अन्तरवार्ता

भिडियो

बाबुरामलाई सामाजिक सञ्जालमा गाली गर्ने जति सबै बेकामे लफंगा हुन् (भिडियो अन्तर्वार्ता)

रवीन्द्र मिश्र मट्यांग्रा हुन् भने बाबुराम पृथ्वी

मङ्गलबार, ३० जेठ २०७४ गते मा प्रकाशित

madan-rai-bharuram-nepalaaja

नयाँ शक्तिका नेता मदन राई यौनसम्बन्धी उदार धारणाका कारण बेला बेला चर्चामा विवादमा पर्ने गर्छन् । कृषिका विज्ञ राई राजनीतिलाई पनि शुक्ष्म ढंगले केलाउँछन् । वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति अगाडि आउन खोजेको छ । तर पहिलो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्तिलाई जनताले पत्याइदिएनन् । वैकल्पिक शक्ति, निर्वाचन, संयोजक डा. बाबुराम भट्टराईको वरपर रहेर उनीसँग नेपाल आजले कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको मुख्यमुख्य अंशहरुः

वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति भन्ने गर्नुहुन्थ्यो, तपाईको नयाँ शक्तिलाई न जनताले पत्याए, न कार्यकर्ताले । धेरैले छाडेरै गए नी ?

हो केही साथीहरुले छाडेर जानु भयो । निर्मल भट्टराई, हरिराम रिमाललगायतले छाडेर जानु भयो । म त भन्छु उहाँहरुले ठीक गर्नुभयो । किनभने उहाँहरु यहाँ फिट हुनु भएन । उहाँहरुको बानी व्यहोराले गाह्रो भएको होला । निर्मलजी एमालेमा जानु भयो । किनभने उहाँका लागि एमाले नै ठीक हो । जहाँसम्म रामेश्वर खनालको कुरा छ, उहाँ नयाँ शक्तिबाट अलग भए पनि अन्त कतै जानु भएको त छैन । उहाँ फेरि आउन पनि सक्नु हुन्छ । मुमाराम खनालले छाड्नु भयो ठीक गर्नुभयो । उहाँ नयाँ शक्तिमा बसिरहनु भएको भए शान्ति हुँदैन थियो ।

नयाँ शक्ति गठन गर्ने बेलामा ३५ जना थियौं । अहिले लाखौं छौं । आउने जाने भइरहन्छ । कुनै नौलो विषय होइन राजनीतिमा ।

बाबुराम भट्टराईले नयाँ शक्तिमा लगेर मान्छेहरुलाई फसाउनु हुन्छ भन्ने गरिन्छ । रवीन्द्र मिश्रले एउटा अन्तर्वार्तामा म पनि झन्डै फसेको भन्नु भएको छ नि ?

रवीन्द्र मिश्रलाई म राम्रोसँग चिन्छु । हुन त म यो देशको कस्लाई चिन्दिनँ होला र ? रवीन्द्र मिश्रले लेख्नु भएको किताबमा मेरो पनि कुरा छ । रवीन्द्र मिश्रले बाबुराम भट्टराईको विषयमा गर्नुभएको टिप्पणी अत्यन्त सतही, केटाकेटी पाराको र बाबुराम भट्टराईले यो देशलाई दिएको योगदानको अवमूल्यन गर्ने किशिमको छ । मेरो धारणामा त बाबुराम भनेको पृथ्वी हो । रवीन्द्र मिश्र मटेंग्रा मात्रै हो । उहाँले ल्याएको साझा पार्टीमा आउन भन्नु भयो । उहाँको मैले छ घण्टा कुरा सुनेको छु । मिश्र सभ्रान्त परिवारमा जन्मेका हुन् । नेपाल भनेको ७० प्रतिशत गाउँले बनेको छ । गरिब छन यहाँ धेरै । उहाँले यो देश दुनियाँ केही बुझ्नु नै भएको छैन ।

बाबुराम भट्टराई ३५–४० वर्षदेखि राजनीति गरिरहुन भएको छ । रवीन्द्र मिश्र त छ महिनाको हो । रवीन्द्र मिश्रले राम्रो गर्नुहोस त्यसमा मेरो केही भन्नु छैन । शुभकामना नै छ ।

नेपालमा तीन वटा लोकतान्त्रिक पार्टी चाहिन्छ । एउटा विवेकशील पनि हो । अर्को साझा हो । नयाँ शक्ति नभए पनि केही छैन । तर वैकल्पिक शक्तिका रुपमा आएका यी पार्टीहरु बालक जस्ता छन् । केही जान्दैनन् । नयाँ शक्ति त एक विचार हो । यसमा बाबुराम भट्टराई त केही दिनका नेता मात्रै हुन् । उनी त मरिहाल्छन अब । उनीभन्दा म पाँच वर्ष जेठो छु । म पनि मर्छु ।

मेरो चाहना के मात्रै हो भने नेपाल समृद्ध होस । नेपालीको शिर संसारमा ठाडो होस । यति चाहना हो । यस्तो सोचको सट्टा त्यो त फस्यो, डुब्यो भन्न जरुरी छैन ।

भनेपछि रवीन्द्र मिश्रले लगाएको आरोप हावादारी हो त ?

हावादारी होइन, यो त अपराध हो । हामीजस्तो मान्छे बसेको ठाउँमा फसे भन्नु त अपराध गर्नु हो । यसअर्थमा रवीन्द्र मिश्र अपराधी हुन् । म रवीन्द्र मिश्रलाई सोध्न चाहन्छु, भन्नुस हामी बाबुराम भट्टराईसँग कसरी फस्यौं ? के आधारमा भन्नु भयो कि हामी भट्टराईसँग फसेको भनेर ? मिश्रको पार्टीमा नजाने जति सबै फसेको हुन्छ ?

उहाँ त लामो समय पत्रकारिता गरेका मान्छे, समाजसेवा गरेको मान्छे............

अर्काको पैशाले समाजसेवा गरेँ भन्न सहरको मान्छेले मिल्छ ? लुगा कपडा दिएर समाज सेवा हुन्छ ? लुगा बुन्न सिकाउनु पर्छ, लुगा सिलाउन सिकाउनु पर्छ । त्यो हो समाजसेवा । चामल बाँडन होइन धान फलाउन सिकाउनु पर्छ । मूल कुरा एकातिर छ, चामल र कपडा बाँडेको कुरा किन गर्ने ? सुविधाभोगी जागिर, प्रचारमुखी जागिर खाएर दुनियाँलाई मुर्ख बनाइएको हो । नत्र त्यसको नतिजा हेर्नुस न के छ थाहा भइ हाल्छ नी ।

बाबुराम भट्टराईले हालै प्रचण्डले हतियार ‘र’लाई बेच्ने योजना बनाउनु भएको कुरा सार्वजनिक गर्नुभयो । पहिले चाहिँ किन यसो गर्नुभएन ?

अन्तर्वार्तामा प्रचण्डले हतियार बेच्ने कुरा गर्नुभएको बाबुरामले भन्नु भएको हो । ‘र’ लाई बेच्ने कुरा कतै छैन । ४ हजार हतियार बिक्री गरेको भए त्यसले कालन्तरमा आफैलाई सिध्याउने खतरा थियो । तर बाबुराम भट्टराईले ति हतियार व्यवस्थापन गरेर मुलुकलाई अर्को दीर्घकालीन सशस्त्र द्वन्द्वबाट जोगाउनु भएको छ ।

विवेकशील र साझा पार्टीको उदयलाई कसरी लिनु भएको छ ?

एकदम राम्रो । आउनु पर्ने थियो आए । अहिलेको अवस्थामा त मेरो सबैभन्दा ठूलो सहानुभूति विवेकशीललाई छ । रञ्जुले पनि राम्रो गरिन् । उनी मेरो नातिनी उमेरकी मान्छे हुन् । मेरो आशिर्वाद नै छ ।

साझामा रवीन्द्र मिश्रले बोलेको कुरामा त म सहमत छैन । मुमाराम खनाल पनि त्यहाँ हुनुहुन्छ । मेरै मान्छे हुनुहुन्छ त्यहाँ पनि । किशोर थापासँग चाहिँ मेरो त्यस्तो होइन । तर उहाँ काठमाडौंको मेयर हुन योग्य मान्छे हो । एसएलसीमा बोर्डफस्ट पनि हो । बाबुराम जस्तै हो तर बाबुराम जत्तिको त होइन । सहरको विकास गर्ने योजना भएको विज्ञ पनि हो । काठमाडौंको मेयर हुने मान्छे त उहाँ नै हुनुहुन्थ्यो । तर गर्ने के ?

जहाँसम्म रवीन्द्र मिश्रले फस्ने कुरा गर्नुभयो त्यो त केटाकेटीपन मात्रै होइन, अज्ञान मात्रै होइन, पागलमात्रै होइन, अपराधि पनि हो ।

एउटा आरोप लाग्ने गर्छ कि नयाँ शक्ति भारतले जन्माइदिएको हो । के भन्नु हुन्छ ?

एमाले पनि भारतले जन्माएको हो । माओवादीलाई भारतले जन्माएको हो । कांग्रेस त भारतमै जन्मेको हो । भनिआएको कुरा गर्नुलाई के अनौठो मान्ने ? भन्नलाई त जे पनि भने भइगयो नी ।

म, बाबुराम भट्टराई, रामेश्वर खनाल महिनौसम्म बसेर छलफल गरेर, गृहकार्य गरेर नयाँ शक्ति जन्माएको हो । भारतले नयाँ शक्ति जन्माएको हो भने भारतबाट बाबुरामले पैशा पनि ल्याउनु पर्ने । खै पैशा ल्याएको देख्दिनँ । म पनि उनीसँगै विदेश गएको छु , त्यहाँ पनि कसैले पैशा दिएको देखिनँ ।

बाबुरामलाई सामाजिक सञ्जालमा के के भनेर गाली वर्षन्छ नी ?

बाबुरामलाई त भारुराम नै भन्छन् नी । बाबुरामलाई क्षमता भएर नै भनेको हो । सामाजिक सञ्जालमा विरोध गर्नेहरु सबै गलत हुन् । हामीले विश्लेषण गरिसकेका छौं । कसैको आलोचना गर्न विषय चाहिन्छ । अरु केही आरोप छैन । भारत जोडेपछि भइहाल्यो । त्यही गरिएको हो । बाबुरामलाई सामाजिक सञ्जालमा जसले जसले गाली गर्छन् ति सबै लफंगा हुन् । असल राम्रो मान्छेलाई त गाली गर्ने फुर्सद नै हुँदैन । उ आफ्नो काममा व्यस्त हुन्छ । बेकामेहरुले गर्ने हो गाली । गरुन के फरक पर्छ ?