खेल

मुक्केवाज सुशीलले नागरिकता पाए

बुधबार, २८ भदौ २०७४ गते मा प्रकाशित

Boxing

काठमाडौँ । लामो समयदेखि नागरिकता नभएका कारण विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले आज नागरिकता पाएका छन् । 

सुशीलका पिता शिव थापा मगर (स्वर्गीय) र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा गई सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो । 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४९ केजी तौलसमूहका स्वर्ण पदक विजेता हुन् । 

राखेप सदस्य–सचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुशीको कुरा भएको बताउँदै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको बताए । 

सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा आफू निराश हुनुपरेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्ण पदक जितेको महशुस गरेको प्रतिक्रिया दिए ।