बिचार / ब्लग

नेपाली म्युजिकः एडोप्सनको सिकार

– अनुज कुलुङ

बुधबार, ११ साउन २०७४ गते मा प्रकाशित

Anuj Kulung

केहि हप्ताअघि मात्र भारतका चर्चित गायक कुमार सानु नेपाल आए । अनि निकै लामो समयपछि नेपाल आएर कन्सर्ट सम्पन्न गरे । ९० को दशकमा कुमार सानुको एकछत्र राज थियो । त्यो समयको सांगीतिक माहौल र आजको सांगीतिक माहौल भारतमा धेरै फरक छ ।

एक अन्तरबार्तामा कुमार सानुले भनेका छन् 'आजकलका संगीतकारले क्रियशन गर्दैनन्, उनीहरुले मात्र पुरानो गीतहरुबाट एडोप्सन मात्र गर्छन् ।' यो पंक्तिले पंक्तिकारको मगजमा यस्तरी टासियो कि हरसमय सोच्न बाध्य बनायो । एउटा श्रृजना गर्ने मान्छेले साँच्चै कल्पनाको शून्यतामा अडिएर यथार्थमा श्रृजना गर्छ या अरुको श्रृजनालाई भत्काएर आफ्नो बनाउने प्रयत्न गर्छ । यो बिषय बडो गम्भीर छ ।

पछिल्लो समयमा महत्वकांक्षी नेपाली चलचित्र 'छक्का पन्जा २' को टाइटल गीत बडो सानदार तरिकाले बिद्युतिय भिडियो भण्डार युट्युबबाट सार्बजनिक भयो । उक्त गीतको रिलिज मिति र समय अनुहार पुस्तिकामा दीपकराज गिरीले रिलिज हुनु अघि नै बताइसकेका थिए । यो पंक्तिकार पनि सुन्नलाई उत्सुक भइरहेको थियो ।

कलाकार गिरीको सुरुको फिल्म 'छ एकान ६' को गीतहरु त मलाई बकवास नै लागेको हो । अर्को फिल्म 'वडा नं ६' का गीतहरु निकै चर्चामा रहे । सदाबहार नभए पनि सुन्न लायक र बजारले मागेको गीतहरु थियो । यता 'छक्का पन्जा' मा पनि चौपट्टै लोक धुनलाई आधार मानेर राम्रो गीत बजारमा ल्याएका थिए । यसमा संगीतकार राजनराज सिवाकोटीले निकै मेहनत गरेको देखिन्छ ।

त्यहि अनुरुप 'छक्का पन्जा २’ को गीत पनि गजब्बै होला भन्ने मलाई लागिरहेको थियो । युट्युबर उत्सब रसाइलीले आफ्नो प्रोफाइलमा बिहान सेयर गरेको देखेपछि मैले सुने पनि । गीत त धेरै मीठो छ तर यो गीत मैले धेरै पहिलेदेखि नै सुन्दै आएको गीत हो तर कसको हो भन्ने मैले खुट्याउन सकिन । एक दुई जना साथीहरुलाई सेयर पनि गरे । कति साथीहरुले भने गीत ठीकै हो भने कतिले पुरानो लोक गीतको कपि गरेछ भने आदि आदि । र मैले केदार घिमिरे(माग्नेबुढा) लाई आवाजमय म्यासेज पठाए 'यो गीत राम्रो छ । सबै ठीक छ । यो गीत बिल्कुल नयाँ नै भन्न मिलेन । पुरानो लोकगीतको इम्प्रुभाइज मात्र गरेको हो । शुभकामना ।' म्यासेजको रिप्लाई चाहिँ आएन । कतै मन दुखेर होला सायद ।

भोलिपल्ट थाहा भो यो गीत पुराना श्रष्टा कान्छा मगर नेपालीको श्रृजना रहेछ । पछि एकाएक भिडियोहरु रिलिज भए । कान्छा मगर नेपालीको नाती श्याम नेपालीको त एउटा भिडियोमा यो गीतसम्बन्धि चर्चा भएको देख्दा मलाई साह्रै दुःख लागेर आयो । लाग्यो कि यति धेरै लाजमर्दो काम किन गरे अल्मोडा राना उप्रेतीले ।

धेरै प्रश्नहरु उब्जियो अल्मोडा प्रति । के उनमा श्रृजनशील क्षमता नभएको हो ? उनलाई श्रृजना गर्न अल्छि गरेको हो ? उनी संगीत बिषयमा धेरै राम्रो अध्ययन गरेका ब्यक्ति हुन् । यति हुँदाहुँदै किन यस्तो काम गरे त उनले ? यो प्रश्नको जवाफ पाउँछु पाउँदिन मलाई थाहा छैन । तर पंक्तिकार एक आम नेपाली संगीतको श्रोता भएको कारणले यो प्रश्नको उत्तर उनले कुनै दिन दिनु पर्छ ।

अर्को दिनमा कलाकार गिरीले यो गीतको राज खुलाए । साथै उनलाई समेत अल्मोडाले अन्धकारभित्र राखिदिएको कुरा पनि जनाए । विरोध पनि जनाए । कान्छा मगर नेपालीको श्रृजनाप्रति भएको यो घटनामा चाहिँ यसपछि के गर्छ निकै कौतुहलताको बिषय बनिरहेको छ ।

युवाहरुको ढुकढुकी बनिरहेका गायिका आस्था राउत घण्टैपिच्छे फेसबुकमा आक्रोस पोखिरहेकी छिन् कि किन मिडिया र अन्य कलाकारहरु यो बिषयमा एकजुट भईरहेका छैनन् ?

