भिडियो

अन्तरवार्ता

नेपालीलाई गाली गरेर दार्जिलिङेहरुको आन्दोलन सफल हुँदैन (भिडियोसहित)

शनिबार, १७ असार २०७४ गते मा प्रकाशित

sunil-kumar-pokharel-gorkhaland-nepalaaja

डा. सुनील कुमार पोख्रेल जातीय पहिचान र स्रोत व्यवस्थापनका विज्ञ हुन् । पहिचानको विषय नेपालमा मात्रै नभएर भारतमा पनि उठ्ने गरेको छ । पछिल्लो समय भारतमा गोर्खाल्याण्डको आन्दोलनले पनि पहिचान नै खोजिरहेको छ । डा. पोख्रेलसँग नेपाआजले भारत पश्चिम बंगालमा गोर्खाल्याण्डको आन्दोलन र जातीय पहिचानबारे कुराकानी गरेको थियो । जसमा डा. पोख्रेलका मूलभूत धारणाहरु यस्ता छन्ः

दार्जिलिङको भाषा र संस्कृतिमा भारत सरकारको ध्यानकेन्द्रित भएन । यस्तो आन्दोलन धेरै भयो । विभिन्न उतारचढाव आए । दबाब थेग्न नसकेर राज्य सरकारले केन्द्र सरकारको स्वीकृतिमा दार्जिलिङलाई विशेष क्षेत्रको अधिकार दिएको थियो ।
तर अहिले फेरि पश्चिम बंगाल सरकारले त्यहाँको विद्यालयहरुमा बंगाली भाषा अनिवार्य गराउन खोजेपछि आफ्नो मातृभाषा ओझोलमा पर्ने हो कि भनेर आन्दोलन चर्किदै गयो ।

भाषा भन्दा पनि स्रोत बढि महत्वपूर्ण हुने

पश्चिम बंगाल सरकारले ‘टुरिजम’ र चियाबाट धेरै कर संकलन गरे पनि विकास गर्न नसकेको भन्ने कुरा उठेको छ । दार्जिलिङको आयको मुख्य स्रोत कृषि र पर्यटन हो । त्यसको ठूलो हिस्सा राज्य सरकारलाई जान्छ । भारतका अन्य क्षेत्रको तुलनामा दार्जिलिङले विकासमा फड्को मार्न सकेको छैन । समृद्धि मानिसको खुशीयालीसँग जोडिन्छ भने भाषा भावनासँग ।

जहिले पनि आन्दोलनको सुरुवात सानो कुराबाट हुन्छ । त्यसले एउटा रुप लिइसकेपछि आन्दोलनमा एउटामात्र नभएर अन्य थुप्रै मुद्दा थपिदै जान्छन् । यो दार्जिलिङमात्र नभएर हरेका ठाउँमा भएका छन् । भाषाको कुरासँगै अहिले स्रोत पनि जोडियो ।

नेपाल भारत सीमामा पर्खाल लगाउने हैन, व्यवस्थत गरिनुपर्छ

नेपाल र भारतबीचको सम्बन्धमा पर्खाल लगाएर, बोर्डर सिल गरेर या पासपोर्ट ‘सिस्टम’ राखेर राम्रो हुने होइन । हाम्रो जब मन मिल्छ सबै कुरा ठिक हुन्छ । बोर्डर त खुल्ला हुनुपर्छ । नेपाल –भारत मात्र होइन अन्य देशहरुसँग पनि । किनभने यो पृथ्वी मानवजातिको साझा हो । जो जहाँ पनि गएर बस्ने प्रणाली विकसित गर्नुपर्छ । राजनीतिक सुरक्षाको दृष्टिले मानिसले सीमा र पासपोर्टको व्यवस्था गरेको हो ।
सीमामा सहजता हुनु पर्छ । सीमा बन्द गर्ने भन्दा पनि व्यवस्थित गर्ने उपाय खोजिनु पर्छ ।

दायराबाहिर गएर दार्जिलिङबारे बोल्नु व्यवहारिक हुँदैन

हामी नेपालीहरु आज दार्जिलिङको विषयमा बोल्छौँ भने तमिलको मामलामा किन बोल्दैनौं ? यस्ता द्वन्द्व भारतमा अनेकन छन् । दार्जिलिङमा बस्ने मानिसहरु भारतमा बस्दै आएकाहरु भन्दा पनि पुराना आदिवासीहरु हुन सक्छन् । उनीहरुको मातृभाषा मात्र नेपाली हो । उनीहरु पूर्ण रुपमा भारतीय हुन् । त्यसकारण उनीहरुको आन्दोलन उनीहरुले नै अघि बढाउनुपर्ने हुन्छ ।
हामीले निश्चित दायरामा बसेर मानवअधिकारको लागि बोल्न मिल्छ । नेपालीहरुले दार्जिलिङलाई फरक रुपमा हेरिनु हुँदैन र दार्जिलिङमा रहेका मानिसहरुले नेपालीलाई गाली गरेपछि आन्दोलन अघि बढ्छ भन्ने कुरा सोच्नु नै बेकार हो । त्यो आन्दोलन उनीहरु आफैँको निश्चत मुद्दाले अघि बढ्छ । यो कुरा उनीहरुले बुझ्न जरुरी छ ।

गोर्खाल्याण्डको आन्दोलनले नेपालमाा पार्ने नराम्रो प्रभाव

गोर्खाल्याण्ड आन्दोलन यदि भाषा र संस्कृतिको आधारमा सफल भयो भने नेपालमा पनि अन्य दुई चारवटा प्रदेश भाषाको आधारमा विभाजन हुन बेर छैन । त्यसको सकारात्मक पक्ष बुझिएन भने नेपालमा पनि नकारात्मक प्रभाव हुन सक्छ ।
नेपालीले दार्जिलिङलाई आफ्नो भूभाग भन्नु कत्ति पनि व्यवहारिक हुन्न

विवादित जमिन मानिने दार्जिलिङबारे इीतहास पल्टाउने हो भने भारत पनि यत्तिको ठूलो थिएन । साना साना देश मिलेर बनेको हो । नेपालमा पनि २३ या २४ राजा भनेर हामीले सुनैकै छौँ ।

समयक्रममा शक्ति जोसँग बढि छ त्यही अनुरुप राज्य सानो र ठूलो हुने गरेको थियो । तर आज संसार सिस्टममा चलिसकेको छ । सबैलाई निगरानी गर्नको लागि संयुक्त राष्ट्र संघ खडा भइसकेको छ । त्यसकारण अहिले नेपालीले दार्जिलिङलाई आफ्नो भू भाग भन्नु कतिसम्म व्यवहारिक हुन्छ त्यो म भन्न सक्दिनँ ।

सयौं वर्षको इतिहासलाई अघि सारेर यो मेरो र यो तेरो थियो भन्ने हो भने पाँच सय वर्षअघि कबिलाको राज्य के थियो त भनेर पनि खोज्नुपर्ने स्थिति आउन सक्छ । त्यसकारण हामीले आफ्नो निश्चित दायरामा बसेर गोर्खाल्याण्ड आन्दोलनबारे बोल्नु जरुरी हुन्छ ।

(डा. पोख्रेलसँगको कुराकानीको विस्तृत भिडियो लिंक क्लिक गरेर हेर्न सकिन्छ । सं.)