अपराध सुरक्षा

सप्तरीका यी ठग पत्रकार, जो प्रहरी अधिकारीदेखि भूमिगत सशस्त्र समूहलाई एकसाथ चलाउँछन्

बिहिबार, २६ साउन २०७४ गते मा प्रकाशित

baija nath 1

काठमाडौं । सप्तरीलाई कार्यक्षेत्र बनाउँदै आएका एक जना ‘पत्रकार’ले ५ अगस्टको विहान १० बजेर ३४ मिनेट जाँदा आफ्नो फेसबुक वालमा एउटा स्ट्याटस लेखे–पुलिसको बा१झ ७३९२ नम्बर भ्यानमा सप्तरीको सुरुंगा ६ मा पुलिस इन्सपेक्टर राजेन्द्र यादवसहित १२ जनामाथि बम हमला ।

उनले यस्तो स्ट्याटस लेखेपछि स्थानीय सञ्चारकर्मीले उनको मोबाइल नम्बरमा सम्पर्क गरे । तर उनले उठाएनन् । त्यसपछि प्रहरी कार्यालयहरुमा फोन गरे । जवाफ आयो– ‘हालसम्म कुनै पनि घटना भएको छैन । सबै नर्मल छ ।’

फेसबुक वालमा स्ट्याटस लेख्ने व्यक्ति हुन् वैद्यनाथ यादव । यादव सप्तरीका चर्चित ‘पत्रकार’ हुन् । उनी राजविराजबाट प्रकाशित हुने सप्तरी जागरण साप्ताहिकका प्रकाशक हुन् । उनी एभिन्युज टेलिभिजनका सप्तरी संवाददाता पनि छन् । कार्यथलो सप्तरी भएपनि विराटनगरसम्म उनको ‘गर्विलो’ पहुँच छ ।
बेलाबेलामा उनले देखाउने हर्कतले उनका कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिँदैनन् । व्यापारी, तस्करसँग हप्तावारी उठाउने हुनाले इमान्दार पत्रकार उनको छेउ पनि पर्न चाहँदैनन् । पत्रकारिताको नाममा अवैध धन्दा चलाइरहेकाले उनलाई जिल्लामा कसैले भाउ पनि दिँदैनन् । उनको यस्तै व्यवहारका कारण ५ अगष्ट विहानको उनको स्ट्याटसलाई सबैले हावाका रुपमा लिए ।

उनको पहिलो स्ट्याटसलाई हावामा उडाउनेहरु त्यतिबेला अचम्ममा परे, जब उनले स्ट्याटस लेखेको १० मिनेटपछि भने सोही ठाउँमा बम विस्फोट भयो । फेसबुकमा उनले भनेकै गाडी एम्बुसमा प-यो । त्यसपछि विहान ११ बजे उनले पुनः अर्काे पोस्ट गरे, ‘गस्तीमा रहेको इप्रका कडरबौनाको भ्यान सुरूंगा–६ श्रीपुरमा अज्ञात समुहको एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चार जना घाइते, विस्तृत विवरण आउन बाँकी ।’ उनले यस्तो स्ट्याटस लेखेपनि सो घटनामा कोही पनि प्रहरी घाइते भएका छैनन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले पनि सो घटनामा कोही पनि घाइते नभएको प्रष्ट पारेको छ ।

सो घटनाको भोलिपल्ट ६ अगष्टको विहान १० बजेर १ मिनेट जाँदा उनले फेसबुक वालमा पुनः अर्काे स्ट्याटस लेखे । जसमा भनिएको छ, ‘मधेसमा फेरि जन्मिए नयाँ भूमिगत सशस्त्र संगठन ‘प्रगतिशील तराई मुक्तिमोर्चा– कमान्डर सिजन’ ।

पत्रकारिताको नाममा कालो धन्दा चलाइरहेका यी यादव भने अब आफूले खनेको खाल्डोमा आफै फस्दै छन् । प्रहरीले उनको स्ट्याटसलाई गम्भीररुपमा लिँदै छानबिन अघि बढाएको छ । उनले भूमिगत सशस्त्र समूहसँग मिलेर धन्दा चलाइरहेको र भूमिगत सशस्त्र समूहको नाम बेचेर आर्थिक फाइदा लुटिरहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

