समाज

तरकारी खेती तर्फ किसानहरुको आकर्षण

बुधबार, २८ भदौ २०७४ गते मा प्रकाशित

jajarkot vegetable 3

जाजरकोट । डोल्पा जिल्लाको सिमानासँग जोडिएका गाउँका किसानहरु तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटको कृषि-स्वास्थ्य तथा बैकल्पिक जिविको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रमले तरकारी खेती सम्बन्धि विभिन्न तालिम दिएपछि किसानहरु तरकारी खेती तर्फ आकर्षित भएका हुन् ।

तल्लु बगरका ४५ बर्षिय निबन्ध केसी पुरानै किसान भएता पनि हाल सम्म उनले तरकारी खेती गरेका थिएनन् । कृषि-स्वास्थ्य तथा बैकल्पिक जिविको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रमले केसीलाई तरकारी खेती सम्बन्धि विभिन्न तालिम दिएपछि घरमा उपभोग गर्ने मात्र नभएर बजारमा बिक्री वितरण गर्ने गरि तरकारी खेती गर्न थालेका छन् । आगामी दिनमा व्यवसायिक रुपमा तरकारी खेती गरेर आफुले उत्पादन गरेको तरकारी डोल्पा सदरमुकाम दुनैसम्म पुर्याउने लक्ष्य रहेको केसीको भनाई रहेको छ ।

प्रगतिशिल कृषक समुहको सदस्य समेत रहेका केसीलाई कृषि–स्वास्थ्य तथा बैकल्पिक जिविको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रमले विभिन्न तालिम दिनुको साथै प्रविधी, कृषि औजार सामाग्री, बीऊ तथा औषधीहरु दिएको केसीले बताए । तल्लुवगर जिल्ला सदरमुकाम खलंगा देखि २५ कोष टाडाँको दुरीमा रहेको त्रिवेणी नलगाड नगरपालीका–१२ नम्बर वडामा पर्दछ । तल्लुवगरवाट जिल्ला सदरमुकाम खलंगा भन्दा डोल्पा जिल्ला सदरमुकाम दुनै नजिक पर्ने स्थानियहरुको भनाई रहेको छ ।

त्यसैगरी त्रिवेणी नलगाड नगरपालीका–१० रोलीकी धनिसा सिंहले जन्मजात कृषि पेशा गर्दै आएको भएता पनि हाल सम्म तरकारी खेती नगर्ने किसान हुन् । पहल कार्यक्रमवाट तरकारी खेती सम्बन्धि तीनवटा तालिम पाएपछि ब्यबसायिक रुपमा तरकारी खेती गर्न थालेकी छन् । कमाईका लागि ६ महिना पहिले कलापहाड गएका लोग्ने भक्तबहादुर सिंहको कमाई भन्दा बढी घरमै उत्पादन गरेको तरकारी बेचेर कमाउने सोच बनाएको धनिसाले बताईन् ।

तरकारीको बजार रग्दाको चौखा र भगतिको तल्लु रहेको वताउदै धनिसाले जेठो छोरा नविनलाई रुकुमको राडीमा रहेको बोर्डिङ्गमा पढाई रहेको बताईन् । छोरी मनिका सिंह र निरुता सिंहलाई गाउँमै रहेको गणेश आधारभुत विद्यालयमा पढाई रहेको जानकारी दिईन । पहल कार्यक्रम अन्तरगत पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले आफुलाई टनेलको लागि प्लाष्टिक, थोपा सिंचाई सेट, तरकारीको बीऊ, औषधी, हजारी र स्प्रियटंकी दिएको उनले बताईन् ।

त्रीवेणी नलगाड नगरपालिका–१० रोलीका ६० बर्षिय नरबहादुर ध्यार पनि विगत २ बर्ष पहिले देखि ब्यबसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । उम्मेरले बुढो किसान जस्तै देखिए पनि प्रविधी, ज्ञान र सिपका हिसावले तरकारी खेती सम्बन्धी आफुलाई नौलौ किसानको पंतिमा ध्यारले राखिरहेका छन् । जम्मा जम्मी ५ रोपनी जग्गा भएका ध्यारले डेढ रोपनी जग्गामा बिगत २ बर्ष देखि ब्यबसायिक रुपमा तरकारी खेति गर्दै आएका छन् ।

