समाचार

भोलि पनि भीषण वर्षा, सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाको आग्रह

आइतबार, २९ साउन २०७४ गते मा प्रकाशित

1502542923725_AY_Rajbiraj_20170812_Flood_7

काठमाडौं । तीन दिनदेखि जारी मनसुन आइतबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्याधिक वर्षासँगै बाढी पहिरोको जोखिम अत्याधिक हुने भएकाले सुरक्षित हुन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् । मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए ।

‘मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ,’ उनले भने, ‘आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’ मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।

‘मुलुकका तराई देखि महाभारतसम्मको क्षेत्रमा शुक्रबार दिउँसोदेखि भिषण वर्षा शुरु भई शुक्रबार राती कन्काई, मोहना लगायतमा जलसतहले खतराको सिमा पार गरेको छ,’ बाढी पूर्वानुमान शाखाका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले भने, ‘शुक्रबार मध्यराती पश्चिम राप्तीको कुसुममा र शनिबार विहानदेखि साँझसम्मै बबईको चेपाङ जलमापन केन्द्रमा जल सतहले खतराको तह पारेको छ ।’

उनका अनुसार शनिबार राती ८ बजेसम्म खतराको तह पार गरिरहेको बबईको तल्लो तटीय क्षेत्रका आम सर्वसाधारणलाई सूचना दिइएको छ । पश्चिम राप्तीको सुकममा पनि शनिबार मध्यान्नसम्म खतराको सिमा पारे भएको उनले जानकारी दिए । यस्तै शनिबार वेलुका साढे ५ बजे पूर्वी राप्तीको नदीको रजैयास्थित जलमापन केन्द्रमा जलसतहले चेतावनीको तह पारे गरेको थियो । त्यस क्षेत्रमा बर्षा भैरहेकाले आइतबारसम्म नै जोखिम हुनसक्ने शाखाले जनाएको छ ।

यस्तै बागमती नदीको तल्लो तटीय क्षेत्र रौतहट र सर्लाहीका क्षेत्रमा पनि नदी तटिय क्षेत्रमा डुवान भएकोले त्यस क्षेत्रमा अझै डुबान बढ्ने भन्दै शाखाले सुरक्षित स्थानमा बस्न सबैलाई अनुरोध गरेको छ । आइबारसम्म विशेष गरी पूर्वी भागमा भारी वर्षा हुने र अन्य भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शाखाका अनुसार पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटामा वाढी पहिरोको सम्भावना भएकाले नदी तटीय क्षेत्रका मानिसलाई सुरक्षित हुने आव्हान गरिएको छ ।

यस्तै मध्यको रौतहत, सर्लाही, मकवानपुर, वारा, पर्सा चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु र पश्चिममा कञ्चनपुर, कैलाली र बर्दीयका मुख्यरुपमा चुरे र महाभारतबाट बग्ने मेची, निन्दा, विरिङ, कन्काई, पथरी, त्रियाुगा, बुढी खोला, बागमती, पूर्वराप्ती, रिउ खोला, बिनय खोला, अरुण खोला, तिनाउ बाणगंगा र पश्चिममा मछेली, मोहना, बबई लगायतमा शनिबारसम्म अति उच्च जोखिम हुने भएकाले सचेत र सुरक्षित हुने शाखाले आव्हान गरेको छ ।

शनिबार दिनभरमा सबैभन्दा बढी सिमरामा २ सय १७ दशमलव २ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार नेपालगञ्जमा १ सय ६९ दशमलव ३ मिलिमिटर, दाङमा १ सय ६७ दशमलव ४, जनकपुरमा १ सय ३७ दशमलव ६ वर्षा भएको थियो । यस्तै भैरहवामा ३९ दशमलव ६, काठमाडौंमा ३० दशमलव ५, विरेन्द्रनगरमा २६ दशमलव ५, ओखलढुंगामा १८ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै ताप्लेजुङमा १५ दशमलव ४, धनगढीमा १३ दशमलव ३, लुम्लेमा ११ दशमलव ७, पोखरामा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो ।