विदेश

मुख्य समाचार

दार्जिलिङको आन्दोलन अब दिल्ली केन्द्रित, बन्द हड्ताल भने कायमै

बुधबार, ०४ साउन २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

दार्जिलिङको आन्दोलन अब दिल्ली केन्द्रित, बन्द हड्ताल भने कायमै

साउन ४ । गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलिङमा जारी आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ ।

मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ आन्दोलनलाई जारी राख्दै केन्द्रिय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ दल र आन्दोलनलाई समर्थन गर्ने बुद्धिजीवीहरुको सहभागिता रहेको बैंठकले कमिटीले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने निर्णय गरेको छ ।

बैंठकले आन्दोलनलाई थप सशक्त बनाउनका लागि दुई वटा समिति बनाउने निर्णय गरेको छ ।एउटा समितिले सिक्किमसँग सहयोगका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिम बंगाल सरकारलाई भेटेर दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ ।

आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ । दार्जिलिङलगायत पहाडमा भइरहेको आम हड्ताल र प्रदर्शन जारी राख्ने आन्दोलनकारीहरुको निर्णय छ ।

छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघिदेखि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ । ३५ दिनदेखि दार्जिलिङलगायत पहाडी क्षेत्रमा आम हड्ताल जारी छ ।