राजनीति

देश विखण्डन गर्न खोज्नेहरु सल्बलाएः पूर्वराजा ज्ञानेन्द्र शाह

शुक्रबार, २३ असार २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

देश विखण्डन गर्न खोज्नेहरु सल्बलाएः पूर्वराजा ज्ञानेन्द्र शाह

असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाह असार २३ देखि ७० वर्ष पूरा गरेर ७१ मा प्रवेश गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पूर्वराजाद्वारा जारी सन्देशमा हाम्रा पूर्खाले जोगाइदिएको देश अहिले विखण्डन र विग्रहमा जान लागेको हो कि भनेर चिन्ता जाहेर गरिएको छ ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने सारभूत सूत्र सदैव सबै नेपालीले स्मरण गर्नुपर्नेमा पूर्वराजाले जोड दिएका छन् ।

पूर्वराजाको सन्देश यस्तो छः

आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छु । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा  टेकेकाे छु । 
यो जन्मदिनको उपलक्ष्यमा मलाई शुभेच्छा प्रकट  गर्ने, शूभकामना दिने र मप्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु  ।
पद, प्रतिषठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो ।
हाम्रा पूर्खाले  जाेडेकाे र जोगाएको यो देश सदा संरक्षित होस्, सदा  समृदिकाे बाटाेमा मुलुक अगाडि बढाेस मेरो मुल चाहना र कामना यही नै हो ।
देश जोगियो, जोडियो र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार र जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो । राष्ट्रियता, सर्वाभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै नेपाली एक जुट हुनु परेको छ ।
हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सै सधैं नै तयार रहनु पर्दछ ।
पूर्वीय दर्शलने विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराई रहेका छौं । हामी क्रियाशील ऊर्जा बोकेर ब्यूँतिन अब ढिला गर्नु हुँदैन ।
निराशा बोकेर विदेशिएको ऊर्जाशिल युवाशक्तिलाई स्वदेशमै गरिखाने बाटो बनाइ दिन उपाय खोज्न पनि हामी नै जागरुक हुनु पर्दछ ।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने सारभूत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक अनुरोध गर्दछु ।
श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।