देश

समलिङ्गी बिवाह गर्ने जोडी भन्छन्– ‘प्रेममा फस्न एक सेकेण्ड पर्याप्त हुन्छ ’ (भिडियोसहित)

मङ्गलबार, २६ बैशाख २०७४ गते मा प्रकाशित

monika-shahi-third-gender-marriage-nepalaaja

सागर बुढाथोकी

वैशाख–२६ । ‘एभ्रिथिङं ईज फेयर ईन लभ एण्ड वार ।’ अर्थात ‘प्रेम र युद्धमा सबै जायज हुन्छ’ भन्ने भनाइ कतिपयको जीवनमा लागू हुने गर्छ । प्रेमकै सन्दर्भ जोड्दा आईतबार रिपोर्टर्स क्लवमा त्यस्तै देखियो । कार्यक्रम पछि धेरैले भने–‘बास्तवमा प्रेम अन्धो हुँदो रहेछ ।’ विवाहका लागि सामान्यत महिला र पुरुष चाहिन्छ । तर यो विवाहमा एक पुरुष थिए, अर्को तेस्रो लिंगी । यसरी विवाह गर्न पाउने नेपालको कानुनमा छैन । तर उनीहरुले विवाहलाई प्रेमसँग तुलना गर्दै प्रेमले कानुन जान्दैन भन्ने सन्देश दिए ।

विवाहका लागि बेहुला थिए रमेशनाथ योगी र बेहुलीकी रुपमा थिइन मोनिका शाही । विवाहमा एकले अर्कोलाई माला लगाइदिए । खादा लगाइदिए । उपस्थित उनीहरुका सहयोगीहरुले विवाहलाई स्वीकार गरिदिए । विवाह भनेको महिला र पुरुष संगै बस्न समाजले दिएको अनुमति हो । त्यस्तो अनुमति त्यहाँ दिइयो । विवाहमा त बेहुला बेहुली सजिएका थिए । न कोही जन्ति नै थिए । तैपनि, उनीहरुले पत्रकारहरुलाई साक्षी राखेर बिवाह गरे । केही क्षण अगांलोमा बेरिएर खुसीको आशु खसाले । त्यत्तिमै उनीहरुको बिवाह समाप्त भयो । हलभरि भरिएका पत्रकारहरुले ताली बजाएर नवबिवाहितहरुलाई शुभकामना दिए ।

त्यो क्षण मोनिकाको लागि मात्र हैन् त्यहाँ उपस्थित पत्रकारहरुको लागि पनि अनौठौ थियो । किनकि, आम विवाह जस्तो थिएन । धेरैले लाग्न सक्छ, ‘रमेश जस्तो परिपक्व पुरुषले तेस्रो लिङ्गीलाई किन बिवाह गरे ? एउटा पुरुषको तेस्रो लिङ्गीसंग कसरी प्रेम हुन सक्छ ? कानुनले नदिएको अवस्थामा उनीहरु समाजसंग कसरी जुध्छन् ?’ तर, रमेश यो सबै प्रेमले सम्भव भएको तर्क गर्छन् । ‘मोनिकाजस्ता तेस्रो लिङ्गीहरुलाई प्रेमको खाँचो छ । उनीहरु पनि बिवाह गरेर परिवारसंग जीवन बिताउन चाहन्छन् ।’ उनी भन्छन्–‘त्यसैले म जस्तो पुरुष अरु पनि जन्मिनु पर्छ । मेरो यही फराकिलो सोचको कारण हाम्रो बिवाह भएको हो ।’

रमेशको घर सुदुर पश्चिमको धनगढीमा पर्छ । उनी धनगढीबाट बिवाहको लागि नै काठमाडौं आएका हुन् । उनले परिवारलाई बिवाहको बारेमा सबै कुरा बताइसकेका छन् । परिवारबाट कुनै रोकावट छैन् । समाजसँग कुनै डर छैन् । समाजको हरेक वचन सामना गर्न आफू तयार भइसकेको बताउछन् । उनी भन्छन्–‘ प्रेम र मोनिकाको लागि यो सबै गरेको हो । यो निर्णयले म अत्यन्त खुसी छु ।’

