स्वास्थ्य

यौन-शिक्षा

काठमाडौंमा कहां हुन्छ देहव्यपार ? को–को जान्छन् ?

बिहिबार, २२ असार २०७४ गते मा प्रकाशित

Sex Work

अधिकारका लागि अभियान नामक संजालले गरेको अध्ययनले उपत्यकाका विभिन्न स्थानमा खुलेआम यौन जन्य क्रियाकलाप भइरहेको तथ्य फेला पारेको छ ।

तीन महिना लामो अध्ययनपछि उक्त तथ्य फेला पारेको संजालले जानकारी दिएकोे छ । संजालले गोंगबु, कलङकीलगायतका स्थानका आकाशे पुल तथा त्यस वरपरका क्षेत्रमा यौनकार्यका लागि सेटिङ मिलाउने काम भएको भेटेको छ । देह–व्यापारमा ११ वर्षदेखि माथिका बालबालिका र किशोरीलगायत प्रौढ महिला पनि संलग्न रहेको अध्ययनले देखाउछ । यौनकार्यका लागि व्यक्ति वा स्थान छनौट गर्दा सांकेतिक रुपमा कुरा हुने, कुरा मिलेपछि गेष्ट हाउसमा जाने गर्दछन् । यौन व्यापरमा सामान्यतः ग्राहक र यौनकर्मीबीच विभिन्न समयको लागि मोलमोलाइ हुने गर्दछ । 

कस्ता यौनकर्मी 

विशेषगरी यौनजन्य कार्यमा आर्थिक अवस्था कमजोर भएका, त्यस्तै, भूकम्पपीडित वासस्थान गुमाएका, साथीसंग लहैलहैमा भागेर सहर प्रवेश गरेका बालबालिकाहरु यौन कार्यमा संग्लग्न हुने गरेको संजालले बताएको छ । ११ बर्षदेखी १८ बर्षका किशोरी, सडक बालबालिका, लागुपदार्थ दुव्र्यसनीमा लागेको पनि यौन व्यापारमा लागेका देखिन्छ । उक्त स्थानमा ग्राहकले यौनकर्मीसंग मोलमोलाई गरिरहेको दृश्य, आवाज, संकेत तथा अनुभव गर्न सकिन्छ । 

यौन ग्राहक 

यसरी यौनकर्मीहरुसंग सम्र्पक गर्ने ग्राहक फरक फरक प्रकृतिका हुने गर्दछन् । प्रायः यस्तो ठाउँमा सेना, प्रहरी, सवारी मजदुर, र बिद्यार्थी बढी हुने गर्दछन् । त्यसै गरी सामान्य मानिसदेखि उच्च ओहोदाको मानिस समेत सेवा लिन जाने देखिएको छ । अध्ययन प्रतिबेदकका अनुसार उनीहरुले प्रतिघण्टा ५ सय देखी १० हजारसम्म तिर्ने गरेका छन ।

 खतरामा यौनकर्मी 

अबैध यौन कार्य नियन्त्रण गर्न सरकारी निकाय चनाखो हुदैगएपछि देहव्यापारको स्वरुप फेरिएको छ । क्याविन रेष्टुरेन्टहरु खाजा घरको रुपमा र मसाजहरु स्पाको रुपमा परिणत भएपनि देहव्यापारको स्वरुप उस्तै छ । भूकम्पपछि मनोरंजन क्षेत्रमा किशोरीको संख्या बढ्दै गएको यसभन्दा अगाडि गरिएका विभिन्न अध्ययनबाट प्रस्ट हुन्छ । यस्ता कार्यमा संलग्न रेष्टुराहरुले एक रातका लागि ग्राहकसँग ५ हजारसम्म लिने गरेको भेटिएको छ । 

