राजनीति

विमस्टेक मन्त्रीस्तरीय सम्मेलनको आज उद्घाटन, छ देशका विदेश मन्त्रीहरु नेपाल आउँदै

बिहिबार, २६ साउन २०७४ गते मा प्रकाशित

1476769709-bimstec

काठमाडौं । विमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सम्मेलनमा भाग लिन बंगलादेश, भारत, श्रीलंका, भुटान र थाइल्याण्ड, म्यानमारका विदेशमन्त्रीहरु आजै काठमाडौं आइपुग्नेछन् ।

नेपाल तीन वर्षअघि विमस्टेकको अध्यक्ष भएको थियो । त्यसयता अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले पहिलो पटक मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेको हो । यो सम्मेलनमा हालसम्मको प्रगति समिक्षा, खुल्ला व्यापार क्षेत्र, विमस्टेक क्षेत्रमा बिजुली ग्रीड कनेक्सनलगायत १४ विषयमा छलफल गर्ने गरी कार्यतालिका बनाइएको छ ।
बिहीबार दिउँसो सचिवस्तरीय बैठक हुने र साँझ प्रधानमन्त्री देउवाले मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन गर्नेछन् ।

यो मन्त्रीस्तरीय सम्मेलनले विमस्टेक शिखर सम्मेलनको मिति पनि तय गर्ने बताइइको छ । अहिले नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क र विमस्टेक दुवैको अध्यक्ष राष्ट्र हो । सार्कमा पाकिस्तान सदस्य छ । विमस्टेकमा छैन । भारतले पाकिस्तान सदस्य नभएको विमस्टेकलाई क्रियाशील बनाएर सार्कको महत्व घटाउन थालेको अनुमान पनि हुन थालेको छ ।