ओटोमोबाइल

Breaking News

नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

सोमबार, १२ भदौ २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

काठमाडौं । नाडा अटो सोको १२ औं संस्करण भदौ १३ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । यस्तो अटो सोमा दुई पांग्रे, चार पांग्रे खरिद बिक्री, स्पेयर पार्टस, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, ब्याट्रीको खरिद बिक्री तथा वित्तीय सुविधाहरु उपलब्ध हुन्छन् ।

विभिन्न ब्रान्डका सवारी साधनहरुको मेलामा उपभोक्ताहरुले छनोटको सुविधा पाउँछन् तर लुटिने सम्भावना पनि उत्तिकै हुन्छ । सामान्य अवस्था होस वा मेला नै किन नहोस बिक्रेताले नियमले दिएअनुशार नाफा राखेर कहिले पनि आफ्ना सवारी बेच्दैनन् । एउटै मोटरसाइकलबाट ७०–८० हजारसम्म नाफा कुम्ल्याएको उदाहरण त बजाज ब्रान्डका मोटसाइकलहरुमा देखिएकै हो ।

अहिलेको नाडा अटो सोमा पनि बजाज मोटरसाइकलको स्टल छ । सामान्य उपभोक्ताहरुलाई यो थाहा हुँदैन कि बजाज मोटरसाइकलले एउटा मोटरसाइकलबाट कतिसम्म नाफा लिन्छ ? खासमा भारतबाट आयात हुने बजाजका मोटरसाइकलको नेपालमा आधिकारिक बिक्रेता हंशराज एन्ड हुलासचन्द्र कम्पनी हो । यो कम्पनीका मालिक हुन उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा ।

नेपालमा धेरै बिक्री हुने मोटरसाइकल बजाज नै हो । बजाज मोटरसाइकलमा हुने लुट नेपालआजले यसअघि नै सार्वजनिक गरिसकेको छ । लुटको फेहरिस्त सार्वजनिक भएपछि अहिले भन्सार कार्यालयहरुले भारतबाट मोटरसाइकलहरु ल्याइँदा कति मूल्य पर्छ ? भन्ने सूचना दिन छाडेका छन् । जबकी यस्ता सूचनाहरु कानुनअनुशार लुकाउन पाइँदैन ।

नेपालमा वीरगञ्ज, भैरहवा, विराटनगरलगायत नाकाबाट मोटरसाइकलहरु भित्रिन्छन् । सबै करसहित नेपाल भित्रिदा मोटरसाइकलको मूल्य जति हुन्छ त्यसमा २० प्रतिशतसम्म जोडेर नाफा राख्न पाइन्छ । तर बजाज मोटरसाइकलमा त ४१ प्रतिशतसम्म मुनाफा राखेको पाइएको थियो । एक वर्ष अघिको तथ्यांकमा देखिएको विषय अहिले कति फरक परेको छ भन्ने जान्न खोज्दा कुनै पनि भन्सार कार्यालयका जिम्मेवार अधिकारीहरु बोल्नै चाहँदैनन् ।

मोटरसाइकल, कारजीप आदिको मूल्यबारे कोही पनि बोल्नै चाहँदैनन् । एक उपभोक्ताले भने, ‘बिक्रेताहरुले भन्सारका कर्मचारीलाई नबोल्नू भनेका होलान् । अनि के बोल्छन् । घूसमा पल्केका कर्मचारी ।’

पहिले देखि नै उपभोक्ता लुटन पल्केका व्यापारीले अहिले आएर लुट्न छाडेको भनेर विश्वास गर्न सकिने आधार हुँदैन । नेपालमा सबैभन्दा बढी बिक्री हुने दुई पांग्रे बजाज ब्रान्डका मोटरसाइकलहरु नै नै हुन् । यी मोटरसाइकल किन्दा अटो सोमा पनि उपभोक्ता लुटिन भने सक्छन् । कानुनले तोकभन्दा बढी नाफा व्यापारीलाई बुझाउनु भनेको उपभोक्ता लुटिनु नै हो ।

बजाजले कुन मोटरसाइकलमा कति लुट्ने गरेको थियो ? भन्ने तथ्य यो सामाग्रीसँगै राखिएका तस्बिरहरुमा देख्न सकिन्छ । तालिकामा उल्लेख भएअनुशार उपभोक्ताले बिक्रेता कहाँ गएर यो मोटरसाइकलमा यति नाफा रैछ, मलाई यति छुट चाहियो भनेर मोलमलाई गर्न सक्छन् । यसबाट उपभोक्ता लुटिनबाट केही जोगिन सक्छन् ।

कानुनले तोकेभन्दा बढी नाफा राखेर किन मोटरसाइकल बेचेको भन्ने प्रश्नमा हंशराज एन्ड हुलासचन्द्र कम्पनीका मालिक शेखर गोल्छाले हिसाबमा गडबडी भएको बताउँदै आएका छन् । अर्थात भारतबाट नेपालमा मोटरसाइकल आउँदा विभिन्न कर तिर्नु पर्ने र त्यही करका कारण मूल्य फरक परेको उनको तर्क छ । तर नेपाल आजले प्रकाशित गरेको डाटा सबै कर तिरेपछि बिक्रेताले तोकेको मूल्य हो ।

हिसाबमा गडबडी भन्ने तर हिसाब स्पष्ट पार्न कहिले नखोज्ने बिक्रेताको शैलीले बजाजमा लुट नै हो भन्ने प्रमाणित गर्दै आएको छ ।

गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजारसम्म नाफा लिने गरेको तथ्य नेपाल आजले पहिले नै सार्वजनिक पनि गरेको थियो । प्राप्त भएको खरिद मूल्य, भन्सार मूल्य र बिक्रि मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले बाइक बिक्री गरिरहेको छ ।

डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिसत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । नेपाल आज लाई प्राप्त भएको गोप्य विवरण आनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिसत नाफा खाने गरेको छ । 

 २०० आरएस बाइकमा २३ प्रतिसत नाफा देखिएको छ । पल्सर, पलाटिना र डिस्कभर वाइकलगायतका अन्यमोटरसाईकलमा २० प्रतिसत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापन पत्र मा उल्लेखित मुल्यमा भन्सार महसुल जोड्दा कर सहित को मूल्य हुन्छ । बिक्रि मूल्य बाट कर सहित को मूल्य घटाउदा कम्पनि को नाफा निस्किन्छ । मोटरसाईकलमा नेपाल सरकार ले १०३ प्रतिसत भन्सार महसुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिसत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।