जोखिम के छ

 कम उमेरमै यौन सम्पर्क कायम गर्ने चलन बढ्दै जाँदा किशोर किशोरीहरुमा यौन संक्रामक रोगहरुको संक्रमण हुने खतरा धेरै हुने एक अनुसन्धानले देखाएको छ । यौन प्रसारित संक्रमण अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्समा गोनोरिया, भिरिंगी, एड्स तथा क्लेमाइडिाया लगायतका रोग पर्दछन् । शोधकर्ताहरुका अनुसार अहिले विश्वमा किशोर किशोरी तथा युवायुवतीहरुमा चिकित्सकीय तथा मनोवैज्ञानिक समस्याको प्रमुख कारण नै यौनसम्पर्कका माध्यमबाट हुने संक्रमण बनेको छ ।

त्यस्तै किशोरीहरु यौनजन्य कार्यमा लाग्दा किशोरीहरुको पूर्ण रुपले शारीरिक तथा मानसिक विकाश नभइसकेको हुनाले धेरै खतरा रहेको थापाथली प्रसूती गृहका वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा निर्देशक जागेश्वर गौतम बताउँछन् । सानै उमेरमा यौन व्यावसायमा लाग्दा उनीहरुको कार्य समाजले थाहापायो भने समाजबाटै बहिस्कृत हुन पर्ने, आर्थिक लाभको मोहमा परेर पढ्न लेख्न छाडिदिने र यौनजन्य रोगहरुले आक्रमण गरेपछि उनीहरुको स्याहार सुसार गर्ने कोहीपनि नहुने हुनाले समग्र भविष्य नै डरलाग्दो हुने डा. गौतम बताउँछन् । हाम्रो समाजले यौनलाई विवाह पूर्व बन्देज गरेको हुनाले यौन व्यावसाय गर्नेलाई उनीहरुको विवाहबन्धनमा पनि समस्या आउन सक्छ । सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक रुपमा कमजोर भएपछि यौनकर्मीले आत्महत्या समेत गर्नसक्ने डा. गौतम बताउँछन् । किशोरीमा हुने असुरक्षित यौन सम्बन्धका कारण योनी तथा पिसाबमा सङक्रमण वढेपछि विभिन्न रोगहरुबाट पीडित हुने बरिष्ठ मृगौला रोग बिशेषज्ञ डाक्टर ऋषी कुमार काफ्ले बताउछन । उनी भन्छन ‘ मानसिक तथा शारिरिक जोखिम त छदैछ, उनीहरुको मृगौलामा समेत गम्भिर असर पर्छ । ’

 कसरी बच्ने 

वरिष्ठ स्त्री रोग बिशेषज्ञ जागेश्वर गौतमका अनुसार राज्यले आर्थिक रुपमा सक्षम बनाउने, रोजगारी तथा शिक्षा दिक्षा दिने राम्रो व्यवस्था गरेमा यस्तो कार्य आफैं हट्छ । सबभन्दा महत्वपूर्ण कुरा रोजगार र आर्थिक रुपमा सबल हुनु हो । उनी भन्छन ‘यस्तो व्यावसाय गर्ने किशोरीहरुलाई यो पेशा ठीक होइन भनेर जनचेतना दिनुपर्दछ । यसको डरलाग्दो असर र परिणामका बारेमा बताइदिनु पर्छ ।

यस्तो दृश्य काठमाण्डौका विभिन्न गल्लीमा रातदिन देख्न सकिन्छ । तर समबन्धित निकाय मौन जस्तै छ । यो कार्य रोक्न केही पहल भएको छैन । यस अध्ययनमा एमएमएडी नेपाल, विस्वास नेपाल, क्याप नेपाल, आवाज नेपाल, दलित महिला उत्थान संघ लगायतका संस्थाहरुको संलग्नता थियो । सडक र सानातिना गेस्टहाउसमा हुने देहव्यापार प्रहरीको आम्दानीको स्रोत बनेको छ । बेलाबेलामा पक्राउ गर्ने र हप्ता असुल्ने गरिन्छ । ठुला होटलमा ठुलै कारोवार हुन्छ, त्यस्तो ठाउँमा रोकतोक छैन । देहब्यापारमा समेत ठुलालाई चैन सानालाई ऐन भएको छ ।