अर्थ

ओटोमोबाइल

नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

सोमबार, ०२ असोज २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

काठमाडौं । शेखर गोल्छाको नाम नै काफी छ । अरु परिचय चाहिँदैन । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि शेखर गोल्छाको नाम अझै चल्यो । रामलाल गोल्छाको विरासतबाट व्यापारमा जमेका हुलाशचन्द्रका छोरा शेखर गोल्छा नेपालमा मोटरसाइकल व्यापारका एक नम्बर व्यापारी पनि हुन् । 

नेपालमा सबैभन्दा बढी बिक्री हुने कुनै मोटरसाइकल छ भने त्यो बजाज कम्पनीका मोटरसाइकलहरु नै हुन् । औद्योगिक घरानाका नाति, निजी क्षेत्रको शक्तिशाली संस्था उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा देशकै प्रतिष्ठित व्यक्ति हुन् भन्न कुनै संकोच मान्न पर्दैन ।

तर विषय यतिमै टुंगिदैन । गोल्छाको हंशराज–हुलाश चन्द्र गोल्छा एन्ड कम्पनी बजाज मोटरसाइकलको नेपालमा आधिकारिक विक्रेता हो । यो कम्पनीले नेपालमा बजाजका मोटरसाइकल बेच्दा यति धेरै नाफा राख्छ कि त्यसलाई कानुनमा लगेर जोडने हो भने त्यो कालोबजारी बनिदिन्छ । कालोबजारी भन्नुको मतलव नै हुन्छ ‘जनता लुट्ने धन्दा’ । र यो धन्दाका नेता हुने नेपालका प्रतिष्ठित भनिएका व्यापारी शेखर गोल्छा ।
यो विषय विना आधार उल्लेख गरिएको भने होइन ।

गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको भेटिएको छ । प्राप्त भएको खरिद मूल्य, भन्सार मूल्य र बिक्री मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको मोटरसाइकललाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले मोटरसाइकल बिक्री गरिरहेको छ ।

डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिशत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । नेपाल आज लाई प्राप्त भएको विवरण अनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिशत नाफा राख्ने गरेको देखिन्छ ।

पल्सर २०० आरएस बाइकमा २३ प्रतिशत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्य मोटरसाईकलमा २० प्रतिशत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्रमा उल्लेखित मुल्यमा भन्सार महशुल जोड्दा करसहितको मूल्य हुन्छ । बिक्री मूल्यबाट करसहितको मूल्य घटाउँदा कम्पनीको नाफा निस्किन्छ । मोटरसाईकलमा सरकारले १०३ प्रतिशत भन्सार महशुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिशत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।

‘यस्तो प्रतिष्पर्धा छ कसरी त्यति नाफा लिन पाइन्छ र ? नाफा भनेको पाँच सात प्रतिशत मात्रै हो ।’ कम्पनीका अध्यक्ष शेखर गोल्छाले दाबी गरे । उनले नेपालआजको हिसाव गराइ नमिलेको उनको जिकिर छ ।