मुख्य समाचार

भूमिगत समुहसँग जोडिएका यी ‘पत्रकार’ छानबिनको दायरामा, सप्तरी प्रहरी प्रमुख भन्छन् - आन्तरिक छानबिन सुरु भइसक्यो

मैले अहिलेसम्म कसैसँग एक रुपैयाँ पनि लिएको छैन : यादव

शनिबार, २८ साउन २०७४ गते मा प्रकाशित

baijanath 1

राजविराज । सशस्त्र भूमिगत समुहसँगको साँठगाँठलाई लिएर सप्तरी प्रहरीले स्थानीय ‘पत्रकार’ वैद्यनाथ यादवलाई छानबिनको दायरामा राखेको छ । ‘पत्रकार’ यादवको सशस्त्र भूमिगत समुहसँगको सम्बन्धबारे ‘नेपाल आज’ मा समाचार प्रकाशित भएपछि सप्तरी प्रहरीले उनलाई छानबिनको दायरामा राखेको हो । 

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंहले पत्रकार यादवको बारेमा प्रकाशित समाचारलाई लिएर आफूहरुले आन्तरिकरुपमा छानबिन थालेको बताए । ‘सशस्त्र भूमिगत समुहसँगको उनको सम्बन्धबारे जे समाचार आएको छ, त्यसलाई हामीले गम्भीर रुपमा लिएका छौं, हामीले आन्तरिकरुपमा छानबिनसमेत थालिसकेका छौं ।’

एसपी सिंहले आफू सप्तरीका लागि नयाँ भएकाले धेरै कुरा बुझ्न बाँकी रहेको पनि बताए । ‘म यहाँ भरखरै सरुवा भएर आएको छु, मलाई यहाँको धेरै कुरा थाहा पनि छैन, बुझ्दै छ,’ एसपी सिंहको भनाइ थियो । उनले कानुनभन्दा बाहिर जाने कसैलाई पनि नछाडिने स्पष्ट पारे ।

‘पत्रकार’ यादवमाथि नयाँ भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्तिमोर्चा’ सँग निकट रहेको आरोप लागेको छ । सो भूमिगत संगठनका कमान्डर ‘सिजन’ सँग उनको राम्रै सम्बन्ध रहेको बताइन्छ ।

पत्रकारिताका नाममा दुई नम्बरी धन्दा सञ्चालन गर्दै आएका यादवले उच्च प्रहरी अधिकारीसँगको सम्बन्धको नाममा तल्लो ओहदाका प्रहरीमाथि पनि निकृष्ट व्यवहार गर्दै आएका छन् । विगतमा आर्थिक रुपमा कमजोर मानिँदै आएका यादवले दुई नम्बरी धन्दाबाट कमाएको पैसाले नै विराटनगरमा साढे दुई तलाको घरसमेत बनाइसकेका छन् ।

‘पत्रकार’ यादवले भने आफूले अहिलेसम्म कसैलाई पनि नठगेको र कोहीसँग एक रुपैयाँ पैसा पनि नलिएको दाबी गरेका छन् । नेपाल आजसँग उनले आफ्नोबारेमा प्रकाशित समाचारमा सत्यता नरहेको दाबीसमेत गरे ।

उनले भने, ‘म कुनै चोर डाँका होइन, मेरो पनि मिडिया छ म पनि बहुत लेख्न सक्छु, म अब क्षतिपूर्तिसहित न्यायालय जान्छु । म यदि गलत साबित भए सजायँ भोग्छु ।’ 

र यो पनि,  

सप्तरीका यी ठग पत्रकार, जो प्रहरी अधिकारीदेखि भूमिगत सशस्त्र समूहलाई एकसाथ चलाउँछन्