कैलालीको लम्कीदेखि मोनिका बिवाह गर्नकै लागि काठमाडौं आएकी हुन् । धेरैलाई लाग्न सक्छ, ‘किन तेस्रो लिङ्गी भएर पुरुषसंग बिवाह गर्न लागिरहेकी छिन् । के चाहन्छिन् उनी ? आखिर को हुन् मोनिका ? ’

मोनिकाको धेरै परिचय छन् । जसको बारेमा कमैलाई मात्र थाहा छ ।

जनयुद्धको बेला माओवादी पीडित बनेकी उनी नेपालमा नागरिकता र राहदानी लिने पहिलो तेस्रो लिङगी हुन् । करातेमा स्वर्णपदक जितेर आफूलाई खेलाडीको रुपमा समेत चिनाएकी छिन् । राजनीतिमा समेत सक्रिय शाही नेपालको पहिलो तेस्रो लिङ्गी प्रधानमन्त्री बन्छु भनेर केही समय अगाडि चर्चित थिइन् ।

अहिले उनको अर्को परिचय थपिएको छ । उनीभन्दा अगाडी सार्वजानिक रुपमै कोही तेस्रो लिङ्गीले विवाह गरेका थिएनन् । त्यसैले उनी आधिकारिक रुपमा विवाह गर्ने पहिलो तेस्रो लिंगी हुन् ।

यसरी भयो, प्रेम र बिवाह

रमेश ६ महिनाअघि मलेसियाबाट फर्कदा मोनिकालाई एयपोर्टमा भेटेका थिए । एयरपोर्टबाट एउटै ट्याक्सीमा बसपार्कसम्म आए । त्यो यात्रामा उनीहरुबीच धेरै कुरा भइसकेको थियो । त्यहाँबाट एउटै बसमा घर गए । घर गएपछि उनीहरुको फोनमा नियमित सम्र्पक हुन थाल्यो ।

फोनबाट नै भावना साटासाट भयो । योजना साटासाट भयो । संगै मर्नेसंगै बाच्ने कसम साटासाट भयो । ३ महिना मै उनीहरुलाई लाग्न थाल्यो एकअर्काबिना बाच्न सक्दैनौ । त्यसैले रमेशले मोनिकालाई भने,–‘मोनिका ,अब बिहे गरौँ ।’

समलिङ्गी बिवाह गर्न पाउनुपर्छ भन्ने मोनिकाको सरकारसंग माग थियो । तर, आफ्नै बिहे गर्ने दिन आउछ भन्ने सोचेकी थिईनन् । रमेशको प्रस्तावले भावुक हुदैँ उनले आशु झारिन् । प्रस्ताव ठीक लागेपनि बिहे गर्न मनले डर मानिरहेको थियो । किनकि, रमेशनाथ पुरुष थिए, मोनिका तेस्रो लिङ्गी । उनीहरुको बीचको बिवाहले नत कानुनले स्विकार गथ्र्यो । न परिवार र समाजले नै । शारिरक सम्बन्धले सन्तान जन्मिन पनि सम्भव थिएन् ।

मोनिकाले यो सबै यथार्थ रमेशलाई बताउदै प्रश्न गरिन्,–‘यस्तो अवस्थामा किन गर्नु बिहे ?’ रमेश उनको कुराले पछि हटेनन् । ‘अब हामी दुई एक अर्काबीना बाच्न सक्दैनौ, भने हाम्रो प्रेम किन असफल गर्ने ।’ रमेशले भने–‘ चिन्ता नगर म तिम्रो हरेक सुख दुखमा साथ दिन तयार छु ।’ यति भनेपछि मोनिका पनि बिहे गर्न तयार भईन् ।

रमेशनाथ जस्तो श्रीमान पाउदा मोनिका खुसी छिन् । भन्छिन्–‘ रमेशनाथ मेरो श्रीमान मात्र हैनन् भगवान् हुन् । उहाँजस्तो अन्य पुरुषहरु नेपालमा जन्मिनुपर्छ ।’

