अपराध सुरक्षा

यसरी झुक्काए डीएसपीले आफ्नै संगठनलाई, बढुवा रद्दको तयारी

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

Nepal Police

काठमाडौं । डेढ वर्षअघि नैसेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवा भए । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक–फरक जिल्लाबाट छुट्टाछुुट्टै मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गर्ने तयारी गरेको छ ।

सिंहले प्रहरी किताबखानामा पेश गरेको नागरिकतामा जन्ममिति २०१६ साल उल्लेख छ । कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ । प्रहरी नायब उपरीक्षकमा बढुवा भएका ९४ जनामध्ये उनी अन्तिममा बढुवा भएका थिए । उनले पेश गरेको नागरिकतामा फरक–फरक जन्ममिति फेला परेपछि प्रहरी किताबखानाले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

उनले पेश गरेको नागरिकताअनुसार डेढ वर्षअघि नै सेवाबाट अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर ढाँटेर फरक जन्ममितिको नागरिकता पेश गरेर उनी बढुवा भएका थिए । उनको बढुवा रद्द गर्ने तयारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल समाचारपत्र