मेरो परिवार मेरो कथा

भिडियो

आठ सय तलब खाने हिमाल परिश्रमकै बलमा १५ रेष्टुरेन्टका मालिक बने (भिडियोसहित)

बुधबार, २१ असार २०७४ गते मा प्रकाशित

himal-shrestha-aone-cafe-nepalaaja

असार २१ । काठमाडौंको योङ हर्ट रेष्टुरेन्टमा हिमाल श्रेष्ठ वेटर थिए । मासिक ८ सय तलब बुझ्थे । नौ वर्ष काम गरेपछि उनको तलब बढेर १५ सय पुग्यो । जीवनको भोगाई बुझ्न उनको तलबको यो ग्राफ पर्याप्त छ ।

नौ वर्ष काम गरेर पनि हालत फरक नभएपछि उनले तीनकुनेमा आफैले काम गरेको रेष्टुरेन्ट छेउमा ए वान क्याफे खोले । पाँच जना साझेदार मिलेर झन्डै ३० लाख लगानी गरे । ए वान । योङ हर्टमा तलब कम भए पनि ग्राहकले हिमाललाई माया गर्थे । टिप्स दिन्थे । आफ्नो भागमा परेको ६ लाख उनले जुटाए ।

तीनकुनेको ए वान खुब चल्यो । दोस्रो रेष्टुरेन्ट धुम्बराहीमा खोले । मध्ये बानेश्वमा पनि खुल्यो । त्यसपछि उनको चेन बढ्दै गयो । अहिले १५ रेष्टुरेन्ट चलिरहेका छन् ।

रेष्टुरेन्ट चलाउन अरु भन्दा बढी गाह्रो रहेको हिमालको अनुभव छ । मूल समस्या भनेको घरबेटी नै हुन् । अरु व्यवसायलाई ५० हजार भाडा हुँदा रेष्टुरेन्टका लागि एक लाख भाडा मागिन्छ । धेरै लगानी गरेपछि घर छाड भन्नेहरु पनि हुन्छन् ।

त्यतिमात्रै होइन रेष्टुरेन्ट व्यवसायमा दुःख दिनेहरु प्रहरी पनि हुन् । कुन्डले, मुन्द्रे, गुन्डाहरुबाट पनि व्यवसाय चलाउन गाह्रो छ । कर भ्याट, अनुगमन आदिबाट सहज नभएको उनको अनुभव छ ।

अनुगमनका नाममा पनि दुःख दिने मात्रै नियत रहेको उनको बुझाइ छ । हिमाल भन्छन्, ‘हामीले तरकारी ल्याउने ठाउँमै फोहोर हुन्छ । त्यहा अनुगमन हुँदैन । टुकुचाको पानीले साग पखालिन्छ, त्यहाँ पनि अनुगमन हुँदैन । बधशालामा अनुगमन गरिँदैन । अनि हाम्रो रेष्टुरेन्ट मात्रै फोहोर छ भन्ने गरिन्छ । सबैतिर समान व्यवहार होस ।’

प्रहरीले दिने दुःखबारे खुलस्त पार्दै हिमालले भने, ‘बेलुका ९ बजेसम्म रेष्टुरेन्ट खुला हुन्छ । कुनै कुनै ग्राहक नौ बज्नै लाग्दा प्रवेश गर्छन् । नआउनुस भन्न मिल्दैन । १५ मिनेटमा सबै खाएर बाहिर जानुस भन्न मिल्दैन । १० बजेसम्म ग्राहक बस्छन् । अनि प्रहरीले नियम थाहा छैन ? किन १० बजेसम्म भन्न थाल्छन् ।’

फास्टफुट एसोसिएसन नेपालका महासचिवसमेत रहेका हिमालले व्यवसायका समस्या बुझिदिन प्रहरी प्रशासनमा आग्रह पनि गरेका छन् ।

श्रेष्ठसँगको कुराकानीको पूर्णअंश यो लिंकमा उपलब्ध छ ।