प्रेम हुन एक सेकेन्ड पर्याप्त हुन्छ

बिवाह त भयो, अब के हुन्छ ? उनले अनुमान गरिसकेकी छिन् । तर, कसैको तिखो बचनले विचलित नहुने वाचा गरिसकेका छन् । भन्छन्–‘अरुले के गर्छ, के भन्छ, र, के सोच्छ ? हामीले सोचेनौँ ।’ हाम्रो एउटै सोच छ । हाम्रो सम्बन्धलाई कसरी मजबुत बनाउने । हामीले सँंगै मर्ने, सँंगै बाच्ने कसम खाइसकेका छौं ।’ यसो भन्दा उनीहरुको अनुहारमा मुस्कान प्रष्टै छल्किरहेको थियो ।

रमेशनाथले मोनिकासँंगको ६ महिनाकै संगतमा बिवाह गरेक हुन् । उनले मोनिकासंँगको संगतले धेरै परिवर्तन आएको महशुस गरे । त्यति समय नै उनलाई पर्याप्त भयो, र मोनिकासँंग वाचा गरे । र ,त्यो वाचालाई उनले पुरा पनि गरे ।

तर, ६ महिनामै यत्रो ठूलो निर्णय कसरी ? ६ महिनामै परिवार, समाज र कानुनसंँगै लड्ने साहस कसरी ? ६ महिनामै यत्रो ठूलो विश्वास कसरी ? ‘कसैसंग प्रेममा फस्न एक सेकन्ड पर्याप्त हुन्छ । ६ महिना त धेरै हो । सबैभन्दा ठुलो कुरा आत्मा हो, त्यसपछि शरीर ।’ मोनिका भन्छिन्–‘ हामीले प्रेमको र खुसीको लागि बिहे गरेका हौँ । सन्तान जन्माउन नसके पनि हामी अनाथ बालबालिकाहरु पाल्न सक्छौ । ’

मोनिका बोल्दै गईन्,‘मलाइ समाजको डर नभएको होईन् । ठूलै डर छ । मेरो बारेमा उहाँलाई समाजमा नानाथरी भन्छन् । पुरुष भएर तेस्रो लिङ्गीसंग बिहे गर्ने भनेर घृणा गर्छन् । मायाको बिश्वास भएपनि समाजको बिस्वास छैन् । समाजकै कारणले बिछोड हुने हो कि चिन्ता लाग्छ ।’ बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । आखाबाट आशु झ¥यो । त्यत्ति नै बेला मोनिकालाई सम्झाउदै रमेशनाथ बोले–‘ चिन्ता नगर । हाम्रो प्रेममा समाज बाधा भएर आउने छैन । तिम्रो हरेक सुखदुखमा म जीवनभर साथ दिन्छु ।’

समलिङ्गी बिवाह नेपालको कानुनले मान्यता दिएको छैन् । कानुन विपरित बिवाह किन त ? ‘नागरिकता, पासपोर्ट पाइसकेको छु । त्यो धेरै संर्घषले गर्दा पाएको हो । अब कानुन बन्ला र बिवाह गरांैला भन्दा कहिल्लै कानुन बन्दैन ।’ मोनिका भन्छिन्–‘ मैलै यो सुरुवात गरे अब म पछि अरु धेरैले गर्छन् । कानुन पनि बन्छ । किनकी, हामी देशको नागरिक हौँ । हाम्रो पनि मानवअधिकार छ । त्यसैले हामीले अरुले जस्तै बिवाह गर्न पाउनुपर्छ ।’

‘बिवाह सफल हुन,पारिवारिक, सामाजिक र शारिरिक सम्बन्ध महत्वपुर्ण हुन्छ । तर, तेस्रो लिङगी र पुरुषको शारिरिक सम्बन्ध कस्तो होला ?’ धेरैले उनीहरुलाई यस्तै प्रश्न गरिसकेका छन् । शारिरीक सम्बन्धले भविष्यमा गाह्रो त पदैन् ? उनीहरुलाई देख्नेहरु आशंका गर्छन् । ‘मेरो शरीर पुरुषको हो । आत्मा महिला हो । मेरो भावना महिला को छ । त्यसैले मैलै थाईल्याण्ड गएर शारिरिक संरचना महिलाको बनाएर आएको छु । त्यसैले अब म महिला नै हुँ । उहाँ पुरुष हो । यौनजीवनमा त्यस्तो असर आउदैन् ।’