त्यसो त पत्रकारिताका नाममा कालोधन्दा चलाइरहेका यी यादवसँग सप्तरी, सिरहा, मोरङका प्रहरीहरु पनि हायलकायल भइसकेका छन् । उनलाई राम्रोसँग चिनेका एक जना स्थानीय पत्रकार भन्छन्, ‘राम्रो कपडा लगाएर मीठो बोली बोल्ने उनको बानी नै छ । उनी सुरुमा जसलाई भेट्छन्, उसको राम्रैसँग बखान गर्छन्, गुणगान गाउँछन् । सहयोग गर्ने वचन पनि दिन्छन् । त्यसपछि नियमित सम्पर्कमा पनि बस्छन् । भूमिगत समूह, गुण्डा, लुटेरा, तस्करको सूचना प्रहरी अधिकृतहरुलाई दिन्छन् पनि । र, त्यसवापत रकम माग्छन् । रकम नदिए बनावटी समाचार बनाएर हैरान पार्छन् ।’

मान्छेलाई प्रभाव पार्ने उनको शैली पनि गज्जव छ । उनी विहानै नमस्कार भन्दै पुग्छन् । दिउँसो पनि फोट गरेर नमस्कार भन्छन् । राति सुत्ने बेला पनि सबैलाई नमस्कार भन्दै सुत्छन् ।

आफूले प्रकाशन गर्ने स्थानीय पत्रिकामा मात्र होइन, एभिन्युज टेलिभिजनमा समेत उनले आफ्नो बनावटी र स्वार्थअनुसारको समाचार पठाउँछन् । जसले गर्दा एभिन्युज टेलिभिजन पनि उनकै कारण बेला बेलामा विवादमा पर्दै आएको छ ।  उनी मान्छेको कमजोरी चिन्न र त्यहीअनुसार आफूलाई परिचालित गर्न माहिर छन् । मान्छेको सम्वेदनामा पनि खेल्न उनी पछि पर्दैनन् । मान्छेका नितान्त व्यक्तिगत कुरामा यौनलाई जोडेर बेइज्जत गर्न पनि उनले राम्रैसँग जानेका छन् ।

उनको सबैभन्दा ठूलो खुबी भनेको जिल्लाका प्रहरी प्रमुखहरुलाई अनेकौं सूचना दिएर आफ्नो हातमा लिनु र सँगै उठबस गर्नु । अनि सँगसँगै हिडेको देखाउनु । यसको अर्थ हो, ठूला प्रहरी अधिकृतसँगसँगै हिडेको देखाएर साना प्रहरी कर्मचारीलाई तर्साएर राख्नु ।

सप्तरीका अर्का एक पत्रकार भन्छन्, ‘यतिसम्म कि उनी ठूला अधिकृतसँग चिनेको बहानामा साना प्रहरी कर्मचारीसँग डेढ दुई सय रुपैयाँ, दुई लिटर पेट्रोल पनि माग्न पछि पर्दैनन् । नदिए जागिरबाट बर्खास्त गर्ने, सरुवा गर्ने धम्की पनि दिन्छन् । उनको यस्तो व्यवहारले उनले प्रहरीकै हातबाट बेला बेलामा कुटाइ पनि खानु परेको छ ।’

तस्करसँग मिल्ने र तस्करीको सूचना प्रहरीलाई दिएर पैसा असुल्ने उनको धन्दा सुन्दा थप रमाइलो लाग्छ । यी यादव वैशाख पहिलो साता भारतीय दूतावासको निमन्त्रणमा भारत र त्यसको केही समयपछि नेपाली सेनाको पहलमा कंगोसमेत गएका थिए । त्यहाँ जाने बेला उनले खर्च चाहियो भन्दै प्रहरी अधिकृत, तस्कर, व्यापारीसँग लाखौं रुपैयाँसमेत असुलेको आरोप छ । नयाँदिल्लीमा विदेश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले मधेसमा भूमिगत सशस्त्र संघर्ष चलाइरहेका समुहलाई मान्यता दिनुपर्ने भनाइ राखेका थिए । उनको यो भनाइलाई लिएर नेपालबाट गएका अन्य पत्रकारले उनको चर्काे विरोधसमेत गरेका थिए ।

पत्रकारिता जगतकै कलंकका रुपमा चिनिएका यी यादव यतिसम्म घटिया छन् कि, उनले जोसँग मित लगाए, मितकै बहिनीसँग विवाह गरे । मण्डल थरका व्यक्तिसँग मित लगाएपछि उनको आउजाउ हुनु अन्यथा होइन । मितकै बहिनी इन्दु मण्डलसँग उनले राखी बाँधे, भाइटीका लगाए । र सँगसँगै राखे यौन सम्बन्ध । पछि उनले बाध्यतामा परेर मितकै बहिनी इन्दुसँग विवाह गर्नुपर्ने अवस्था आइलाग्यो ।

सञ्चारकर्मी यादव सप्तरी, सिराहा, विराननगरमा चिनिएको नाम भएपनि उनलाई समाचार भने लेख्न आउँदैन । उनी दुई लाइन पनि राम्रोसँग लेख्न जान्दैनन् । उनले जानेकै ठगी पत्रकारिता हो ।