व्यापार

चाडपर्वका बेला खाद्यान्न अभाव नहुने

सोमबार, २६ भदौ २०७४ गते मा प्रकाशित

Rice bag

धनगढी ।   प्रदेश नम्बर ७ स्थित भोकमरी हुने पहाडी जिल्लाका बासिन्दाले यसवर्ष चाडपर्व ढुक्कसँग मनाउन पाउने भएका छन् । सम्बन्धित जिल्लामा खाद्यान्न मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताइएको छ ।

भोकमरी हुने जिल्लामा वर्षातका बेला चामल ढुवानी गर्न नपाइए पनि पहिल्यै गएको चामल डिपोमा पर्याप्त मात्रामा मौज्दात रहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय, धनगढीले जानकारी दिएको छ । भोकमरी हुने पहाडी जिल्लामा यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव नभएको र चाडपर्वको बेला पनि त्यस्तो समस्या नआउने संस्थानका सहायक प्रमुख जगतबहादुर कुँवरले बताउनुभयो ।

यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव समस्या उत्पन्न भएको छैन । चाडपर्वका बेला पनि अभाव हुँदैन, उहाँले भन्नुभयो, पहाडका जिल्लावासीले ढुक्कसँग पर्व मनाउन पाउनेछन् ।  

गोरखापत्र