उनी यतिबेला आफ्नो विगत झल्झली आखाँमा नाचिरहेको बताउछिन् । तेस्रो लिङ्गी भएर समाजमा पाएको दुख सम्झदै भावुक हुन्छिन् । जीवनको हरेक पल स्मरणयोग्य रहेको सुनाउछिन् । मोनिका जस्तै रमेशनाथ पनि खुसी छन् । उनले बाँकी जीवन मोनिकासंगै बिताउने संकल्प गरिसकेका छन् ।

मोनिकाले पहिलो तेस्रो लिङ्गीको रुपमा नागरिकता र पासर्पोट पाईन् । कानुनले मान्यता नदिएपनि बिवाह गरिन् । अब सगरमाथा चढ्ने पहिलो तेस्रो लिङगी बन्ने किर्तीमानी बनाउने तयारी गरेकी छिन् । त्यसको लागि सरकारसंँग सहयोग मागेकी छिन् । लामो समयदेखि सगरमाथा चढ्ने तयारी गरेपनि सरकारले सहयोग नगरेको उनको गुनासो छ ।

मोनिकाको गुनासो

मोनिका २ हप्ताअधि नै काठमाडौं आएकी थिईन् । तेस्रो लिङ्गीहरुको हकहितको लागि काम गर्ने सस्था ब्लु डायमण्ड सोसाइटीमा गएर बिवाह गर्न पहल गरिन् । तर, त्यो सस्थाले २ हप्तासम्म झुलायो, बिहे गरिदिएन् । त्यसैले उनी ब्लु डाईमण्ड सोसाईटीसंँग रिसाएकी छिन् । भन्छिन्–‘म ब्लु डायमण्डकै सदस्य हुँ । मेरो विषय पनि ब्लु डायमण्ड अन्र्तगत नै पर्छ । तर त्यो सस्थाले हाम्रो कुराले सुनुवाई गरेन् । त्यसैले धेरै रोए ।’

यस्तो थियो मोनिकाको विगत, यसरी गरेकी थिइन् संर्घष

जब उमेर बढ्दै गयो, उनको व्यवहार रुपमा तालमेल मिलेन् । केटीको लुगा लगाउन मन लाग्थ्यो । तर, उनी केटा थिए । मनोज भनेर सबैले बोलाउँथे । अरुले मनोज नै भने पनि उनी जवान केटा देख्दा केटासँगै आकर्षित हुन्थिन् । समाजलाई छलेर केटासँग प्रेम भएको ब्यक्त गर्न सक्दिनन् थिइन् ।

साथीभाइ उनलाई हेप्थे । बचन लाउंथे । उनी बाध्य भएर सहन्थिन् । साथीहरुले जिस्काउँदा–जिस्काउँदै उनलाई आफ्नै परिवारकोले पनि जिस्काउन थाले । सबैले हिजडा भनेर जिस्काउँदा उनलाई आत्महत्या गरुझै हुन्थ्यो । उनकै कारणले उनको परिवारले पनि समाजबाट अपहेलित हुनुपरेको थियो ।

शुरुमा त उनलाई ‘म मात्रै किन यस्तो ?’ भन्ने लाग्थ्यो । मनमा कुरा खेलिरहन्थ्यो । कसैलाई भन्यो भने अपमानित भइएला भन्ने डर हुन्थ्यो । उनी घरपरिवार र समाजबाट नितान्त एक्लीजस्तै भइसकेकी थिइन् ।

पछि उनले आफूजस्ता अरु हजारौंको संख्यामा हुन्छन भन्ने थाहा पाइन् । त्यो थाहापाएपछि उनलाई आफू तेस्रो लिङ्गी भएकोमा पीर लागेन् ।  उनी पिंजडाबाट मुक्त भएको चरी जस्तै भइन् । अब त उड्न सक्छु भन्ने आत्मविश्वास पैदा भयो ।

तेस्रो लिङ्गी भएकै कारण उनलाई विद्यालयमा पढ्नसमेत अफ्ठयारो भयो । केटा नाम भएपनि उनी केटी थिइन् । केटीसँगै बस्न चाहन्थिन् । तर, विद्यालय प्रशासनले केटासँग बसाउँथ्यो । त्यही कारणले उनी साथीभाइको बीचमा मजाकको पात्र बनिरहिन् ।

