशकसम्म निरन्तर जोडिएको छ । ०२६ सालमा बोर्डफष्ट भए यता गोरखाले बाबुरामलाई चिन्दै भोग्दै आएको छ । आफ्ना प्रतिष्प्रर्धीभन्दा चार दोब्बर मत बढी ल्याएर जितेको इतिहास उनले त्यसै रचेका होइनन् । हसियाँ हथौडालाई मन नपराउने हजारौँ मत पनि बाबुरामकै लागि भनेर हसियाँ हथौडामा परेको नकार्न सकिन्न ।

नारायणकाजी गोरखाका हुन्, तर गोरखासँग उतिसारो भिजेका पात्र होइनन् । अर्धभूमिगत राजनीतिमा लामो समय बिताएका श्रेष्ठको धेरै समय तराई क्षेत्रमा बित्यो । सरकारमा हुँदा पनि उनी बिकासे मन्त्रालयमा रहेनन् । श्रेष्ठकै पहलमा गोरखाले पाएको खाश केही छैन । राष्ट्रिय राजनीतिमा स्थापित भएका आफ्नै नेतालाई नचिन्ने कुरा भएन । तर, बाबुरामसँग तुलना गर्दा नारायणकाजी धेरै पछाडि छन् गोरखालीसँगको भावनात्मक सम्बन्धका हिसावले ।

अब चुनावी पाटोमा जाउँ । दुबै सँगै भिडेमा नारायणकाजीले पाउने मुख्य मत पार्टीकै हो । बाबुरामले पाउने मुख्य मत व्यक्तित्वको हो । विगतको मतान्तर हेर्दा बाबुरामलाई गोरखालीले खाश पत्याएका छन् । यसपाली उनको व्यक्तित्वको ठोस परीक्षा हुँदै छ । नारायणकाजीको ठाउँमा अर्को कोही नेता उठेमा बाबुरामको व्यक्तित्वले भोट बढी तान्नेछ, कम्तिमा अर्को उस्तै नेता मैदानमा नहुँदाको फाइदा हुनेछ । नारायणकाजी स्वंय आएमा बाबुरामलाई सकस हुनेछ ।

जे भएपनि यी दुई नेता सँगै प्रतिष्प्रर्धा गरेमा गोरखालीले एउटा नेतालाई शुरुमै गुमाउनुपर्ने छ । किनकी दुबै नेता जति नै प्रिय हुन्, दुबैलाई एउटै क्षेत्रबाट जिताउन सकिदैन । दुबै आमनेसामने हुँदा जति नै बलिया हुन्, यी दुई मध्ये एकले जित्छन् भन्ने पनि हुँदैन । तेस्रो आउने सम्भावना उत्तिकै हुन्छ । बाबुराम पराजित भएमा नयाँशक्ति बनाउने उनको सपनामा बज्र प्रहार हुनेछ । जितिहालेमा उनका लागि फैलने मैदान तयार हुनेछ । नारायणकाजीले जितेमा उनका लागि प्रत्यक्ष निर्वाचित संसद बन्ने र पार्टी तथा गोरखामा फैलने अवसर प्राप्त हुनेछ । हारेमा, भनिरहनु पर्दैन माओवादीभित्र प्रचण्डलाई बेलाबेला डाइलग दिने नेताको समेत खडेरी पर्नेछ ।

अन्त्यमा, जुन नेता हारेपनि देशका लागि थोरबहुत क्षति हुनेछ । शीर्ष तहसम्म कुनै नेता पु¥याउन देशको लगानी हुन्छ भन्ने दोहोराइरहन पर्दैन ।