अपराध सुरक्षा

मिसनमा छनौट भएपनि ‘हजुरलाई थाहै छ नि’ भन्दै ठग्दैछन् केन्द्रीय लेखाका इन्सपेक्टर घिमिरे

शुक्रबार, ३० भदौ २०७४ गते मा प्रकाशित

sasastra-nepal-nepalaaja

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालय लेखा शाखाका इन्सपेक्टर दिलकुमार घिमिरेको ठगी र जालझेलपूर्ण व्यवहार अझै रोकिएको छैन । सांगठनिकभन्दा पनि व्यक्तिगत स्वार्थमा चल्ने र पैसाका लागि जे पनि गर्न पछि नपर्ने इन्सपेक्टर घिमिरे केही दिनपछि नै यूएन मिसनमा जाँदैछन् । यसअघि केन्द्रीय लेखा प्रमुख रहेका उनी अहिले त्यहाँ दोस्रो वरीयतामा छन् । उनीभन्दा माथि अहिले डीएसपी धु्रव केसी ल्याइएका छन् । सिसं ४ डीएसपी केसी अत्यन्तै सोझा र इमान्दार मानिन्छन् ।

आफू केन्द्रीय लेखा प्रमुख हुँदा गरेको जालसाजी र ठगीलाई लुकाउन अहिले इन्सपेक्टर घिमिरे ज्यान छाडेर लागेका छन् । ठगीका कुकृत्यहरु बाहिर आए मिसनबाटै बाहिरिने हो कि भन्न डर पनि उनमा देखिन्छ । त्यसैले उनी अहिले हरहमेसा तनावमा देखिन्छन् ।

तर, उनले गरेका ठगी र जालसाजीको फेहरिस्त हामीले प्राप्त गरेका छौं । यसलाई हामी क्रमशः प्रकाशति गर्दै जाने छौं ।

सशस्त्र प्रहरी बलमा आर्थिक मामिलामा अत्यन्तै इमान्दार मानिएका महानिरीक्षक श्रेष्ठलाई लेखा प्रमुख घिमिरेले भुलभुलैयामा राख्दै संगठनलाई बदनाम गराइरहेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको सोझोपन र आर्थिक मामिलाबाट टाढै रहने स्वभावका कारण लेखा प्रमुख घिमिरेले अकुत फाइदा लिएको चर्चा सशस्त्र मुख्यालयमा छ ।

इन्सपेक्टर घिमिरेमाथि यसअघि दुर्जकुमार राई आईजीपी हुँदा गण, सिसुका र गुल्मका प्रमुखहरुलाई टेलिफोन गर्न रकम मागेको आरोप पनि छ । उनको रकम माग्ने तरिका पनि अनौठो रहेको एकजना पूर्वगणपति बताउँछन् ।

‘सर, आईजीपी साबलाई सबैले भेटिसके, हजुरमात्र बाँकी हो, चाँडै भेटिहाल्नुस्’ भनेर टेलिफोन गर्ने र भेटन आउँदा आईजीपी साव अहिले व्यस्त हुनुहुन्छ, मलाई भेटेर दिनु भए हुन्छ’ भन्ने उनको पुरानै बानी हो । राई आईजीपी हुँदा यसरी नै पैसा उठाएका उनले श्रेष्ठ आईजीपी भएपछि भने अरु नै व्यक्तिको नाममा पैसा उठाउने गरेको चर्चा छ । उनीमाथि यसअघि भएका गण, गुल्म, सिसुका, बीओपी र एकाउन्टेन्टको सरुवामा पनि व्यापक रुपमा रकम संकलन गरेको आरोप छ ।

