भिडियो

अन्तरवार्ता

काेशी बेचेर पुगेन अब ‘उच्च बाँध’को कुरा गर्न थाले (भिडियोसहित)

शनिबार, ०३ भदौ २०७४ गते मा प्रकाशित

surendra-kc-koshi-flood-nepalaaja

काठमाडौं । प्रा.डा. सुुरेन्द्र केसी नेपालको राजनीतिबारे तिखो विश्लेषण र टिप्पणी गर्नुहुन्छ । नेपालआज डटकममा ‘इतिहास र अनुभूति’ नामक भिडियो स्तम्भमा उहाँले आफ्नो विचार राख्ने गर्नु हुन्छ । पछिल्लो भिडियो अन्तर्वार्ताका क्रममा डा. केसीले तराईको बाढी, भारतले नेपाललाई हेपेर बनाएको बाँधहरु, नेपाली शासकको दास मानसिकतालगायत समसामयिक राजनीतिबारे धारणा राख्नु भएको छ । उहाँको धारणाको सार निम्नानुशार छः 

‘विपत्तिहरु केही मानव सिर्जित हुन्छन् । केही प्रकृति सिर्जित । हालैको तराईको डुबान केही प्राकृतिको हो । केही मानव सिर्जत हो । भारतले नेपालको सीमा नजिकै अबैध रुपमा १५ वटा बाँध बनाएको छ । उसको हेपाहा नीति छ नेपालप्रति । यो हेपाहा प्रवृत्तिविरुद्ध नेपालका शासकहरु कहिले पनि मुख खोल्दैनन् । भारतसँग कुरा राख्दैनन् । किनभने यिनीहरु शासनमा जानका लागि पहिले नै इमान बेचिसकेका हुन्छन् । कतिपयले त विदेशीलाई आफ्नो इमान बेचिदिएका छन् । त्यस्ताहरुले काम गर्ने भनेको विदेशीकै हितमा हो, नेपालको हितमा होइन ।

कोशीबाँधले नेपाललाई भन्दा बढी फाइदा भारतलाई दिएको छ । लाखौ हेक्टर जमिनमा उसले सिँचाइ लगेको छ । पानी नियन्त्रण गरेर बिहार जोगाएको छ । तर नेपालका अपराधीहरु अहिले कोशी उच्च बाँध बनाउनु पर्छ भन्न थालिसकेका छन् ।

हिजो नाकाबन्दी हुँदा यो भारतले गरेको होइन भन्नेहरु आज पत्रकार सम्मेलन गरी गरी भारतका कारण नेपालमा डुबानमा परेको होइन भन्छन् । वहालवाला मन्त्रीहरुले यसो भन्दै हिँडेका छन् । मरेको बालकलाई सदगत गर्ने जमिन नहुँदा सप्तरीमा ती बालकका काकाले बच्चा पानीमा बगाए । मधेस र मेधसीको लागि हौं भन्नेहरुले यस्तो अवस्था कसरी आयो, भन्ने बारे बोल्नु पर्छ कि पर्दैन ?

मधेसी नेताहरुले त सरकारसँग राहत आफूलाई दिइनु पर्छ र त्यो पैसा आफूले मधेस लैजाने र आपूmखुसी बाँडने भनिरहेका छन् । यो भन्दा लाजमर्दो के होला ? हिजो नाकाबन्दी र आन्दोलन गर्दा पनि यिनैले पैशा लगे । झ्यालको शिशा फुटे बापत टिकापुर काण्डका नाइके रेशम चौधरीलाई झन्डै २ करोड दिए । उनीहरु पैशा मागिरहने, यिनीहरु दिइरहने भएको छ । माओवादीका २५ सय लडाकु थिए । १९ हजार बनाए । सबैलाई पैसा बाँडे । त्यसबाट सिक्दै सिक्दै सबैले लुट्न थालेका छन् । यिनीहरुको धन्दा नै पैशा कमाउने भएको छ ।

मधेसी नेताहरुले बाढीको बेला हामी किन त्यहाँ जाने ? त्यहाँ त हेलिकप्टर पठाउनु पर्छ, डुंगा पठाउनु पर्छ भनिरहेको सुनिन्छ ।

कुनै बेला थियो, प्रचण्ड बानेश्वरमा उभिएर ‘हामी कसैको रिमोटबाट चल्दैनौं’ भन्थे । बाबुरामलाई भारतको एजेन्ट हो भन्थे । भारतले दबाब दिएर प्रधानमन्त्री बनाउन खोज्यो, मलाइ गलाउँदै लग्यो भन्ने गर्थे । तर आज आएर भन्नुहोस भारतको एजेन्ट बाबुराम कि प्रचण्ड ?

यिनीहरुले जे जे गर्छन त्यो सबै सत्ता र स्वार्थका लागि गर्छन् । एकले अर्कोलाई आरोप लगाउँछन् । लाज सरम नभएकाहरु हुन् नेपालका नेताहरु । अहिले शेरबहादुर र प्रचण्डको सत्ता गठबन्धन अति नै घीनलाग्दो पनि छ । यस्तो गठबन्धन कतै पनि हुँदैन । नेपालमा त खै त्यस्तो इमान ?

भरतपुरमा एक भोटको एक लाख दुई लाख तोकेर माओवादीले जितेको हो । तर कांग्रेसका महासमिति सदस्य भनेका त धेरै सचेत थिए नी त । तर जिताए शेरबहादुरलाई । अब के गर्ने ।