भिडियो

कुरा: खस्रा मिठा

अमेरिका र यहुदी लबीले नचाहेसम्म भारत र चीन युद्ध हुँदैन (भिडियोसहित)

बुधबार, ११ साउन २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-aaba-sena-aaunuparcha-nepalaaja

भारत र चीनबीच अहिले चीन र भूटान दुबैले दाबी गर्दै आएको विवादित भूमि दोक्लम पठारमा तनाव देखिएको छ । दोक्लम पठारमा चीनले अहिले निर्माण गर्दै गरेको बहुचर्चित र बहुआयामिक महत्व बोक्ने सडकलाई लिएर भारतीय पक्षले असन्तुष्टि व्यक्त गर्दै आफ्नो सेना पठाएपछि दुई देशबीचको सम्बन्ध अहिले थप बिग्रदै गएको छ । भारत चाहन्छ, चीनले सो सडकको निर्माण रोकोस् । चीन भने भारतीय सेना तत्काल फर्कनु पर्छ भन्ने अडानमा छ ।

यी दुई देशले आफ्ना माग अघि सारिरहँदा हालसम्म त्यहाँ भारत र चीनका सेना धकेलाधकेल र गाली गलौजसम्म उत्रेको भिडियो फुटेज बाहिर आएका छन् । तर, दुई देशका सेना साँच्चै नै भिडन्तमा उत्रे के होला ? सर्वत्र चासो फैलिएको छ । दोक्लम पठारको विषयले अहिले विश्वकै ध्यान तानिरहेको छ । विश्वका दुई सर्वशक्तिमान मुलुक चीन र भारत दुबैले यो विषयलाई अहिले प्रतिष्ठाको विषय बनाइरहेका छन् ।

यी दुई देशका उच्चपदस्थ अधिकारीहरुको भनाइ नियाल्दा दुबै देश आवश्यक परे युद्ध लड्नसमेत पछि नपर्ने जस्तो देखिएको छ । जस्तो कि, हालै मात्रै भारतीय सेनापति विपीन रावत स्वयं सीमावर्ती क्षेत्रमा पुगे । त्यहाँ पुगेर उनले ‘टु एन्ड अ हाफ फ्रन्ट वार’ का लागि भारत तयार रहेको टिप्पणी गरे । उनको भनाइको अर्थ पाकिस्तान, चीन र आन्तरिक सुरक्षाका लागि भारतीय सेना परिचालन हुनसक्छ भन्ने नै हो ।

जवाफमा चीनले उनलाई ‘इतिहासको पाठ नबिर्सन’ चेतावनी दियो । यो चेतावनीको अर्थ हो, सन १९६२ मा भएको चीन र भारतबीचको द्वन्द्व । त्यसबेला भारत नराम्ररी पराजित भएको थियो । चीनको जवाफमा भारतीय रक्षामन्त्री अरुण जेट्लीले भनेका छन्, भारत ‘सन् १९६२ को होइन ।’ जवाफमा फेरी बेइजिङले आफू पनि उसबेलाको चीन नरहेको प्रतिक्रिया दियो ।

सन् १९६२ को युद्धपछि ‘हिन्दी–चिनी भाइ–भाइ’ को सम्बन्ध अहिले पूर्णतः खण्डित भएको छ । त्यसपश्चात् उनीहरूको सीमा क्षेत्र सधैंजसो तनावग्रस्त रहँदै आएको छ । वास्तवमा दोक्लम द्वन्द्वका कारण भारतसँग बढेको चीनको दूरीले दक्षिण एसियातर्फ उसको हेराइमै मूलभूत बद्लाव आउँदै गरेको संकेत मिल्छ । हो, चीन सिक्किम विलयलाई मान्यता दिने दस वर्षअघिको निर्णय उल्ट्याउन चाहन्छ ।

दोक्लम क्षेत्र मुन्तिरको मैदानमा ‘चिकन्स नेक’ भनिने यस्तो सम्वेदनशील भारतीय भूभाग छ, जुन भूभाग नेपाल र बंगलादेश बीचको दूरी करिब २२ किलोमिटर मात्र छ । भुटान र चीनसँगको अन्तर्राष्ट्रय सिमाना पनि छेवैमा छ । त्यो चिकन्स नेक नहुने हो भने पूर्वोत्तर क्षेत्रका आठवटा राज्य (सिक्किम, असम, मेघालय, अरुणाचल प्रदेश, मिजोरम, नागाल्यान्ड, त्रिपुरा र मणिपुर) सँग भारतको स्थल सम्पर्क नै टुट्छ ।