घिमिरेलाई सशस्त्र प्रहरी बलमा चतुर लेखा अधिकृतका रुपमा लिइन्छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सेवा अवधि चार महिना मात्र बाँकी रहँदा निलम्वनमा परेपछि अनुसन्धानका सिलसिलामा तत्कालीन लेखा शाखा प्रमुख बिनबहादुर थापालगायतको समुह नै निलम्बनमा परेको थियो । वन्तपछि महानिरीक्षक बनेका दुर्जकुमार राईले घिमिरेलाई लेखा शाखामा ल्याएका हुन् । घिमिरे पहिला राई एआईजी हुँदा उनकै लेखा अधिकृत थिए । केन्द्रीय लेखा शाखाका पूर्ववर्ती सबै प्रमुखहरु अख्तियारको कारबाहीमा परेपछि बागडोर सम्हाल्न आएका घिमिरेले हुने नहुने ‘नियम’ को बहाना देखाउँदै तत्कालीन महानिरीक्षक राईलाई प्रभावमा पारे । उनले महानिरीक्षक राईको दिमाग यसरी भुटेकी आफू पनि पूर्ववर्ती महानिरीक्षकजस्तै भ्रष्टाचार काण्डमा फसिने डरले राईले सामान्यभन्दा सामान्य फाइलमा समेत दस्तखत गरेनन् । राई मात्र होइन, लेखा प्रमुख घिमिरेले पनि आवश्यक कागजातमा समेत दस्तखत गरेनन् । घिमिरेले त यतिसम्म चलाखी गरेकी, कतिपय फाइलमा त जुनियर अधिकृतहरुलाई दस्तखत गर्न लगाएका छन् । उनको यस्तो कार्य अहिले पनि जारी छ ।

वन्त निलम्बनमा परेपछि सशस्त्र प्रहरी बलको नेतृत्व नै डगमगाएको अवस्थामा घिमिरेको आगमनपछि पत्रपत्रिकालाई दिनुपर्ने विज्ञापनको जिम्मेवारी पनि आफै लिन सफल भए । तत्कालीन महानिरीक्षक राई र तत्कालीन प्रवक्ता शैलेन्द्र खनाललाई समेत प्रभावमा पार्दै उनले विज्ञापनमा एकछत्र राज गरे र आफूनिकट एजेन्सीलाई मात्र विज्ञापन दिन थाले । यहीँबाट हो सशस्त्र प्रहरी र सञ्चार माध्यमको सम्बन्ध बिग्रेको । तर पनि उनी राई आईजीपी हुँदा राई र एआईजी शैलेन्द्र खनाललाई आफूले पत्रकारलाई पैसा बाँड्न दिएको, बाँडे नबाँडेको थाहा नभएको बताउँदै हिँड्छन् । इन्सपेक्टर घिमिरेले हालका आईजीपीको नाममा पनि यस्तै कुरा गरेर हिँड्न थालेका छन् ।

अन्य व्यक्तिलाई सहमत गराउन खोज्ने उनको शैली पनि चाखलाग्दै छ । उनी जसलाई पनि ‘हजुरलाई थाहै छ नि’ भनेर जबर्जस्ती सहमत गराउन खोज्छन् । कसैले आफ्नो कुरा राखे उनी सुन्दै सुन्दैनन् । खाली ‘हजुरलाई थाहै छ नि’ भनेर जित्न खोज्छन् । मान्छेलाई थाहा होस् नहोस् हजुरलाई थाहै छ नि भन्ने उनको बानीले सबै आजित छन् ।

सशस्त्र प्रहरी बलकै कतिपय शाखालाई उनले मौखिक रुपमा आवश्यक खर्च माग्न पत्र लेख्नु पनि भन्ने गरेका थिए । पत्र लेखिसकेपछि उनले झुक्याएको केही भुक्तभोगीहरुको अनुभव छ । सशस्त्रका कतिपय अधिकृतहरु त आफूहरुलाई पत्र लेख्न लगाएर आफूहरुको नाममा उनले पैसा खाएकोसमेत अनुमान गर्छन् ।

नेपाल आजले उनको बारेमा केही दिनअघि समाचार छाप्दा उनले विभिन्न व्यक्तिलाई टेलिफोन गरी धम्क्याउन लगाएका थिए । जसको भ्वाइस रेकर्डिङ पनि हामीसँग सुरक्षित छ ।