डेढ रोपनी जग्गामा गरिएको तरकारी खेतीवाट बार्षिक रुपमा ४५ देखि ५० हजार सम्म आम्दानी हुने गरेको कृर्षक ध्यारले जानकारी दिए । उनले बाँकी रहेको साढी तीन रोपनी जग्गामा गरिएको धान र गहुँ खेतिवाट वार्षिक रुपमा २४ हजार बराबरको मात्र अन्न फलाउन सकिने बताए । बयालधारी कृर्षक समुहका अगुवा कृर्षकका रुपमा रहेका नरबहादुर ध्यारले परिश्रम गरे माटोमै सुन फलाउन सकिने बिश्वास ब्यक्त गरे । तरकारी खेती गर्दा बारीमा तरकारी फल्न सुरु गरेदेखि नै खानाको लागि उपभोग गर्न सकिने, अन्नबालीको खेती गर्दा खानाको लागि ६ महिना पर्खिनु पर्ने उनले बताए । राष्ट्रिय सडक सञ्जालले डोल्पा सदरमुकाम दुनैलाई छुन वित्तिकै आफ्नो सवै जग्गामा तरकारी खेती गर्ने ध्यारको भनाई रहेको छ ।

कृषि, पोषण–सरसफाई, प्राकृतिक श्रोत ब्यबस्थापन, खानेपानी, दैविक प्रकोप ब्यबस्थापन, सुशासन–लैङ्गिक समानता, बैकल्पिक जिवीको पार्जन र वित्तिय सेवाका क्षेत्रमा काम गर्दै आएको कृर्षि–स्वास्थ्य तथा बैकल्पिक जिवीको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रमले जाजरकोट जिल्लामा साविकका सक्ला, रग्दा, भगवती, खगेनकोट, भुर र सिमा गाविसमा काम गरिरहेको कृर्षि–स्वास्थ्य तथा बैकल्पिक जिवीको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रम, जाजरकोटका सिनियर सिंचाई प्राविधिक रत्नबहादुर डाँगीले जानकारी दिए । कार्यक्रमले सन् २०१९ सम्म कार्यक्रमको कार्यक्षेत्र भित्रका ५ हजार ४ सय ५७ घरधुरीका झण्डै ३० हजार जनसंख्यालाई सेवा दिने लक्ष्य राखेको प्राविधिक डाँगीको भनाई रहेको छ । कार्यक्रमले हाल ३६ सय घरधुरीका १६ हजार ५ सय ६० जनालाई सेवा दिई रहेको प्राविधिक डाँगीले दावी गरे ।

कृर्षि–स्वास्थ्य तथा बैकल्पिक जिवीको पार्जन प्रर्वद्धन (पहल) कार्यक्रम मध्यपश्चिम तथा सुदुर पश्चिमका हिमाली तथा पहाडी जिल्लाहरुका खाद्य संकटासन्न किसानहरुलाई खाद्य सुरक्षामा पहुँच पुर्याउने उदेश्यले युएसएआईडीको आर्थिक सहयोगमा सन् २०१४ अक्टुवर देखि २०१९ सेप्टेम्बर सम्मको लागि सञ्चालित कार्यक्रम हो । सुदुरपश्चिमका डढेलधुरा, बैतडी, दार्चुला, बजाङ, बाजुरा, अछाम र डोटीमा यो कार्यक्रम सञ्चालन भएको छ भने, मध्यपश्चिमका जाजरकोट, सुर्खेत, दैलेख, प्युठान, रोल्पा, सल्यान र रुकुममा यो कार्यक्रम लागु भएको छ ।

-दीपबहादुर घर्ती