चीनले कुनै बेला यस्तो सामरिक लाभ लिन खोज्ला कि भन्ने त्रास भारतको रक्षा संस्थापनमा सदैव देखिने गर्छ । उता, भारतको पनि चीनसित सीमा विवाद बाहेक अन्य थुप्रै मुद्दामा रहेको असहमतिले गर्दा सम्बन्ध तनावग्रस्त रहेको छ । त्यसमध्ये प्रमुख विषय अहिले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) हो । यो बाटो भारतीय दाबी रहेको पाकिस्तान नियन्त्रित कश्मीर भएर गुजिँ्रदैछ ।

त्यसैगरी चीनले भारतलाई न्युक्लियर सप्लायर्स गुपको सदस्यताबाट वञ्चित गर्नु अनि मौलानमसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंककारी नस्वीकार्नु अनि भारत ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सहभागी नहुनुले द्विपक्षीय सम्बन्धमा तनावको पारो चढेको हो । भारत र चीन दुबै नेपालका छिमेकी मुलुक हुन् । कदंकदाचित यी दुई देशबीच युद्ध भइहालेको अवस्थामा त्यसको बाछिटा नेपालमा समेत पर्न जान्छ ।

यस्तो स्थितिमा नेपालले कस्तो कुटनीति अवलम्बन गर्नुपर्छ ? के हो दोक्लाम समस्या ? यसैको सेरोफेरोमा हामीले राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीको धारणा बुझ्ने प्रयास गरेका छौं । राजनीतिक विश्लेषक सुवेदीको भनाइअनुसार, अहिलेको दोक्लाङ समस्यामा मूलतः चार तत्वले काम गरेको देखिन्छ । जसमा मलक्का स्टेट, यहुदी कनेक्सन, पानी राजनीति र नेपालको बस्तुगत अवस्था छन् ।

विश्लेषक सुवेदीले यी विषयलाई अन्तर्वार्तामा गहन विश्लेषण गरेका छन्, जुन विश्लेषण अत्यन्तै सान्दर्भिक, रोचक र गहन लाग्छन् । हामीले चीन र भारतबीच दोक्लाङ समस्या चर्कँदै जाँदा के दुई देशबीच युद्ध हुन्छ त भन्ने जिज्ञासा पनि राखेका थियौं । उहाँको जवाफ थियो, ‘अमेरिका र यहुदी लबीले नचाहेसम्म युद्ध सम्भव छैन । चीन र भारतले चाहे पनि युद्ध हुँदैन । युद्धमा अमेरिका र यहुदी लबीकै ठूलो हात देखिन्छ ।’

अन्तर्वार्तामा उनले युद्ध भएको अवस्थामा कसलाई कुन देशको र कस्तो सहयोग हुन्छ भन्ने पनि विस्तृत वर्णन गरेका छन् । हामीले उनलाई सोधेको अर्काे जिज्ञासा हो, यदि युद्ध भएको अवस्थामा नेपालले कस्तो कुटनीति अवलम्बन गर्नुपर्छ ? यसमा उनको जवाफ अत्यन्तै गम्भीर र कुटनीतिक थियो । उनको भनाइ थियो, ‘नेपालले भारतलाई घृणा गर्नुको कुनै अर्थ छैन । भारतलाई घृणा गर्नु नेपालका लागि घातक छ ।’

राजनीतिक विश्लेषक सुवेदीको अर्काे मार्मिक भनाइ थियो– नेपालमा सरकारलाई जसरी पनि भारतपरस्त भन्ने देखाउन खोजिदैछ । जनतालाई भने चीनतर्फ धकेल्न खोजिदैछ । सरकार र जनतालाई नै फरक फरक कित्तामा उभ्याउन खोजिदैछ । यसप्रति सबैको ध्यान जान जरुरी छ ।

राजनीतिक विश्लेषक सुवेदी कुनै पनि बेला नेपालमा चीन वा भारतमध्ये एउटा देशको हस्तक्षेप हुनसक्ने आंशका पनि गर्छन् । र, भन्छन्, ‘राजालाई सिध्याइयो, अब कांग्रेसलाई सिध्याउने प्रयास भइरहेको छ, त्यसपछि सेनालाई सिध्याउने खेल हुन्छ, सेना सकेपछि नेपालमाथि नै प्रहार हुन्छ ।’ त्यसैले उनी स्थानीय तहको २ नम्बर प्रदेशको पनि निर्वाचन सकेपछि राष्ट्रपति वा नेपाली सेनालाई राजनीतिक भूमिकामा ल्याउनु पर्नेमा जोड दिन्छन् । झण्डै दुई वर्षअघि भएको नाकाबन्दीको अन्त्य नेपाली सेनाको कुटनीतिक सफल भएकोमा पनि उनी जोड दिन्छन् ।