तेस्रो लिङ्गीहरुको पक्षमा काम गर्ने सस्था ब्लु डाइमण्ड सोसाइटी बारेमा उनले सुनेकी थिइन् । उनी त्यही सस्थाको सम्पर्कमा आइन् । त्यहाँ उनले आफूजस्तै धेरैलाई भेटिन् । पहिचान लुकाएर लुक्दैन भन्ने साहास बटुलिन् । तेस्रो लिङ्गी हुनु कुनै रोग होइन, प्राकृतिक कुरा हो भन्ने वैज्ञानिक आधार बुझन पाइन् । आफ्नै पहिचानका आधारमा नागरिकता लिन पाइने जानकारीसमेत पाइन् ।

उमेर पुगेपछि नागरिता लिन जिल्ला प्रशाशन कार्यलय पुगिन् । नागरिकताको फारममा तेस्रो लिङगी भनेर लेखिदिइन् । उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो । कुरा प्रमुख जिल्ला अधिकारीकोसम्म पुग्यो । प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने ।

उनकै सामु प्रजिअले कतिको नागरिकता प्रमाणित गरे । तर, कसैलाई लिङ्गको प्रमाण देखाउन भनेनन् । उनले राज्यबाटै विभेदको महशुस गरिन् । तर, हरेश खाइनन् । उनले ‘मेरो लिङ्गको बारेमा मभन्दा ठूलो प्रमाण के हुन्छ ?’ भन्ने प्रश्न प्रशासन समक्ष तेस्र्याइन् । उनको कारणले कार्यालयमा बहश नै चल्यो । अन्ततः उनले तेस्रो लिङ्गीका रुपमा नागरिकता पाइन् ।

झमेला गरेर भएपनि उनको नागरिकता बन्यो । अब राहदानी बनाउनुपर्ने भयो । राहदानी बनाउँदा उस्तै झण्झट । हरेक ठाउँमा स्पष्टिकरण दिनुपर्ने । प्रशासनले नागरिकता दिएपनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो । कर्मचारीहरुको आँखा ‘तेस्रो लिङ्गी’ लेखेको ठाउँमा पुग्दा बित्तिकै अर्कै भावमा प्रस्तुत हुन्थे ।

धेरै प्रयासपछि उनले राहदानी पाउने भइन् । जेण्डरमा लेखियोः ओ । अर्थात अदर । महिला पनि होइन, पुरुषपनि होइन । अन्य हो । अन्य हुनुपनि पहिचान हो । ‘ओ’ को राहदानी पाउँने उनी पहिलो नेपाली हुन् । पहिलो हुँदाको खुशी जति छ त्यसका लागि संर्घष गर्दाको पीडा उति नै ।  उनीपछि ‘ओ ’ राहधानी पाउने धेरै भइसके । उनले बाटो खोलिदिएपछि अरुका लागि हिड्न सजिलो भएको छ ।

अहिले तेस्रो लिङ्गीको कानुन बनेको छ । आफूहरुको संर्घषका कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानुन बनेकोमा मोनिकालाई गर्व लाग्छ । अधिकार पाउन संर्घष गर्नुपर्दोरहेछ । उनको अनुभव यसै भन्छ । ‘धेरैका लागि प्रेरणाको स्रोत बन्न सफल भएकोमा गर्व लाग्छ ।’ उनले सुनाइन् ।

मोनिकाको बुवाआमा छैनन् । २० वर्षअधि बुवा र १० वर्षअघि उनको बुवाआमा बिते । बुबाआमा जीवनको उत्तराद्र्धमा रहँदा मोनिका पहिचानका लागि संर्घष गर्दै थिइन् । ४० वर्ष पुगेकी उनी अहिलेपनि संर्घषको मैदानमा छिन् । भन्छिन्– ‘सगरमाथा चढेरै छाड्छु । किनकि मसंँग आत्मविस्वास छ, धेरै कुरा प्रमाणित गरेर देखाइसकेको छु ।