श्रृजनाको मूल्य अनि त्यसको तौल मापन गर्ने कुनै यन्त्र सायद दुनियाँमा छ या छैन । त्यो म आफू जान्दिन । तर पनि श्रृजनशील ब्यक्तिहरुले जब जब कठोर साधाना पश्चात् आफ्नो श्रृजना पस्कन्छ तब त्यसले मानिसको हर जीबनमा, समाजमा, राष्ट्र अनि विश्व नै उथलपुथल गर्ने काम हुन्छ । अब त्यो श्रृजनाको मूल्य कति र तौल कति ?

त्यसो त नेपाल हरेक कोणबाट धनी छ । आर्थिक रुपमा यो देशमाथि नभए पनि त्यसका अलाबा श्रृजनाको कोणबाट पनि धनि नै मान्नुपर्छ ।

कपिराइटको बिषयमा 'नाइलनको साडी' मात्र होइन निकै लामो समयदेखि नै यस्तो घटना हुदै आएको छ । सन् १९६६ मा हिन्दी चलचित्र निर्देशक बिजय आनन्दले एउटा चलचित्र बनाएका थिए । फिल्मको नाम 'तीश्री मन्जिल' । उक्त गीतमा संगीत भर्ने काम पाएका थिए चर्चित संगीतकार आरडी बर्मनले ।

त्यस फिल्ममा ७ वटा गीत छ । त्यसमध्ये एकवटा 'दीवाना मुझसे नहि' भन्ने गीत नेपाली गीतको धुनमा छ । त्यो गीत अजर अमर संगीतकार अम्बर गुरुङको कालजयी सदाबहार गीत 'ए कान्छा मलाई सुनको तारा खसाईदेउन' गीतबाट अति प्रभावित छ । उक्त गीतको स्थायिको पूरै २ लाइन अनि अन्तराको २ लाईन एउटै छ । अन्तराको तेश्रो लाइन मात्र फरक तरिकाले बर्मनले निर्माण गरेका छन ।

यो बिषयमा अम्बर गुरुङले हङकङमा उनको एकल साँझ भएको बेला कुरा उप्काएको थिए । रेकर्डिङको बेला सबैले मन पराएको र त्यहि स्टुडियोबाटै उक्त गीत बाहिर गई बर्मनीय घटना भएको कहानी सुनाएका थिए । त्यो समयमा कपिराइट मुद्दा हाल्ने कुनै मेलोमेसो र परिस्थिति नै नभएको पनि बताए ।

यता आरडी बर्मनले उक्त गीत 'नेपाली फोल्क बेस'को गीत भनेर उनको पुस्तकमा भनेका कुरा फेला पारियो । त्यो कुरा उनको बायोग्राफिक बुक 'आरडी बर्मन: द म्यान, द म्युजिक' मा छ ।

यस्तो घटनाहरु नेपाली गीत संगीत भित्रै पनि थुपै्र छ । प्रभाव पर्नु र श्रृजना गर्नु अनि सुन्नु र दुरुस्तै आफ्नो बनाउनु त्यो निकै फरक कुरा हो ।

संगीत मात्र नभएर साहित्यमा पनि उत्तिकै यस्तो किसिमको घटनाहरु भईरहन्छ । एक चर्चित गीतकारले एउटा गीतिसंग्रह निकाले । केही समयमै अर्को नयाँ गीतकारले गीतिएल्बम प्रकाशनमा ल्याए । उक्त गीतको टाइटल गीत चर्चित गीतकारको किताबबाट चोरिएर लेखिएको देखियो । पछि ति कुराहरु खाँसै बजारमा आउन नपाई सेलाए ।

भयंकर नेपाली साहित्यमा चर्चित कविहरुले पनि अरुको कविता चोरेको आरोप नसुनेको कहाँ हो र । नेपाली साहित्य क्षेत्रका बिर्सनै नसकिने साहित्यकार शंकर लामिछानेसमेतलाई गुमनामी ब्यक्ति कुमदीनीको साहित्यिक चोरको आरोप लागेकाे छ ।

यस्तो घटना भइराखेकै छ । हिजो आज र भोलि । तर यसलाई साम्य पार्ने ठीक ब्यक्ति हामी कहाँ भएन । हामी नै यसको निम्ती अघि बढ्न सकेनाैँ । गन्ति गनेर नसकिने संस्थाहरु छन् । तर रमिता हेरिरहेका छन् । बौद्धिक सम्पत्तिको हकहितको लागि भनेर दौडिरहने महाशयहरु आज कुन दुनियाँमा फेसबुक चलाएर समय काटिरहेका छन् थाहा छैन ।

श्रृजनाको मूल्य होस् । श्रृजनाको सम्मान होस् । श्रृजनाको अपमान नहोस् । कुरा यति हो ।